जनस्वास्थ्यमा खेलबाड
विदेशी मुलुकको सिको गरेर सरकारले बालबालिकाले अत्यधिक सेवन गर्ने आहारपूरक सुक्खा धुलो दूध र तरल दुग्धजन्य पदार्थमा मेलामाइन प्रयोग गर्ने विषयलाई वैधता दिएको छ। मेलामाइन विभिन्न प्रकारका भाँडावर्तन र शौचालयका सिट निर्माण गर्न, प्लास्टिक उद्योग, प्लास्टिकका भाँडावर्तन, टेक्सटाइल्स, टाइल्स, कार्पेट, पेपरबोर्ड टाँस्ने गम तथा ग्लुहरूमा प्रयोग हुन्छ।
मेलामाइन अन्त्यन्त कडा खालको औद्योगिक रसायन हो। मानव स्वास्थ्यका लागि यो विष मानिन्छ। विष एक थोपा होस् वा एक गिलासभरि, आखिर विष विष नै हो। यसले अन्ततः मानव शरीरलाई हानि नै गर्छ। यस्तो विषरूपी रसायनलाई ससाना बालबालिकालाई खुवाइने आहारपूरक पदार्थमा मिसाउन पाउने भनेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डसमेत तोकेको छ। यसबाट लाखौं बालबालिकाको जीवन जोखिममा परेको छ। यसका साथै बालबालिकालाई विभिन्न प्रकारका दीर्घकालीन घातक रोग लाग्ने जोखिम सरकारले नै बढाएको छ। विभागको यो कदमले बालबालिकाको स्वस्थ भएर बाँच्न पाउने अधिकार कुण्ठित भएको छ।
सरकारले तोकेको यो मापदण्डले मुलुकका उद्योगीलाई पनि मेलामाइन प्रयोग गर्न बाटो खुलेको छ। स्वदेशी उद्योगीले पनि मेलामाइनको मापदण्डभित्र रहेर अब दूध र दुग्धजन्य पदार्थमा सजिलै मिसाएर बिक्रीवितरण गर्न पाउने भएका छन्। सरकारले मापदण्ड तोक्नुभन्दा मेलामाइनमिश्रित यस्ता पदार्थ आयातमा रोक लगाउनु पर्थ्यो। तर पहुँच, मिलेमतो र अन्तर्राष्ट्रिय अभ्यासका नाममा ल्याइएको यो व्यवस्थाले अन्ततः भविष्यका कर्णधार मानिने बालबालिकासहित आम नागरिकको जीवनसँग खेलबाड गर्ने काम भएको छ।
यसको असर तत्काल नदेखिए पनि केही महिना र केही वर्षपछि घातक परिणाम आउनेतर्फ चिकित्सकहरूले सचेत गराउँदा–गराउँदै यस्तो मापदण्ड तय गर्नु जनस्वास्थ्यप्रति सरकारको निकृष्ट सोच रहेको यसबाट उजागर हुन्छ। भारतसहित तेस्रो मुलुकबाट आयात हुने यस्ता रसायनमिश्रित खाद्य तथा पेयजन्य पदार्थको वीरगन्ज भन्सार नाकामा परीक्षणविनै आयात भइरहेको छ। यो खेदजनक छ।
केही महिनाअघि मानव स्वास्थ्यलाई हानि गर्ने क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स र फ्लेवर सेन्थेटिक ड्रिक्सलगायतको पेय पदार्थ) को आयातमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पूर्णरूपमा रोक लगाएको थियो। विश्व स्वास्थ्य संगठनले खाद्य पदार्थमा प्रोटिनको परिमाण उच्च मात्रामा वृद्धि गर्न अवैधरूपमा मेलामाइन मिसाइने औंल्याएको छ। मेलामाइनको माइक्रोग्राम परिमाण पनि मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छ। तरल पदार्थमा सजिलै घुल्न सक्ने गुण भएका कारण गैरकानुनी रूपमा प्रोटिनको मात्रा उच्च देखाउन र बाक्लोपना देखाउन यसको प्रयोग हुन्छ।
खाद्य गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय संस्था सेन्टर फर फुड सेप्टीका अनुसार मेलामाइन सम्मि श्रण भएका पदार्थ सेवनका कारण पिसाबमा रगत देखा पर्ने, कम मात्रामा पिसाब हुने, पिसाब नै नहुने, मिर्गौलाका नलीहरू अवरुद्ध हुने, मिर्गौलाले काम गर्न छाड्ने, उच्च रक्तचाप बढ्ने, मिर्गौलामा पत्थरी हुने, क्यान्सरजन्य घातक रोग लाग्ने सम्भावना प्रबल हुन्छ। उसका अनुसार मेलामाइनयुक्त सुक्खा तथा धुलो पाउडर दूध, तरल दूध र आहारपूरक पदार्थ सेवनका कारण तीन वर्षमुनिका ९९ प्रतिशत बालबालिका उच्च जोखिममा पर्छन्।
सन् २००८ मा चीनमा मेलामाइन मिसाइएको आहारपूरक पदार्थ र गाईभैंसीले खाने दानासम्बन्धी विश्वभर चिनिने गरी कालो घटना भएको थियो। उक्त घटनालाई अहिले पनि विश्व समुदायले ‘चाइनिज मिल्क स्क्यान्डल’ भनेर सम्झिने गर्छन्। चीनमा भएको यो घटनापछि विकसित मुलुकले मेलामाइनयुक्त खाद्य र पेयजन्य पदार्थको आयातमा प्रतिबन्ध नै लगायो। विगतमा यो घटनाबाट पाठ सिकेर सरकारले पनि मेलामाइन प्रयोग भएका वस्तु भित्र्याउन र प्रयोग गर्न नदिने नीति तयार पारेर कडाइका साथ कार्यान्वयनमा ल्याउनुपर्छ। विभागले अवस्थाको संवेदनशीलता हेरेर तत्कालै विभागले ल्याएको नीति परिमार्जन गरी यो विष प्रयोग गर्न नपाउने व्यवस्था गर्नुपर्छ।