'प्रवासी नेपाली एकता मञ्च अमेरिका र नेकपासँग कुनै साइनो छैन'
अमेरिका : नेपाल कम्युनिस्ट पार्टी निकट भनेर चिनिएको प्रवासी नेपाली एकता मञ्च अमेरिकाले पार्टीसँग आफ्नो संस्थाको कुनै साइनो नभएको प्रष्ट्याएको छ । नेकपाको संगठन भनेर परिचय बनाएको प्रवासी मञ्चले यो स्वतन्त्र सामाजिक संस्था भएको र नेकपासँग कुनै साइनो नरहेको प्रष्ट्याएको हो ।
न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी संयोजक टेक गुरुङसहित चारजना पदाधिकारी र चालिसजना सदस्य रहेको समिति समेत सार्वजनिक गरिएको छ । 'हामी स्वतन्त्र सामाजिक संस्था हौं, यहाँको विधि विधानअनुसार हामी चल्छौं, न्यूयोर्कमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक गुरुङले भने,' यो संस्थासँग नेकपाको कुनै रिलेसन छैन् । हामीले अब नेकपाका नेतालाई बिमानस्थलमा लिन जाने, पुर्याउने या यस्तै अन्य राजनीतिक क्रियाकलाप गर्दैनौं ।'
सबै नेकपा निकटका मान्छे राखेर संस्था बनाउने अनि स्वतन्त्र संस्था हौं भन्न मिल्छ भन्ने पत्रकारको जिज्ञासामा संयोजक गुरुङले भने,' हामी नेपालमा हुँदा कुनै राजनीतिक दलमा आवद्ध थियौं होला। अहिले हामी अमेरिकामा छौं, धेरै साथी यो देशको नागरिक भइसक्नु भएको छ अब नेपालका राजनीतिक दलको डम्फू बजाएर काम छैन्।
हामी यहाँ नेकपाको राजनीति गर्दैनौं, तदर्थ समितिका महासचिव शंकर पन्तले भने,' यहाँको कानुनलाई टेकेर संस्था स्थापना गरेका थियौं, यो एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने संस्था हो। चाहे त्यो प्रवासमा होस् या नेपालमा। उनका अनुसार अमेरिकामा रहेका सबै नेपालीलाई समेटेर अगामी जुलाईसम्म अधिवेशन गरिसक्ने जनाएका छन् ।
समितिमा रहेका एक सदस्य राधाकृष्ण देउजाले संस्था गठन र नेकपा बारेमा प्रष्ट पर्दै भने, 'नेपालबाट आएका हामी सबैमा कुनै न कुनै राजनीतिक दलको पृष्ठभुमी छ। तर यो विशद्ध सामाजिक संस्था हो।यो संस्थाले नेकपा नामको पार्टी चिन्दैन् । नेकपाको उपल्लो निकाय सचिवालयले पनि प्रवासमा कुनै कमिटि नरहने भनेको छ,' देउजाले थपे।
त्यसैले पार्टीले कुनै व्यक्तिलाई पार्टीले संयोजक तोकर दिएको भन्ने कुरामा सत्यता नभएको जनाउँदै छापिएका लेटर हेडमा आफूले विश्वास नगर्ने बताए । केही संचार माध्यममा हालै बनेको यो संस्थालाई माधव नेपाल पक्षको समूह हो भनेर गरिएको प्रचार बारेमा संस्थाले आपत्ति जनाएको छ । हालसम्म यो संस्थाले पार्टी निकटका नेताहरु आउँदा सार्वजनिक रुपमै ब्यानर बनाएर कार्यक्रम गर्दै आएको थियो ।
अमेरिकामा पूर्व एमाले निकट भनेर प्रवासी नेपाली मञ्च र पूर्व माओवादी निकट भनेरजनप्रगतीशिल मञ्च अमेरिकालाई चिनिन्थ्यो । पार्टी एकिकरण भएपछी नेकपाले प्रवासी मञ्चका प्रभु थापा संयोजक र जनप्रगतीशिल मञ्चका प्रकाश अधिकारी सचिव रहेको समिति बनाएको समाचार आइरहेका छन् ।
जनप्रगतीशिल मञ्चका प्रकाश अधिकारीले आफ्नो नाम समेत जोडेर पार्टीले समिति बनाएको भन्ने बारेमा सामाजिक सञ्जाल फेसबुकमा आपत्ति जनाएका छन् । संयोजक भनिएका थापासँग भने सम्पर्क हुन सकेन् ।