प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा भोलि मिर्गौला प्रत्यारोपण हुँदै छ। उपचार प्रबन्धका लागि प्रधानमन्त्रीलाई हिजोदेखि नै अस्पताल भर्ना गरिएको छ। अग्रिम स्वास्थ्य परीक्षणहरूले प्रधानमन्त्री मिर्गौला पुनः प्रत्यारोपणका लागि स्वस्थ र सक्षम रहेको देखाएका छन्। अस्पतालले उपचारको तयारी पूरा भएको जानकारी दिएको छ।
सरकार प्रमुखको स्वदेशमै हुन लागेको पहिलो यति ठूलो उपचार भएकाले सारा देशवासी प्रसन्न छन्। स्वदेशमै प्रत्यारोपणका निर्णयकर्ता प्रधानमन्त्री र त्यसका हिम्मतकर्ता विज्ञ चिकित्सकहरूको उनीहरू मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। प्रधानमन्त्री शीघ्र र पूर्ण स्वस्थ भएर काममा फर्किएको हेर्न आतुर पनि छन्। १२ वर्षअघि विदेश जानुको विकल्प थिएन। अहिले स्वदेशमै सुविधायुक्त प्रत्यारोपण सम्भव छ। प्रधानमन्त्रीबाट त्यसको सम्मान र मूल्यांकन भएको छ।
हो, देशको प्रधानमन्त्रीको जोखिमशून्य र उच्च गुणस्तरीय उपचार हुनु वाञ्छनीय छ। हाम्रै देशमा त्यो अवस्था सिर्जना भइसकेको प्रधानमन्त्रीको निर्णयले पुष्टि गर्छ। उनले गर्वका साथ स्वदेशी अस्पताल र चिकित्सकमाथि विश्वास गरेका छन्। यसले उच्च पदस्थ र सम्पन्नशालीमा विदेशको उपचार मोह भंग गराउँछ। स्वदेशको उपचार सेवामा सर्वसाधारणको भरोसा एवं ऊर्जा बढाउँछ। त्यसले उपचाररतहरूको मनोबलसमेत वृद्धि गर्छ। प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीले दिएको छोटो भिडियो सन्देशमा पनि त्यही भाव व्यक्त गरेका छन्। त्यसमा भनेका छन्, ‘आफ्नै मुलुकमा, आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु। र, अत्यन्तै खुसी पनि छु।’ यसले देशको चिकित्सा सेवा र चिकित्सकमा गहन उपचारको उत्प्रेरणा बढ्छ। स्वास्थ्य समृद्धिको यो महत्त्वपूर्ण कदम हो।
चिकित्सा सेवामा प्रविधिको विकास उच्च छ। प्रत्यारोपण र मिर्गौला दानका क्रममा गरिने दुवै शल्यक्रिया निकै सहज बनेका छन्। सानो घाउ बनाएर गरिने शल्यक्रियापछि स्वस्थ हुन धेरै समय लाग्दैन। त्यसमाथि प्रधानमन्त्रीको प्रविधिज्ञान, उच्च साहस, मनोबल एवं सकारात्मक सोचका कारण जटिलता निकै घटेको ठान्न सकिन्छ। धपेडीमा काम गर्ने बानी, रोगलाई कामले थिच्ने तरिका र जति बिरामी भयो उति सक्रिय हुने शैली प्रधानमन्त्री ओलीका अनुकरणीय छन्। खासमा प्रधानमन्त्री ओलीको रोग राष्ट्र र लोकतन्त्रका लागि लड्दा सिर्जित हो। उनले चौध वर्षभन्दा बढी जेलजीवन बिताएका थिए।
मिर्गौला प्रत्यारोपणमा नेपालको उपलब्धि प्रशंसायोग्य छ। त्रिवि शिक्षण अस्पतालले मात्रै ७ सयको हाराहारीमा मिर्गौला प्रत्यारोपण गरिसकेको छ। दोस्रोपटक सफल प्रत्यारोपण गरेका उदाहरण एक दर्जन हाराहारी छन्। अन्य सरकारी र निजी अस्पतालमा गरी झन्डै १५ सय सफल प्रत्यारोपण भएका छन्। प्रत्यारोपणको सफलता दर झन्डै ९९ प्रतिशत छ। यसकारण पनि प्रधानमन्त्री ओलीको स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने आत्मविश्वास विकास भएको हुन सक्छ। प्रधानमन्त्री ओलीको यो निर्णयले प्रत्यारोपण गर्दा बिदेसिने रकमसमेत बचत हुनेछ। र, भविष्यमा यस्ता धेरै रकम बिदेसिन रोक्नेछ।
मिर्गौलाको कार्यक्षमता ह्रास हुँदै गए पनि प्रधानमन्त्री ओलीमा रहेको उच्च मनोबलकै कारण उनले क्रियाशील जीवन बिताइरहेका छन्। मिर्गौलाका अन्य बिरामीले ओलीलाई प्रेरणा स्रोतका रूपमा लिने गरेका छन्। यसपटक झापाकी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भएकी छन्। यसअघि अञ्जना घिमिरेले मिर्गौला दिएर जीवन बचाउन सहयोग गरेकी थिइन्। दुवै महिला निर्भीकताका साथ मिर्गौला प्रदान गरी नेपाली समाजका प्रेरणा स्रोत बनेका छन्। जीवनदाता दुवै देशैका लागि आभारयोग्य छन्।
प्रधामन्त्रीले भिडियो सन्देशमा भनेका छन्, ‘यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं। जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ। हामीले देखेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु।’
हामी त्यही कामना गर्छौं– प्रधानमन्त्रीको अस्पताल बसाइ छोटो बनोस्। शीघ्र, पूर्ण र दीर्घ स्वास्थ्य लाभ होस्। ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षा पूरा गर्न सहजता मिलोस्। स्वास्थ्यलाभपछि पार्टी नेताको दायराभन्दा माथि उठेर देशकै नेता बन्ने सफलता मिलोस्। हार्दिक शुभकामना !