‘म आएपछि नेपाली फिल्ममा क्रान्ति भयो’
अभिनेता राजेश हमालले फिल्म ‘युगदेखि युगसम्म’बाट अभिनय यात्रा सुरु गरेका हुन्। उनको अभिनय यात्राले ३३ वर्षको नेटो काटिसकेको छ। तर, उनको यात्रालाई छोटोमा टिप्पणी गर्दा भनिन्छ– ‘हमालले नेपाली फिल्मबाट जति पाए, फिल्मलाई त्यति दिएनन्।’ जब कुनै कलाकार ज्यादा फिल्म खेल्छ र एउटै ‘स्ट्रेट लाइन’मा बस्छ, भनिन्छ– ‘यो राजेश हमाल भयो।’ तर, हमाल आफैँ भने आफ्नो उपस्थितिले नेपाली फिल्म क्षेत्रमा ‘क्रान्ति’ भएको जिकिर गर्छन्। सोमबार काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको एक सेसनमा उपस्थित उनले राष्ट्रिय सभागृहको हलमा ताली, हुटिङ र उनको ट्रेडमार्क संवाद ‘हे...’ बीच आफ्नो फिल्म यात्राबारे यसरी सुनाएका थिए।
तर, दुई वर्षपछि जसले फिल्मबाट ‘तपाईं कलाकार बन्न सक्नुहुन्न’ भनेर निकालेको थियो, त्यही टिम मलाई नयाँ फिल्मको अफर लिएर आयो। मलाई के लाग्छ भने उहाँले जति सुटिङ गर्नुभएको थियो, त्यो कतै हेर्नुभयो होला। हेरेपछि कहीँ न कहीँ दमखम देख्नुभयो होला। यसरी दुई वर्षपछि मैले खेलेको पहिलो फिल्म थियो, ‘युगदेखि युगसम्म’। यो फिल्म गर्दासम्म पनि मेरो फिल्म यात्रा कस्तो हुन्छ? भन्नेमा अन्योलमा थिएँ। मेरा अगाडि उदाहरण पनि त्यति धेरै थिएनन्। ‘नेपाली फिल्म क्षेत्र छ’ भनेर पनि ढुक्कसाथ भन्ने वातावरण थिएन। दुईतीन वर्षमा बल्ल एउटा फिल्म बन्थ्यो। फिल्म हिट भयो भने त्यसको परिणाम के? भन्ने पनि थाहा थिएन। म आउने बेलासम्म मुश्किलले १०-१२ वटा फिल्म बनेका थिए। त्यसको ४०-५० वर्षअगाडि फिल्म बन्न थाले पनि फिल्म खासै धेरै बनेका थिएनन्। त्यसैले ठूलो प्रश्न चिह्न थियो। आफूले गर्न चाहेको कुरा गर्न पाउँदा निकै खुशी लागेको थियो। र, आफ्नो काम एकाग्र भएर गरिरहेको थिएँ। आफ्नो स्थानबाट गर्न सक्ने काम गरिरहेको थिएँ। त्यसरी नै अगाडि बढेँ। संयोगवश अहिले पछाडि फर्केर हेर्दा सबैभन्दा खुशी लाग्ने कुरा, गर्व लाग्ने कुरा के हो भने मेरो पहिलो फिल्म प्रदर्शन भएपछि त्यसले नेपाली फिल्म क्षेत्रमा सानोतिनो क्रान्ति ल्यायो। क्रान्ति यस मानेमा कि मैले पहिलो फिल्म गर्दा दोस्रो कहाँबाट आउँछ भन्दाभन्दै त्यो फिल्म रिलिज भएपछि त्यसलाई जसरी दर्शकले स्विकारे, त्यसको एक डेढ वर्षपछि म १२-१४ घण्टा नेपाली फिल्ममा काम गर्ने भइसकेको थिएँ। लगत्तै, म एकसाथ दुई-तीन वटा फिल्ममा काम गर्ने भइसकेको थिएँ।
त्यो एउटा ‘मिनी रेभोलुसन’ थियो, नेपाली फिल्ममा। निरन्तरताको प्रश्नै रहेन। धेरै निर्माता–निर्दैशकहरू म फलानासँग यो फिल्म बनाउन चाहन्छु भनेर अगाडि आउनुभयो। रिलिज भएको एक-डेढ वर्षपछि निरन्तर काम गर्दै गएँ। त्यो क्रम खालि एक वर्ष, दुई वर्ष मात्र नरहेर १२ वर्षसम्म मैले कम्तीमा दिनमा १४-१५ घण्टा काम गरिरहेँ।
