बिचौलिया बिनै नापीमा काम
पोखरा : जतिसुकै पढेलेखेका व्यक्ति पनि मालपोत वा नापी कार्यालय जाँदा लेखापढी व्यवसायीको सहायता बिना काम गर्न सक्दैनन्। त्यहाँको काम गर्दा दिनुपर्ने निवेदनको ढाँचा र भाषाशैलीबारे धेरै अनभिज्ञ हुन्छन्। त्यसमाथि सेवाग्राहीको घुइँचोमा पालो कुर्ने झन्झटले बिचौलिया बिना आफैं काम गर्न धेरैलाई निरुत्साहित पार्छ।
नापी कार्यालयको सेवा भने बिचौलियाबिना लिन सकिने व्यवस्था कास्कीमा सुरु भएको छ। जुन कामका लागि निवेदन दिनुपर्ने हो, त्यस्तो निवेदन सेवाग्राहीले आफ्नो मोबाइलमै पाउन सक्छन्। एकाबिहानै कार्यालय धाएर लाइनमा उभिनुपर्ने सास्ती नव्यहोर्ने हो भने पनि उपाय हुन्छ। मोबाइलमा नापी कार्यालय कास्कीको एप डाउनलोड गरेपछि निवेदन र लाइनको दुवै झन्झटबाट मुक्ति मिल्छ।
नापी कार्यालय कास्कीले आफ्नोमा आउने सेवाग्राहीका सबैजसो सम्भावित निवेदनको ढाँचा एपमा राखेको छ। सेवाका लागि घरमै बसेर सेवाग्राहीले एपबाटै टोकन लिन सक्छन् र आफ्नो पालो आफैंले तय गर्न सक्छन्। प्रमुख नापी अधिकृत इन्जिनियर खिमलाल गौतम भन्छन्, ‘टोकनको पालो एपबाटै कर्मचारीले थाहा दिन्छन्, सेवाग्राहीले चाहेको समय उपलब्ध गराउँछन्, मिलेन भने उपयुक्त समय यो हुन्छ भनिदिन्छन्।’
मालपोत र नापीमा भ्रष्टाचार भयो, अनियमितता भयो भन्ने आरोप र गुनासो सम्बोधन गर्न बिचौलियाबिनै काम गर्न सकिने एप एन्ड्रोइड मोबाइलमा उपलब्ध गराएको जानकारी इन्जिनियर गौतमले दिए। कित्ताकाट, हाल सावकि भिडाउने, नक्सा प्रिन्ट, नक्सा ट्रेस, फिल्डबुक, प्लट रजिस्टर उतारसहित फिल्ड रेखांकन, क्षेत्रफल ट्रायल चेक र कित्ता एकीकरण लगायत काम नापीमा हुन्छन्। तिनै कामका लागि सेवाग्राहीले एप प्रयोग गर्न सक्छन्।
‘नापी पोखरा एसओकेपी’ नामको मोबाइल एप्लिकेसन शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गरिन्। उनले प्रविधिको प्रयोग गरेर मालपोत र नापीको सेवा सरल र सहज बनाउन सकिने ठानेर सुरुदेखि नै आफू त्यसमा लागेको सुनाइन्। ‘सेवा प्रवाहमा प्रविधिको प्रयोगबिना उठेका प्रश्नको जवाफ दिन सक्दैनौं,’ उनले भनिन्, ‘नमुना मालपोतको रुपमा कंलकी र नापीको काम कास्कीबाट सुरु गरेका हौं।’ यस्तो एप कास्कीमा पहिलोपटक सुरु भएको हो। मन्त्री अर्यालले देशैभरका सबै कार्यालयमा यस्तो एप लागु गर्ने जानकारी गराइन्। कास्कीको अभ्यास हेरी त्यस अनुसार देशभर सुरु गर्ने उनको भनाइ थियो।
नाप नक्साका क्षेत्रमा प्रविधिको प्रयोगबाट साँच्चिकै क्रान्ति ल्याउने गरी काम हुने मन्त्री अर्यालले सुनाइन्। ‘विगत र वर्तमानमा देखिएका परिवर्तन फरक छुट्याउन मिल्ने गरी काम हुन्छ’, उनले भनिन्, ‘मालपोत र नापी कार्यालयलाई तत्काल मर्ज गर्न नसके पनि नजिक बनाउन सकिन्छ।’ नापी विभागका महानिर्देशक प्रकाश जोशीले मन्त्रीको निर्देशानुसारै प्रविधिमा अघि बढेको सुनाए। उनले भने, ‘इच्छाशक्ति भए उपाय निस्कन्छ, कास्कीको नापीमा बजेट थिएन, तर एप बनाउने भनेपछि हामीले जुटायौं र एप तयार भयो।’