घमण्डी मयूर

घमण्डी मयूर

श्रीबाबु कार्की उदास

चारकोसे घना जंगलमा धेरै प्रजातिका चराचुरुंगी बस्थे। त्यहाँ राम्रो नाच्ने र सुनौलो प्वाँख भएको एक जोडी सुन्दर मयूर पनि थियो। मयूरको जोडीलाई आफू निकै राम्रो नाच्न जान्ने र राम्रो छौं भन्ने घमण्ड थियोे।

त्यस जंगलमा अरू पनि विभिन्न क्षमताका चराचुरुंगी थिए। मीठो गीत गाउने कोइली, सुन्दर गुँड निर्माण गर्ने तोपचरो, चतु‍र्‍याइँ जान्ने कागलगायत धेरै चरा थिए। जंगलमा सबै प्रजातिका चराबीच एकता थियोे। चराहरू आआफ्ना बथानमा बसे पनि शत्रुले आक्रमण गर्दा सबै एक हुन्थे। जुरेली, काग, लामपपुच्छ«े, चिबेजस्ता चरा सधैं जंगलमा कुनै शत्रु पस्छ कि भनेर चनाखो रहन्थे। जंगलका अरू कुनै पनि चरालाई आफूसँग जन्मजात आएको गुणमा पटक्कै घमण्ड थिएन।

जंगलमा शत्रु देखेपछि जुरेली, काग, लामपुच्छ«े, चिबे चराहरू चिरबिर चिरबिर कराउँदै शत्रु आएको सूचना दिन्थे। यही संकेतले जंगलका सबै चराचुरुंगी शत्रुबाट सतर्क रहन्थे।

त्यही जंगलमा कोइली, बकुल्ला, गिद्द, कालिज, धनेश, सारस, हुचिल, कुथुर्केजस्ता लजालु चरा पनि थिए। यी चरा धेरै कराउँदैनथे। बरु उनीहरू अन्य चराले दिएको खतराको संकेतबाटै आफूहरू शत्रुसँग सुरक्षित रहन्थे।

जंगलमा बस्ने मयूरको जोडी भने निकै घमण्डी थियो। उनीहरू आफूजस्तो सुन्दर यो जंगलमा कुनै चराचुरुंगी छैनन् भन्नेमा घमण्ड गर्थे। बेलाबेला मयूरको जोडी आफ्ना सुनौला पखेटा फिजाएर नाच्थ्यो। मयूर नाचेको हेर्न जंगलका धेरै चराचुरुंगी वरिपरि झुरुप्प हुन्थे। आफ्नो नाच हेर्न यति धेरै चरा जम्मा भएको देखेर मयूर दम्पतीको भुइँमा खुट्टै हुन्थेन। उनीहरूको घमण्ड झनै बढ्थ्यो। यो जंगलमा हामीजस्तो राम्रो नाच्ने कुनै चरा छैनन् भन्ने घमण्ड बढ्थ्यो।

रूखको हाँगामा बसेर नाच हेरिरहेको चिबे चराले मयूरलाई फुक्र्याउने उद्देश्यले भन्यो, ‘मयूर दाइ ! मयूर दाइ ! तपाईंहरू कति राम्रो नाच्न सक्नुहुन्छ ! हेर्नुस् त तपाईंहरूको नाच हेर्न कति टाढा टाढादेखि चराचुरुंगी आएका छन्।’ घमण्डी मयूरलाई चिबे चराले झन् उकेरा लगाइदियो।

मयूरले पनि नाच्नै छोडेर रूखको हाँगामा बसेको चिबे चरातिर हेर्दै भन्यो, ‘हो त नि चिबे भाइ। यो जंगलमा राम्रो नाच्ने अरू को छ त ?    हामी दुईजना नहुने हो भने जंगलको शोभा नै हुने थिएन।’ मयूरले आफूलाई सुक्र्याउँदै चिबे चरालाई उत्तर फर्कायो।

मयूरको यो कुरा त्यहाँ नाच हेर्न आएका धेरै चरालाई फिटिक्कै मन परेन। त्यहाँ आउने धेरै चराले एउटै कुरा थियो, ‘मयूरको जोडी कसैले तपाईं भनोस् कि नभनोस् आफैं मपाईं गर्ने घमण्डी रहेछ।’

मयूरको यो नाच नजिकै लुकेर एउटा लोभी स्यालले पनि हेरिरहेको थियो। लोभी स्यालको एउटै उद्देश्य थियोे। यो मयूरलाई कसरी नाचिरहेको बेला सिकार गर्ने ?     

