प्रजातन्त्रको सुसाइड नोट

सर्वज्ञ दर्शन
७० वर्षअघि आजैका दिन अर्थात् फागुन ७ मा जन्मेको हुँ म। गौतम बुद्ध, सेक्सपियर, मोतीरामजस्तै मलाई पनि जन्मेकै दिन मर्न पाया त हुँदो हो भन्ने लागिरहन्थ्यो। १० वर्षकै उमेरमा मलाई ९९ दशमलब ९९ प्रतिशत त मारिदिया। ३० वर्षसम्मै म कोमामा बस्दो भयाँ।
आदरणीय भक्तजन ! नमस्कार ! यो रेडियो सर्वज्ञ हो। अब सर्वज्ञ बाबाबाट साप्ताहिक समाचार सुन्नुहोस्।
— माघ मसान्तको दिन मनाइयो, रेडियो दिवस।
— फागुन १ गते जनयुद्धको २५ वर्ष।
— फागुन २ गते पिरती दिवस।
— ३ गते दुईतिहाइको दुई वर्ष।
— ७ गते प्रजातन्त्रको ७० औँ दिवस।
अन्तर्राष्ट्रिय, माफ गर्नुहोला, छिमेकी समाचारमा केजरीवालको कुचोले गर्यो फेरि दिल्ली साफ, यता रवीन्द्र मिश्रले मुखमा मिश्री परेजसरी मुख मिठ्याए।
अब सुन्नुहोस् पूरा समाचार—
चौबीसै सेकेन्ड
नेपालमा प्रजातन्त्रको आगमनसँगै रेडियो खुल्यो। अनि संघीय लोकतान्त्रिक गणतन्त्रको आगमनसँगै रेडियो खुस्क्यो। रेडियो दिवसका अवसरमा रेडियो नेपालले आयोजना गरेको कार्यक्रम रेडियोमा नै लाइभ आएन, रेडियोको फेसबुक भिडियोमा पो लाइभ आयो। किन रेडियोमा लाइभ आएन त ? शिक्षा दिवसमा विद्यालय बिदा, संविधान दिवसमा अदालत बिदा, पुस्तकालय दिवसमा पुस्तकालय बिदा हुने देशमा रेडियो दिवसमा रेडियो खुल्न सुहाउँछ त ? रेडियो बिदा ! माफ गर्नुहोला, रेडियो बन्द। दिनमा चौबीसै घण्टा खुल्ने रेडियो अचेल दिनमा चौबीस मिनेट हुँदै चौबीस सेकेन्ड मात्र खुल्न थालेको समाचार सर्वज्ञ बाबालाई प्राप्त भएको छ।
गृहस्थासन
तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सुरु भएको सशस्त्र द्वन्द्वको २५ वर्ष पूरा भएको छ। यसका हर्ताकर्ताहरू प्रचण्ड, बाबुराम, वैद्य, विप्लवहरूका बेग्लाबेग्लै पार्टी छन्। यो बीचमा केके राम्रा काम भए, केके नराम्रा काम भए। यहाँहरूलाई झनै बढी थाहा छ, म बकबक नगरूँ। तर, यी नेताहरू सुकिलामुकिला भए, धनधान्यले कुबेर भए, लम्पट भए भन्ने विद्वान् विश्लेषकहरू देखेर सर्वज्ञ बाबा औधि अआ भएको छ। अआ भनेको असन्तुष्ट र आक्रोशित के ! यी विद्वान्हरूको बुद्धि इत्ति नि छैन हेर्नुस्।
सर्वज्ञ बाबाको हिन्दू वर्णाश्रममा चार आश्रम छन्। ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, सन्न्यास। २५ वर्ष पुगेपछि गृहस्थीमा जम्ने हो। अर्थात्, बिहे गर्ने हो, तीनवटा–चारवटा बहुविवाह गर्ने हो। घर बनाउने हो, बंगलाहरू बनाउने हो। जग्गा–जमिन जोड्ने हो, ठेकेदारका घरमा राज गर्ने हो। मीठो मीठो खाने हो, मार्सी खाने हो। परिवारलाई समय दिने हो, मेयर बनाउने हो। अनि युद्ध २५ वर्ष पुगिसक्दा पनि ब्रह्मचर्य अर्थात् गोविन्द केसी पालना गरिरहोस् भन्ने यी हाम्रा कस्ता लन्ठु बौद्धिक, यार !
