विभेदकारी भीसा नीति

विभेदकारी भीसा नीति

पुराना मित्रराष्ट्रहरूले दूतावासको आकार घटाउँदै राजनीतिक उपस्थिति मात्र देखाउन थालेका छन् । ती दूतावासले आफ्नो भवनबाट उपलब्ध गराउँदै आएको भिसा (प्रवेशाज्ञा) सेवा बन्द गर्दै बिचौलियाकहाँ पुर्‍याएर नेपालीलाई शुल्कभार थप्दैछन् । अधिकांशले यहाँको भिसा केन्द्र नै बन्द गरेर दिल्ली पुर्‍याए भने कतिपयले यहीं एजेन्ट खडा गरेर भिसा शुल्क डेढ गुणा लिएर खुलेआम व्यापार थालेका छन् । यसको मार नेपाली आवेदकमा परेको छ । नेपालको सबैभन्दा पुरानो मित्र मुलुक बेलायतले नै भिसा दिल्लीबाट उपलब्ध गराउन थालेको दशक कटिसकेको छ । बेलायतको सिको गर्दै फ्रान्सले पनि दूतावासको साइज घटाउँदै काठमाडौंबाट उपलब्ध गराउने भिसा दिल्ली पुर्‍याएको पनि आठ वर्ष भइसकेको छ । अस्ट्रेलियाले पनि दिल्लीबाटै भिसा जारी गर्छ । नेपालबाट भिसा दिँदै आएको डेनमार्कले दूतावास नै बन्द गरेर गएको दुई वर्ष भइसक्यो । त्यस्तै कन्सुलर सेवा दिँदै आएको क्यानडाले पनि कार्यालय नै बन्द गरेर अवैतनिक दूत नियुक्त गरेको ६ वर्ष भइसकेको छ । उसले पनि भिसा दिल्लीबाट उपलब्ध गराइरहेको छ ।

राजनीतिक उपस्थितिका लागि मात्र उनीहरू यहाँ रहेका छन् । हाम्रा कूटनीतिक निकायको जिम्मेवारी लिएकाले पनि कूटनीति (रातो) र कर्मचारी (नीलो) राहदानीलाई समस्या नपर्ने गरी ‘डिल’ गर्ने हुनाले यसतर्फ खासै ध्यान नपुगेको हो । कूटनीतिक भनिने वार्तामा सर्वसाधारणले बोक्ने पासपोर्टको होइन, तिनैले बोक्ने पासपोर्टका विषयमा छलफल भएको उनीहरूको विज्ञप्तिमा उल्लेख हुन्छ । हुन त, पछिल्ला समय परराष्ट्रमा मौलाएको विषय भनेको विदेश भ्रमण नै हो । सर्वसाधारणका समाधान खोज्नेभन्दा मन्त्रीका झोला बोक्न कर्मचारी नेतृत्व तयार भएपछि यो अवस्था आएको हो । त्यस्तो होइन भने मन्त्रीसँग सचिव, सचिवको लाइनमा आइसकेकाहरू वरिष्ठ सहसचिव बिरलै हिँड्छन् । तीन तहसम्म मन्त्रालय खाली गरेर जस्तोसुकै भ्रमणमा जानुले पनि हाम्रो कूटनीतिक ‘डिल’ उदांगिएको छ ।

कतिपय मित्र मुलुकले काठमाडौंमा रहेको सम्पत्तिसमेत बिक्री गर्दै ‘यहाँ रहनुको अर्थ छैन’ भन्ने सन्देश दिइरहेका छन् । दूतावासमा स्थानीय कर्मचारी राख्ने तर कूटनीतिज्ञ घटाउँदै आएका छन् । कूटनीतिक क्षेत्रमा कुनै मुलुकले दूतावास बन्द गर्नु वा भिसा अन्य मुलुकबाट दिनु सामान्य घटना होइन । तर त्यसतर्फ सरकारी निकायको सोच नै पुग्न सकेको छैन । कहाँसम्म भने नेपाली विद्यार्थीबाट आउने रकमले अर्थतन्त्र चलाइरहेका मुलुकले नै काठमाडौंबाट भिसा उपलब्ध गराएका छैनन् ।

नेपालले भन्नुपर्छ— भिसा दिल्लीबाट दिने हो भने यहाँ दूतावास किन राख्नुपर्‍यो ? केही मुलुकले काठमाडौंबाटै भिसा दिए पनि अनेक अड्चन पैदा गर्न थालेका छन् । कतिपयले भिसाको झन्झटिलो कार्यविधि तोक्ने । अधिकांश दूतावासले प्रवेशाज्ञा अस्वीकार गर्ने तर चर्को शुल्क असुल्नेसमेत गर्छन् । ती मुलुकले अरू देशमा पनि यही व्यवहार गर्छन् त ? पक्कै सबैमा समान निर्णय हुँदैन । यो विषयमा सरकारले कतै कुरा उठाएको पाइँदैन ।

हुँदाहुँदा पछिल्लो समय चीनले पनि बिचौलियामार्फत भिसा दिन थालेको छ । उनीहरूले भिसा केन्द्र काठमाडौंमा खोल्दै कागजात कन्सुलर अफिसमा नलिने भएको हो । चीनले दूतावास बालुवाटार र कन्सुलर केन्द्र हात्तीसारमा छ । उनीहरूले भिसाको भन्दा सेवा शुल्क डेढ गुना महँगो लिनुले उदाउँदो शक्ति भनिएको चीनले पनि कतै भिसाको व्यापार गर्न थालेको त होइन भन्ने आशंकालाई बल पुर्‍याएको छ । चीनले यस्तो व्यवहार किन गर्‍यो ? के नेपालले यसतर्फ कहिल्यै गम्भीर भएर सोचेको छ ? यसलाई नेपालको कूटनीतिक असफलता किन नभन्ने जस्ता प्रश्न उब्जेको छ । तीन साताअघि नै खोल्न लागेको बिचौलिया केन्द्रबारे परराष्ट्र मन्त्रालय र अध्यागमन विभाग बेखबर रहेको भनेपछि केही समय स्थागित गरेर अध्यागमन प्रमुखबाटै उद्घाटन गर्नुले पनि हाम्रो हविगतलाई उजागर गरेको छ । तसर्थ स्वाभिमानी नेपाल र नेपालीको सम्मान अक्षुण्ण राख्न मुलुकको कूटनीतिक नेतृत्व दह्रो र खह्रो हुनैपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.