चीन किन क्रोधित हुन्छ ?
कतैको आक्रोश कतै पोखेर काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्नो सरकारको सन्देश त्यस्तो भाषामा प्रवाहित गर्नु पर्दैनथ्यो
कुनै पनि व्यक्ति वा संस्थाले अमूक आमसञ्चार माध्यमको प्रस्तुतिका कारण आफ्नो चित्त दुखेको कुरा अभिव्यक्त गर्न पाउनैपर्छ । बहुलवादी आमसञ्चारले जसरी विविध दृष्टिकोण वा धारणालाई समेट्छ, त्यसैगरी उपभोक्ताको अभिव्यक्ति स्वतन्त्रताको पनि कदर गर्छ । तर गुनासो वा प्रतिक्रिया प्रस्तुत गर्दा जोकसैले पनि संवादका मूल ढोका नै बन्द गर्न खोज्नु हुँदैन । त्यसैले काठमाडांैस्थित चिनियाँ दूतावासले नेपालको एक प्रतिष्ठित दैनिकका सम्पादकलाई नामै किटेर सार्वजनिक रूपमा चीनविरोधी शक्तिको सुगाको संज्ञा दिनु उचित थिएन । दूतावासले ती सम्पादककोे अनुचित उद्देश्य असफल हुनेछ भन्दै आक्रोश व्यक्त गर्नु पनि उपयुक्त थिएन । अखबार र सम्पादकका व्यवहारलाई गम्भीर रूपमा अवलोकन गरेको र भविष्यमा आफ्नो तर्फबाट यथोचित प्रतिकार गर्ने अधिकार कायम राखेको आशयसमेत उल्लेख गरेर वक्तव्यले नेपाली पत्रकारमाझ सहानुभूति होइन आशंका नै उत्पन्न गरायो । केही लोकप्रिय ठूला मिडियाका सम्पादकहरूले एकै मुखले चिनियाँ दूतावासको अति वजनदार प्रतिक्रियाको विरोध गर्नु अस्वाभाविक थिएन ।
चीनको जस्तो सबै आम सञ्चारमाध्यमले हरेक मामलामा सरकारकै विश्व दृष्टिकोण प्रतिनिधित्व गर्नैपर्ने घोषित नीति नेपालमा छैन । त्यसैले चिनियाँ दूतावासको प्रतिक्रिया त्यति तीखो हुनै पर्दैनथ्यो । हाम्रो देशको सन्दर्भमा राणाकालमा जस्तो आम सञ्चारमाध्यम वा त्यसबेलाका अखबार निजी स्वामित्वमा सञ्चालन नहुने प्रावधान आजको चीनमा विद्यमान छ । त्यसैले चिनियाँ दूतावासले शालीन ढंगमा आफ्नो अवलोकनअनुसारको तथ्य र भावना अभिव्यक्त गर्न सक्थ्यो । उसले त्यसो गरेको भए उसका आँखाले देखेको पश्चिमको सुगा अरूले पनि देख्ने मौका पाउने थिए । तर उसको लम्बेतान वक्तव्यले नेपाली पत्रकारमाझ बाह्य हस्तक्षेपको त्रास बढायोे र उसले इंगित गर्न खोजेका अरू कुरा ओझेलमा परे ।
ठीक सय वर्षअघि संयुक्त राज्य अमेरिकाका प्रसिद्ध राजनीतिक विश्लेषक तथा पत्रकार वाल्टर लिपम्यानले ‘स्टेरियोटाइप’ का कारण पत्रकारिता पूर्वाग्रही बन्न पुग्छ भन्ने चेतावनी दिएका थिए । उनले त्यही बेला आम सञ्चारमाध्यमलाई आफ्नो देशको उदार लोकतन्त्रको एक महर्वपूर्ण स्तम्भ मान्दामान्दै पनि केही गम्भीर प्रश्न उठाएका थिए । नाराजस्तो गरी कुनै पनि विषयलाई अति सामान्यीकरण गर्ने क्रममा संक्षिप्त रूपमा एकोहोरो दृष्टिकोण पस्किने मिडियाको प्रवृत्तिप्रति उनी चिन्तित थिए । त्यही क्रममा उनले पहिलोपटक आम सञ्चारमाध्यममा ‘स्टेरियोटाइप’ को मानसिकतालाई चिह्नित गरे । आफ्नो सोचलाई एकोहोरो थोपरिरहने स्वभावको मिडियाले वास्तविक अर्थमा आम मानिसलाई यथार्थ बताइरहेको हुँदैन भन्ने उनको ठहर थियो ।