पिरती दिवस
अघिल्लो दिन वार डे। भोलिपल्ट पिस डे। कति राम्रो ‘वार एन्ड पिस’।
प्रेम दिवसका दिन अभिव्यक्त एक विचारमा सर्वज्ञ बाबाको गम्भीर ध्यानाकर्षण भएको छ। म यहीँबाट तिनलाई ओठेजवाफ फर्काउन चाहन्छु :
— सधैँ गरिने-हुने प्रेमका लागि के एक दिन ? वाहियात ! — समाजमा द्वन्द्व सधैँ भइरहन्छ। र, एक जीवन्त समाजका लागि द्वन्द्व अपरिहार्य कुरा हो। अनि सधैँ भइरहने द्वन्द्वका लागि किन हजुरले हिजो एक दिन द्वन्द्व दिवस मनाइस्यो ? आमा–बाबुको मुख सधैँ हेरिसिन्छ हजुर। र, पनि किन एक दिन मुख हेर्ने चाड मनाइसिन्छ त ? सधैँ हेर्ने आमा–बाबुको मुख हेर्ने चाड भएजस्तै सधैँ हेरिए पनि यो प्रेमी–प्रेमिकाको मुख हेर्ने सभामुख विशेष चाड हो।
— यो भीडे भन्या भेडाहरूको आयातीत र पुँजीवादी नक्कल हो।
हजुरको मूल नीति माक्र्सवाद चैँ यहीँको पशुपतिनाथको आशीर्वाद हो, मान्यवर ? नीति र प्रीति, सिर्जना र सिद्धान्त, ज्ञान र विज्ञानको कुनै देश÷सीमा हुन्छ र, कमरेड ? अँ, पुँजीवादी त हजुरको शासन नै पुँजीवादी भएपछि त्यही मुहानबाट पुँजीवादी प्रेम नै बग्छ। समाजवादी प्रेम बग्न त हजुरले कमरेड बर्मन बुढा र मोहन वैद्यको नाम नि सुन्या हुनुपर्यो नि।
— हाम्रा यति धेरै उत्कृष्ट पौराणिक÷मौलिक नेपालीत्वका प्रेमकथाकै आधारमा प्रेम दिवस बनाउन सकिँदैन ?
गजबले सकिन्छ कमरेड। राधा–कृष्ण, मुना–मदनको प्रेमकथाभन्दा नि उत्कृष्ट, अलौकिक औ अद्वितीय प्रेम कथा हामीसित छ। हामीले दुनियाँसामु प्रदर्शन गर्नलायक त्यो हाम्रो अजरामर प्रेम हो— केपी–पीके प्रेम। केपी–पीके प्रेमको प्रचारप्रसारका लागि हेप्नी मन्त्रीज्यूलाई आजै जिम्मेवारी दिनुभए बेस कमरेड।
तिमी त भन्नै मिलेन, ‘हजुर’ भन्दै यसरी ओठेजवाफ फर्काएर ठहरै पारिसकेसि अब निचोडमा म प्रेमबारे के उपदेश दिन्छु भन्देखिन् संसारमा मया–पिरेमभन्दा ठूलो केही छैन। देखावटी होस् या बनावटी, प्रेम गर्नेहरूलाई घृणा नगर। सबै खालका हिंसा छोड, प्रेम गर। दुवै पक्षको जीत हुने एक मात्र खेल अथवा युद्धको नाउँ हो, प्रेम। अक्सर हामी खेलमा एक पक्षको पिरलाई पनि पिरती भनिरहेका हुन्छौँ, त्यो रति हो, प्रीति होइन। प्रायः पतिहरू प्रीतिबिनाको रति गर्छन्, यो त सती पठाए बराबरको यातना–अपूरणीय क्षति हो। प्रीतिमा त दुवैलाई लाभ मिलोस्, आनन्द मिलोस्। जस्तै, तपाईंहरू यस्तो प्रीति गाँस्न सक्नुहुन्छ— पीएमले यती र यतीले पीएमलाई गाँसेजस्तो।
दुत्याइँको दुई
आजभन्दा १ सय १२ वर्षअघि चन्द्रशमशेरले सिंहदरबारको मूलढोकाको उत्तरतिर एउटा अड्डा खोलेथे। नेपालको जम्मै प्रशासकीय अधिकार आफूमा एकीकृत गर्न, सीधै प्रधानमन्त्री मातहत रहने गरी खोलिएको यो अड्डाको नाम उनले कति दूरदर्शी तरिकाले राखेका रहेछन् भने कुरै नगरौँ। अड्डाको नाम थियो, खड्ग निशाना अड्डा। वाह ! कति दूरदर्शी चन्द्र !