फिल्ममा चासो राख्ने व्यक्तिहरू जब आजको परिस्थितिमा उभिएर, आजको चस्मा लगाएर विगतका कुराहरू सोध्नुहुन्छ, त्यहाँ अलिकति अन्योल भएको हो कि? भन्ने जस्तो पनि लाग्छ। धेरै व्यक्तिले तपाईंले किन यो चलचित्र गर्नुभयो? यति धेरै चलचित्र किन गर्नुभयो? भनेर सोध्नु हुन्छ। तर, हामीले सम्झिनुपर्ने के छ भने हामीले त्यो बेलाको परिस्थितिलाई त्यही बेलाको चस्मा लगाएर हेर्नुपर्छ। किनकि, एउटा चलचित्र नबनी दोस्रो कहाँबाट आँउछ भन्ने परिस्थितिमा अगाडि बढेको मान्छेले के सोच्छ भने धेरैभन्दा धेरै चलचित्र बनोस्। निर्माता नफर्किऊन्। कोही हतोत्साहित नहोस्। धेरै चलचित्र बनिसकेपछि मात्रै यो क्षेत्रको विस्तार हुन सक्छ, फस्टाउन सक्छ। धेरै चलचित्र बन्नु भनेको धेरै मान्छेले काम पाउनु हो। मैले पहिलो चलचित्र गर्दा एकैपटक तीनचार वटा चलचित्रको छायांकन भयो भने क्यामरापर्सनको अभाव हुन्थ्यो। त्यस्तो परिस्थितिमा धेरैभन्दा धेरै चलचित्र बनाउँदै गएपछि अन्य प्राविधिकको पनि आकर्षण बढ्थ्यो। त्यसैले यो क्षेत्रको विस्तार हुन्थ्यो। म तीनचार वटा फिल्ममा एकैपटक काम गर्थें। तेस्रो, चौथो चलचित्र गर्दा प्राविधिक भारतबाट मगाउनुपथ्र्यो। मेकअपम्यानेखि लिएर क्यामराम्यानसम्म सबै भारतबाट ल्याएर फिल्मको छायांकन गर्नुपथ्र्यो।
त्यो समयमा जो व्यक्तिले असिस्टेन्टको काम गर्नुभएको थियो, धेरै फिल्म बन्न थालेपछि उहाँहरूले फुल क्यापासिटीमा काम गर्ने मौका पाउनुभयो। धेरै चलचित्र गर्दा म आफैँले मात्रै गरेको त होइन, त्यसको पछाडि ७०-८० जना मान्छे थिए। म व्यस्त हुँदा प्राविधिक र अन्य कलाकार सबै व्यस्त भए।
नेपाली चलचित्रले मलाई एउटा गर्व गर्ने बाटो के दियो भने नेपाली समाजसँग जोडिने नाता गाँसिदियो। त्यो मेरा लागि एकदमै अमूल्य छ। मैले पहिलो, दोस्रो चलचित्रबाट नै दर्शकको चाहना र मनोविज्ञानलाई ख्याल गरेर चलचित्र बनाउनुपर्छ भन्ने सोच राखेँ। उहाँहरूलाई केन्द्रमा राखेर आफ्ना पात्र सिर्जना गर्नुपर्छ भन्नेमा दूरदर्शिता थियो। त्यसकारण त्यस समयको परिवेशको पहिचान गर्ने पात्रहरू निर्वाह गरेँ र त्यही किसिमको कथामा पनि संलग्न भएँ। जसले गर्दा दर्शकसँग एकदमै गहिरो नाता बस्न गयो।
त्यस समयमा मेरा आमाबुबा प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो। दुवैले राम्रो शिक्षा लिनुभएको थियो। मेरो बुबाले २२ वर्षको उमेरमा बनारसमा पोलटिकल साइन्समा मास्टर गर्नुभएको थियो। त्यस समयमा महिलाले त्यति पढ्ने चलन नभए पनि आमा लखनउको कलेजमा पढ्नुहुन्थ्यो। आमा र बुबा भारतको फरक–फरक शहरमा पढ्ने भए पनि छुट्टीमा फर्किंदा बाटोमा भेट हुने रहेछ। बुबाले २२ वर्षमा मास्टर्स सकेर पाल्पाको पहिलो हाइस्कुल पद्मोदय हाइस्कुलमा पहिलो हेड मास्टर बन्नुभयो। बुबाको र मेरो सामान्य मनोविज्ञानमा फरक के देख्छु भने उहाँ चाँडै बूढो देखिन चाहने, म सधैँ २१ को ! २२ वर्षको उमेरमा हेडमास्टर हुँदा बुबालाई परिपक्व हुने पिर थियो। कहिले अलिकति छिप्पिऊँ? ताकि आफ्ना विद्यार्थीले पत्याऊन्। पहिलो पटक केश फुलेको देख्दा एकदमै गर्वका साथ हामीलाई देखाउनुभएको थियो। यसरी आमाबुबा पाल्पामै रहेको बेला म मिसन अस्पतालमा जन्मिएँ। तर, जन्मेको एक वर्ष नपुग्दै बुबाले काठमाडौँ आउने निर्णय गर्नुभयो। त्यसैले पाल्पालाई नजिकबाट अनुभव गर्ने मौका पाइनँ। त्यही पनि कसैले तपार्इं कहाँको हो भनेर सोध्दा म पाल्पाली हुँ भन्छु।