केही वर्षअघि दिवंगत आम सञ्चार सिद्धान्तका अर्का पश्चिमा विद्वान् मक्वाइलले लिपम्यानलाई डिन अफ अमेरिकन जर्नालिज्मको सम्मान यसै दिएका थिएनन् । लिपम्यानले उहिल्यै चिह्नित गरेको अमेरिकाका आम सञ्चारमाध्यमको ‘स्टेरियोटाइप’ प्रवृत्तिका कारण यथार्थको तोडमोड भइरहेको छ । आजको सन्दर्भमा ‘स्टेरियोटाइप’ भनेको निरन्तर कुनै खास समुदाय, राष्ट्रियताका मानिस वा देशलाई सधैं एउटै ढाँचामा ढालेर चित्रण गर्ने प्रवृत्ति हो । लिपम्यान मिडिया अन्तर्वस्तुको समीक्षा गर्दै चिन्ता व्यक्त गर्दथे, हाम्रो मस्तिष्कमा बाहिरी संसारको यथार्थ चित्र निर्माण नगरी ‘स्टेरियोटाइप’ कै कारण मिडियाले बनावटी सत्य प्रस्तुत गर्छन् । त्यसैले उनी सोध्थे– मिडिया लोकतन्त्रको स्तम्भ हुन्, तर यथार्थको साक्षात् तस्बिर प्रस्तुत गर्न नसक्ने मिडियाले कसरी लोकतन्त्रलाई मजबुत बनाउन सक्छन् ?
आज कोभिड– १९ सम्बन्धी पश्चिमी मिडियाका फ्रेम वा चस्माले मानिसका मस्तिष्कमा निर्माण गर्ने तस्बिरप्रति चीनको प्रतिक्रियाका कारण यही हो, द्वन्द्वको विषय यही हो । यसले शीतयुद्धकालीन तनावको झझल्को दिएको छ
देशभित्रका सन्र्दभमा यसरी आलोचित पश्चिमा मिडिया नै मूलतः आज ग्लोबल मिडियाका रूपमा स्थापित छन् । तर उही ‘स्टेरियोटाइप’ प्रवृत्तिका कारण अन्तर्राष्ट्रिय सञ्चारका क्षेत्रमा ‘फ्रेमिङ’ भन्ने शब्दावली प्रचलित छ । ती मिडिया खास–खास देश, समुदाय वा क्षेत्रका आफ्नो राजनीतिक वा आर्थिक स्वार्थ जोडिएका सामग्रीलाई आफूअनुकूलका खास–खास ‘फ्रेम’ मा ढालेर आफ्नै पूर्वाग्रहका साथ प्रस्तुत गर्छन् । फलतः आम मानिसको मस्तिष्कमा ती माध्यमले निर्माण गरेका तस्बिर र वास्तविक संसारको तस्बिरबीच ठूलो खाडल देखा पर्छ ।
केही दिनअघि हाम्रो उत्तरी छिमेकीले नोभल कोरोना भाइरसको महामारीविरुद्ध जनयुद्धको घोषणा गर्यो । चिनियाँ सरकारको प्रयासप्रति नेपालले आधिकारिक रूपमा ऐक्यबद्धता पनि जनायो । तर यस संवेदनशील क्षणमा पनि पश्चिमा आम सञ्चारमाध्यम महामारीको नियन्त्रण र उन्मूलनको विषयभन्दा बढी सम्बन्धित अन्तर्वस्तुलाई उही आफूअनुकूलको फ्रेममा छिराएर प्रस्तुत गरिरहेका छन् । आज कोभिड– १९ को महामारीका विषयमा बताउँदा टाइम, न्युजविक, इकोनोमिस्टलगायत कैयन् पत्रिका र अन्य माध्यम चेर्नोविल भन्ने उपमाको प्रयोग किन गर्दैछन् ? प्रस्टै छ । उनीहरूलाई पैंतीस वर्षअघिको चेर्नोविलको ‘फ्रेम’ मा जबर्जस्ती आजको कोरोना भाइरसको महामारीलाई कोच्नुपरेको छ । अझ सन् १९५८ देखि ६१ सम्मको चीनको भयानक अनिकालको प्रसंगलाई सांकेतिक रूपमा जोड्नुपरेको छ । कम्युनिज्ममा यस्तै हुन्छ भन्ने आशय फैलाउनुपरेको छ । स्टेरियोटाइप भनेको यही हो ।