आज खड्गशमशेरले दुईतिहाइ शक्तिसहित देशको साधनस्रोतमा, सरकारी जग्गा–जमिनमा, नागरिकको स्वतन्त्रता र खुशीमा खड्ग–निशाना लाएको दुई वर्ष भयो। दुई वर्षमै ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा पूरापूर भइसक्यो। अझै तीन वर्षसम्म त के–के पो हुने होला यो देशाँ। यही दुई वर्षमै देश ‘यती’ राम्रोसँग स्वर्गजस्तै भइसक्यो। अझै तीन वर्ष यही सरकार रहे त स्वर्गभन्दा नि राम्रो, कस्तो होला त मेरो देश ? स्वर्गभन्दा नि माथि के हुन्छ ? शब्दकोशाँ नि भेटिनँ। नेपालमा बस्ने नेपाली भन्यास्तो अब हामी स्वर्गमा बस्ने स्वर्गीय। आहा ! हामी सब स्वर्गीय ! कति मीठो स्वर्गीय स्वप्निल स्मृति ! आफू स्वर्गीय नभई स्वर्ग देखिन्न !
सुसाइड
आफूलाई प्रजातन्त्र बताउने ७० वर्षीय वृद्धले आज आत्महत्या गरेका छन्। उनका साथमा एउटा सुसाइड नोट पनि फेला परेको थियो। प्रहरीको उच्च स्रोतबाट सर्वज्ञ बाबालाई प्राप्त नोट देहायबमोजिम छ :
७० वर्षअघि आजैका दिन अर्थात् फागुन ७ मा जन्मेको हुँ म। गौतम बुद्ध, सेक्सपियर, मोतीरामजस्तै मलाई पनि जन्मेकै दिन मर्न पाया त हुँदो हो भन्ने लागिरहन्थ्यो। १० वर्षकै उमेरमा मलाई ९९ दशमलब ९९ प्रतिशत त मारिदिया। ३० वर्षसम्मै म कोमामा बस्दो भयाँ। अरूको नामपछि थर थपिन्छ। मेरो त नामैअघि ‘पञ्चायती’ थपिदिया। पञ्चायती र म भन्याका नदीका दुई किनारा, हाम्रो मिलन गीतमा मात्र हैन, विज्ञानमै असम्भव थियो। ३० वर्षपछि म बिउँझिन त बिउँझेँ। तर, धेरैजसो बिरामी परिरहेँ। घाउ–चोटपटक सहेर जसोतसो बाँचेँ। कोमामा रहेका ती ३० वर्षपछि आज मैले आत्महत्या गर्दासम्मका यी ३० वर्ष पनि खासै फरक भयानन्। न त बाल्यकालका १० वर्षसम्मै कुनै भाँडाकुटी नै खेल्न पाइयो। मेरो नाम डेमोक्रेसी तर मलाई कहिले मोनार्की (राजतन्त्र), कहिले टिरनी (निरंकुशतन्त्र), कहिले एरिस्टोक्रेसी (कुलीनतन्त्र) ले टिक्न–खान–बस्नै दिएनन्। अहिले त मैले आत्महत्या गर्नुको कारण ‘ओलि’गार्की (धनिकतन्त्र) ले गर्दा हो। अबको ठालूतन्त्रमा मेरो परिभाषै नयाँ अर्थात् ‘डेमोक्रेसी इज द गभर्नमेन्ट अफ द ठेकेदार, बाई द तस्कर एन्ड फर द कसिंगर’ बनाइदिइसकेपछि मैले मेरो औचित्य सकिएको महसुस गरेँ। फेरि अरु अरू देशमा रहेका मेरै नामका मेरा समकक्षी डेमोक्रेसीहरू पनि भटाभट सकिइरा बेला, संसारभरबाटै हामी बिदा भइरा बेला म ७० वर्षे बूढाले नेपालीहरूको औसत आयु पनि पारे गरिसकेँ। यो ७० वर्षमा सात वर्षीया गोमासित बिहे गरेर बालविवाहको केसमा जेल जानुभन्दा मर्नु जाती भनेर म मरिदियाँ। इति रोज रोज शुभम्।
अब अन्तर्राष्ट्रिय समाचारअघि केही बेरको विश्राम।
अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/3027)
प्रतिक्रिया दिनुहोस !