कलाकारिताको सबैभन्दा महत्त्वपूर्ण टुल के हो भन्दा धेरैले के भन्छन् भन्दा मजदुरको पात्र गर्दा मजदुरसँग एक हप्ता संगत गर। अनि त्यसबाट सिक। अन्य पात्र गर्नु छ भने त्यो पात्रसँग भिज भन्नुहुन्छ। तर, म चाहिँ कहिल्यै पनि अरूको सोचमा निर्देशित भइनँ। अंग्रेजीमा भन्छन् नि ‘इम्प्याथी’। यदि तपाईंले अरूको दृष्टिकोणमा, अरूको खुट्टामा उभिएर हेर्ने क्षमता राख्नुहुन्छ भने अरूको परिस्थिति बुझ्नुहुन्छ। दश दिनको भोको अनुभव गर्नका लागि भोको मान्छेसँग गएर बसिराख्नुपर्दैन, तर भोको व्यक्तिले के महसुस गर्छ भन्ने दृष्टिकोण बुझुने क्षमता मैले राखेको छु। त्यसैले मैले ‘भरिया’, ‘मजदुर’, ‘पाले दाइ’ लगायत फिल्म धेरै गरेँ।
चलचित्रमा लाग्नलाई मेरो सपोर्ट सिस्टम राम्रो थिएन। परिवारको नजरमा फिल्म क्षेत्र सुरक्षित थिएन। त्यसैले उहाँहरू म चलचित्र खेल्न लागेकोमा खुशी हुनु हुन्थेन। जस्तो कि, ‘युगदेखि युग’सम्मको प्रिमियर भएको थियो तर मेरो परिवारबाट एक जना पनि हुनु हुन्थेन। यही कुराले बुबा र मबीच कम्युनिकेसन नै ग्याप भएको थियो। पछि यही अवस्था रहँदारहँदै बुबा पाकिस्तानमा ५६ वर्षको उमेरमा बित्नुभयो। पाकिस्तानको राजदूत हुँदै उहाँको कुटनीतिक यात्रा सुरु भएको थियो। त्यहीँ सकियो पनि। बुबा पाकिस्तानी राष्ट्रपतिलाई भेटेर फर्किरहनुभएको थियो, गाडीमा नै उहाँलाई अट्याक भयो। त्यसबेला म ‘गोपीकृष्ण’ भन्ने फिल्मको सुटिङ गरिरहेको थिएँ। फिल्मको कारणले बुबासँग कुरा बिग्रेको थियो। सफल भएको देखेपछि कुरा मिलिहाल्छ नि भन्ने लागेको थियो, तर त्यो हुन नपाई बुबा बित्नुभयो। मलाई सम्झना छ, उहाँ पाकिस्तान जाने बेलामा म सँग बाई पनि नभनी जानुभएको थियो। यो कुरा चाहिँ मलाई आज पनि बिझाउँछ।
आज नयाँ पुस्ता फिल्ममा लागेको देख्दा खुशी लाग्छ। नेपाली चलचित्रले धेरै विकास गरिसकेको छ। फिल्ममा आर्ट र बिजनेस दुवै हुन्छ। कलात्मक बनाउन पनि पैसा चाहिन्छ नै। किताबजस्तै हो चलचित्र पनि। विविध विषयमा बन्न सक्छन्। तर, दर्शक छन् कि छैनन् भन्ने चाहिँ ख्याल गर्नुपर्छ। सिर्जनामा मेरो धारणा यही हो।
तीन वर्ष भयो, मैले फिल्म खेलेको छैन। २२-२३ वर्षमा यस्तो दिन थिएन होला, जुन दिन मैले मेकअप गरिन वा क्यामरा फेस गरिनँ। यही बीचमा भने म बहिनीको विवाहका कारण साढे तीन महिना अमेरिका र युरोप घुमेँ। लामो समय काम गरेकाले घुम्छु भन्ने पनि थियो। साढे तीन महिनापछि फर्कन्छु त सुटिङ, डबिङ सब बन्द ! सब जना राजेश हमाल कहिले आउँछ भनेर कुरिरहनुभएको। तर, अहिले त्यो समय सम्झिँदा त्यत्रो जाँगर कहाँबाट आयो होला भन्ने लाग्छ। त्यसैले नयाँ पुस्तालाई म के भन्छु भने उमेरमा प्रोडक्टिभ हुन नहिचकिचाउनुस्।
अझै पनि चलचित्रमा अभिनय गर्ने धोको पूरा भएको छैन। नयाँ समयमा कसरी आऊँ भन्ने सोचिरहेको छु।