खेलाँची नठानौं कोरोनालाई
कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी प्रभाव बढ्दो छ। प्रभाव परेका मुलुकले उच्च सतर्कता अपनाइसकेका छन्। नेपालमा भने यसलाई त्यति धेरै गम्भीरतापूर्व लिएको पाइँदैन। नेपालमा हालसम्म एकजनामा संक्रमण पाइएको छ, खासै कोरोना छिरेको छैन। तर, यसको प्रभाव व्यापक रूपमै छिरिसकेको छ। खासगरी पर्यटन उद्योग संकटउन्मुख छ। व्यवसायीहरूका अनुसार हवाइ यात्रुमा ६० प्रतिशतभन्दा बढी गिरावट आएको छ। होटेल व्यवसायमा त त्यसभन्दा बढी प्रभाव परेको छ। जनजीवनमा त्रास व्याप्त छ।
हाम्रो दुर्भाग्य, भिजिट नेपाल २०२० सफल बनाउन सरकार हरतरहले लागिरहेकै बेला कोरोनाका कारण विश्वव्यापी आवागमन प्रभावित भएको छ। घुम्न आउने/जानेको त कुरै छाडौं, कामविशेषले विदेश यात्रामा निस्कनेमै त्रास बढेको छ। हरेक राष्ट्रले विशेष परिस्थितिबाहेक यात्रा नगर्न आफ्ना नागरिकलाई सचेत गराइरहेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिवले विश्वभरका कूटनीतिक नियोगका अधिकारीहरूलाई यस्तै आह्वान गरेका छन्। सरकारले कडा कदम चाल्न नसकेपछि सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणबाट जोगिन जोखिमयुक्त पाँच मुलुकका सीधा र ट्रान्जिट उडान रोक्न अन्तरिम आदेश दिएको छ। ती मुलुकमा चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरान छन्। त्यहाँबाट सोझै वा ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने उडानको अवस्था र परिस्थितिको सुक्ष्म मूल्यांकन गर्नसमेत अदालतले सजग गराएको छ। साथै, ती देशका नागरिकलाई स्वास्थ्य परीक्षणबिना प्रवेशमा रोक लगाउन आदेश दिएको छ। शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल ‘क्वारेन्टाइन’ मा राखी छुट्टै उपचारको व्यवस्था मिलाउन भनेको छ। विरलै हुने यस किसिमको आदेश भए पनि यो गम्भीर छ। सानो खेलाँचीबाट कोरोना फैलियो भने नेपाल धान्नै नसक्ने अवस्थामा पुग्छ। हाम्रो वस्तुस्थितिलाई देखेर विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखिसकेको छ। त्यसमा उसले पूर्वतयारी, सावधानी अपनाउन गरिएको कार्य, संक्रमण भएको अवस्थामा स्वास्थ्य जाँच र उपचार व्यवस्थालाई प्रमुख आधार बनाएको छ। त्यसलाई सरकारले गहनतापूर्वक लिनुपर्छ।
नेपालमा कोरोना छिरेको छैन भने हात बाँधेर बस्ने अवस्था छैन। सर्वसाधारणले पनि स्वयं जोगिन कतिपय कुरामा ध्यान दिनैपर्छ। भीडभाडमा जानु हुँदैन। घरबाहिर निस्किँदा मास्क लगाउनुपर्छ। पटक–पटक साबुन–पानीले हात धुने गर्नुपर्छ। हात मिलाउने, अंकमाल गर्नेजस्ता अभिवादन शैली हटाउनुपर्छ। नमस्कार हाम्रो संस्कार हो, त्यसमै जोड दिनुपर्छ। कोरोनाका लक्षण महसुस भए तत्काल स्वास्थ्य संस्थामा गई रोग निवारण गर्नुपर्छ। व्यक्तिगत जीवनशैली र अनुशासनले आफूलाई र अरूलाई जोगाउन सकिन्छ। त्यसमा सबैले चनाखो हुनुपर्छ।
कोरोनाको सम्भावित आगमनलाई ध्यान दिएर सरकारले केही नीतिगत काम भने गर्न खोजेको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको छ। अति प्रभावित पाँच मुलुकको अनअराइभल भिसामा रोक लगाएको छ। त्यहाँ उडान रोक्नेबारे छलफल भइरहेको छ। उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (एनओसी) वितरण बन्द गरेको छ। त्यतिले मात्र पुग्दैन। मास्कको सहज आपूर्तिको व्यवस्था गर्नुपर्छ। यसमा बिचौलिया र कालोबजारियाको प्रवेश रोक्नुपर्छ। नाकाहरूमा विशेष सतर्कता अपनाउनुपर्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय र अन्य विमानस्थलमा स्वास्थ्य ‘हेल्प डेस्क’ राख्नुपर्छ। पूर्वसावधानीका उपायबारे जनसाधारणसम्म सचेतना पुर्याउनुपर्छ। ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन वार्ड’ भरपर्दा बनाउनुपर्छ। आवश्यक परे उपचारको उचित प्रबन्ध मिलाउन स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्छ। झन्झटिला प्रशासनिक व्यवस्थापनका गाँठा फुकाएरै भए पनि अत्यावश्यक औषधी, उपकरण र उपचारको प्रबन्ध मिलाउनुपर्छ। सबैभन्दा ठूलो कुरा कोरोना आइगयो भने पनि निर्धक्क उपचार गर्ने व्यवस्थाको नागरिक तहसम्म प्रत्याभूति गर्नैपर्छ।