कोरोना भाइरस : इटलीमा विद्यालय बन्द, फिल्म हल र नाट्यशालामा पनि रोक लगाउने
इटली : कोरोना भाइरस सङ्क्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ। त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन्। कोरोना भाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ। त्यो युरोपको सबैभन्दा गम्भीर सङ्क्रमण हो।
प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका छन्। देशको उत्तरी क्षेत्रमा ३ हजार भन्दा बढी मानिसमा सङ्क्रमण देखिएको छ। तर इटलीका अन्य २० मध्ये १९ क्षेत्रमा पनि सङ्क्रमण फैलिएको पुष्टि भइसकेको छ।
शिक्षामन्त्री लुचिया चोलिनाले विद्यार्थीले चाँडै कक्षा सुरु गर्नेमा आफू विश्वस्त रहेको बताइन्। 'मेरो प्रतिबद्धता भनेको हाम्रा सबै विद्यार्थीलाई आवश्यक सार्वजनिक सेवाको सुनिश्चितता गर्नु हो' उनले भनिन्।
स्थानीय सञ्चारमाध्यमले स्वास्थ्य विशेषज्ञहरू तथा इटलीको स्वास्थ्य मन्त्रालय विद्यालय बन्द गर्ने पक्षमा रहेको जनाएका छन्। स्वास्थ्य विशेषज्ञहरू फुटबल प्रतियोगिताहरू पनि बन्द ढोकाभित्र खेलियोस् भन्ने चाहन्छन्।
कतिपय खेल प्रतियोगिताहरू पहिले नै स्थगित भएका छन्। इटलीको नागरिक सुरक्षा निकायले बुधवार कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २८ बाट १०७ पुगेको जनाएको थियो।मिलाननजिकै अवस्थित लोम्बार्ड्री क्षेत्र र उत्तरी भेगका बोलोग्ना र भेनिसनजिकैका ठाउँमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ। यसअघि मिलाननजिकैका ११ वटा नगरमा झन्डै ५० जनालाई क्वारेन्टाइनमा राखिएको भए पनि सङ्क्रमण फैलिन रोकिएन।
सामाचारसस्था रोएटर्सका अनुसार इटली सरकारले अब सिनेमाघर र नाट्यशाला तथा सार्वजनिक कार्यक्रममा पनि रोक लगाउने तयारी गरिरहेको जानकारी पाइएको छ। सरकारले मस्यौदा गरिरहेको एउटा आदेशमा सर्वसाधारणलाई यथासम्भव अङ्कमाल नगर्न तथा हात नमिलाउन सुझाव दिने उल्लेख छ।