सन् १९८६ अप्रिलको एक बिहानै तत्कालीन सोभियत साम्यवादी गणतन्त्र संघको चेर्नोविलमा भयानक आणविक दुर्घटना भयो । आन्तरिक असन्तुष्टि बढिरहेको त्यहाँको परिवेशमा त्यो दुर्घटना आगोमा घिउ थपेजस्तो हुन गयो, आन्दोलन अघि बढ्दै गयो । अन्ततः सन् १९९१ अन्त्यतिर दुई महादेशमा फैलिएको संसारको सबैभन्दा ठूलो देशले कम्युनिज्मलाई बिदा गर्यो, विग्रहलाई अँगाल्यो । यतिखेर कोभिड– १९ को समाचार वा त्यसको जोखिमसम्बन्धी विश्लेषण प्रस्तुत गर्दा पश्चिमा आम सञ्चारमाध्यम भन्दैछन्– यो चीनका लागि चेर्नोविल सावित हुँदै छ । अर्थात् हिजो चेर्नोविलका कारण लेनिनले स्थापना गरेको व्यवस्था ७० वर्षपछि ढलेको थियो, अब कोरोनाकै कारण माओले स्थापना गरेको चीनको राजनीतिक प्रणाली ढल्दै छ ।
आज कोरोनाको सामना गर्ने चीनको शैली र क्षमता ५० वर्ष पहिलेको भयानक अनिकालको समयमा जस्तो थियो, त्यस्तै छ ? संसारलाई चकित तुल्याउने गरी नियन्त्रणका कोसिस भइरहेको तथ्य सूचना–सञ्चार प्रविधिले चारैतिर पुर्याइरहेको छ । तर पश्चिमी देशका आम सञ्चारमाध्यम पुरानै ‘फ्रेम’ मा राखेर आजको चीनको चित्रण गर्दैछन् । वासिङ्टन पोस्ट्लगायतका अमेरिकी सञ्चारमाध्यम वुहानको भाइरस संकट चीनका लागि चेर्नोविल सावित हुने शीर्षक बेचिरहेकै छन् । अन्तर्राष्ट्रिय सूचना प्रवाहको नक्सामा स्टेरियोटाइपको नवीनतम उदाहरण यही हो ।
पाँच दशकअघि फ्रान्सिसी दार्शनिक गाय डिवोर्डले पनि समाजमा आम सञ्चारमाध्यमको पूर्वाग्रहका कारण उत्पन्न हुन सक्ने समस्यालाई इंगित गरेका थिए । उनका विचारमा पूर्वाग्रहलाई पन्छाउन नसकेको खण्डमा ‘सोसाइटी अफ स्पेक्टाकल’ अस्तित्वमा आउने छ । अर्थात् मानिसमा आफ्ना नांगा आँखाले होइन, मिडियाको रंगिन चस्माले हेरेका आधारमा अर्थ ग्रहण गर्ने खतरा बढ्न सक्छ । आज कोभिड– १९ सम्बन्धी पश्चिमी मिडियाका फ्रेम वा चस्माले मानिसका मस्तिष्कमा निर्माण गर्ने तस्बिरप्रति चीनको प्रतिक्रियाका कारण यही हो, द्वन्द्वको विषय यही हो । यसले शीतयुद्धकालीन तनावको झझल्को दिएको छ । यही मेसोमा चिनियाँ दूतावासको अधिक वजनको प्रतिक्रियाको अन्तर्य बुझ्न सकिन्छ ।
लिपम्यानले जुराएको शब्दावली ‘मेनुफेक्चरिङ कन्सेन्ट’ लाई टपक्क टिपेर झन्डै ७० वर्षपछि अमेरिकाकै दुई विद्वान् एडवार्ड एस हर्मन र नोम चोम्स्कीले त्यहाँको आम सञ्चारमाध्यमको स्टेरियोटाइप प्रवृत्तिलाई उदांगो पारे । उनीहरूको बृहत् अनुसन्धानको निचोड थियो, अमेरिकी मिडिया अन्तर्राष्ट्रिय मामिलामा त्यहाँको सत्ताधारी वर्गलाई अनुकूल हुने मतको उत्पादन गर्छन् । विद्वान्द्वयले बताए– हाम्रो देशका मिडिया बडो मिहीन र व्यवस्थित ढंगले एउटै फ्रेममा सामग्री पस्किन्छन् । उनीहरू छाप्न मिल्नेजति सबै हामी छाप्छौं भन्छन् । तर उनीहरूका लागि कुनै पनि सामग्री पाँचवटा फिल्टरबाट छानिएपछि मात्र ‘फिट टु प्रिन्ट’ अर्थात् छाप्न योग्य हुन्छ ।