स्याल सधैं सिकारका लागि मौका खोजिरहेको हुन्थ्यो। स्याललाई रूखको हाँगामा बसेर चराहरूले चिरबिर चिरबिर गरेर आफूलाई खेदो खनेको पटक्कै मन पर्दैन्थ्यो।

स्यालले धेरै पटक आफ्नो मुखमा आइसकेको मयूरको सिकार चराचुरुंगीको चिर्बिर चिर्बिर आवाजले उम्काइदिन्थे। त्यसैले शत्रु देख्दा कराउने चराहरूसँग स्याल पनि निकै क्रुद्ध थियो।

लोभी स्याल धेरै लामो समयदेखि ती मयूरसँग लोभिएको थियो। उसलाई कसरी एकान्तमा नाच्दै गरेका मयूरलाई समातेर आफ्नो आहारा बनाउने भन्ने मात्रै थियो। जब वनमा मयूरका जोडी नाच्थ्यो सबै चरा हेर्न झुम्मिन्थे। त्यही भीडमा काग, जुरेली, लामपुच्छ्रे, चिबे चराहरू शत्रु आउँछ्न कि भनेर चनाखो हुन्थे।

कतिपटक त नाच्न लागेको मौकामा स्यालले मयूरलाई आक्रमण गरेको पनि हो। जब लोभी स्याल मयूर नाचिरहेको ठाउँ नजिक आउँथ्यो, चराहरूले चिर्बिराउँदै मयूरलाई शत्रु आएको संकेत गर्थे। अनि मयूरको जोडी नाच्न छोडेर भुरुरु उडेर रूखको हाँगामा उक्लन्थ्यो। लोभी स्याल सधैं हिस्स पथ्र्या।

जंगलका सबै चरालाई घमण्डी मयूरको दम्भ थाहा थियो। त्यो कुरा मीठो स्वर भएको कोइलीलाई पनि फिटिक्कै मन परेको थिएन। एक दिन कोइलीले आफ्नो मीठो स्वरमार्फत सबै चरालाई घमण्डी मयूरको नाच नहेर्न आग्रह गरे। जंगलका सबै चराचुरुंगीले कोइलीको आग्रह मानिदिए।

यता मयूरको जोडी आफूहरू राम्रो नाचेकै कारण सबै चरा नाच हेर्न आउनेमा ढुक्क थियो।

एक दिन जब दुवै मयूर प्रसन्न मुद्रामा आफ्ना सुनौला पखेटा फिजाएर नाच्न थाले। घमण्डी मयूरको नाच हेर्न जंगलका कुनै चराचुरुंगी त्यहाँ जम्मा भएनन्।

जब मयूरहरू नाच्न थाले, यो अवसरलाई लोभी स्यालले कसरी आफ्नो सिकार समात्ने भनेर उपाय लगाउन थाल्यो। ऊ मयूर नाचिरहेको ठाउँ नजिकै सुस्तरी सुस्तरी चाल मारेर पुग्यो। यो पटक भने मयूर नाचिरहेको ठाउँमा कुरा लगाउने कुनै चरा नभएकोमा स्याल ढुक्क थियो।

जब मयूरको जोडी नाचमा मुग्ध थियो, त्यही मौका छोपेर नजिकै पुगेको स्यालले बुरुक्क उफ्रेर भाले मयूरको घाँटी समायो। मज्जासँग नाचिरहेको मयूरले स्याल आएको पत्तै पाएन। ऊ स्यालको पञ्जामा प‍र्‍यो। स्याल खुसीले गद्गद् भयो।

स्यालको पञ्जाबाट उम्कन मयूरले धेरै कोसिस ग‍र्‍यो तर सकेन। उता पोथी मयूर भने बल्लतल्ल रूखको हाँगामा उक्लिई। उसलाई आफ्नो प्राणप्रिय स्वामी स्यालको मुखमा परेको देखेर धेरै दुःख लाग्यो। उसले जंगलका सबै चराचुरुंगीलाई आफ्ना स्वामीलाई बचाइदिन हारगुहार गरी।

नजिकै रूखको हाँगामा बसेको चिबे चराले भन्यो, ‘मयूरनी भाउजू ! मयूरनी भाउजू ! यो विपत्ति सबै तपाईंहरूको घमण्डले भएको हो। घमण्डले ठूलो होइन, आफैंलाई सत्यनास गराउँछ।’ हाँगामा बसेकी पोथी मयूरलाई आफ्नो घमण्डले निक्कै पश्चात्ताप गरायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.