तीमध्ये एउटा हो, ‘एन्टी कम्युनिज्म याज ए न्यासनल रिलिजन एन्ड कन्ट्रोल मेकानिज्म ।’ परिणामस्वरूप उत्पन्न हुने अवस्थालाई ‘साइलेन्ट प्रोपोगान्डा’ को संज्ञा दिँदै दुई विज्ञले पश्चिमको धरातलमा उभिएका ‘ग्लोबल मिडिया’ कसरी अन्तर्राष्ट्रिय मामिलालाई समेट्छन् भन्ने उजागर गरेका छन् । त्यो अध्ययनले प्रस्ट पारेको छ– अन्तर्राष्ट्रिय सूचना प्रवाह राजनीतिक आइडियोलोजीबाट कसरी प्रभावित हुने गर्छ । कम्युनिस्ट सत्तामा रहेका देशमा उनीहरू प्रतिपक्षलाई साथ दिन्छन्, कम्युनिस्ट प्रतिपक्षमा छन् भने सरकारलाई अनुकूल हुने सामग्री प्रवाहित गर्छन् ।
जसरी चीनका सारा मिडिया कुनै पनि मामिलामा सरकार, अझ भनौं कम्युनिस्ट पार्टीको विश्व दृष्टिकोणभन्दा पृथक् धारणा मुखरित गर्न पाउँदैनन्, त्यसैगरी अमेरिकी आम सञ्चार प्रणालीको संरचना नै यस्तो छ, प्रभावशाली मिडिया, अझै भनौं त्यहाँबाट सञ्चालन हुने ‘ग्लोबल मिडिया’ सत्ताको विश्व दृष्टिकोणलाई नै प्रतिनिधित्व गर्न बाध्य छन् । २० वर्षअघि अमेरिकाकै एक विश्वविद्यालयमा विद्यावारिधि गर्दै सोलस्थित कोरिया विश्वविद्यालयका एकजना प्राध्यापकले एकै समयका हाराहारीमा भएका दुई देशका विद्यार्थी आन्दोलनसम्बन्धी अन्तर्वस्तुको उदाहरणका साथ यसको पुनर्पुष्टि गरेका छन् ।
सन् १९८७ मा दक्षिण कोरियाको ग्वाङ्जु विश्वविद्यालयवरपर लोकतन्त्र बहालीका लागि भएको विशाल विद्यार्थी आन्दोलनले पश्चिमा आम सञ्चारमाध्यममा नगण्य स्थान पायो । जबकि त्यहीताका सन् १९८९ मा बेइजिङको तिआनमेन चोकमा भएको उस्तै प्रकृतिको आन्दोलनको सीएनएनलगायतका मिडियाले बहुप्रचार गरे । तर अमेरिकी जर्नेलको नियन्त्रण र आदेशमा चल्ने दक्षिण कोरियाली सेनाले मच्याएको ग्वाङ्जु–नरसंहारले अमेरिकी मिडियामा कसरी ठाउँ पायो होला सहजै अनुमान गर्न सकिन्छ । दक्षिण कोरियाली प्राध्यापकले न्युयोर्क टाइम्स र वासिङ्टन पोस्ट्का समाचार, अमेरिकी सरकारको धारणा र विदेश मामिलासम्बन्धी निर्णयहरूका आधारमा ती दुई विद्यार्थी आन्दोलनसम्बन्धी ‘मिडिया कभरेज’ का बारेमा उही निष्कर्ष निकालेका थिए, आफूअनुकूल मतको उत्पादन गर्न ‘स्टेरियोटाइप’ लाई अँगालिएको थियो । पूर्वीएसियाका ती दुई देशका उस्तै प्रकृतिका उस्तै मागका साथ भएका दुई आन्दोलनका विषयमा अमेरिकी सम्भ्रान्त अखबारहरूले ताज्जुब लाग्ने गरी विपरीत ध्रुवमा बसेर अन्तर्वस्तु तयार गरेका थिए । सबै सामग्री अमेरिकी सरकारका ती देशका राजनीतिक प्रणालीसम्बन्धी परिभाषामुताविक नै थिए ।
यसरी हेर्दा चीनलाई पश्चिमा खासगरी अमेरिकी सत्ताधारी वर्गको वर्चश्वमा सञ्चालित मिडियासँग किन रिस उठ्छ भन्ने प्रश्नको उत्तर फेला पर्छ । तर कतैको आक्रोश कतै पोखेर काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्नो सरकारको सन्देश त्यस्तो भाषामा प्रवाहित गर्नु पर्दैनथ्यो, अन्डा फुटाउन हथौडा चाहिँदैनथ्यो ।