यसपाली नखेलौं होली

यसपाली नखेलौं होली

भाइबहिनी हो, तिमीहरूलाई होली कहिले आउला र खेलौंला भन्ने लागेको छ होला। होलीका दिन लोलाले कति साथीभाइलाई भिजाउँला वा अनुहारभरि विभिन्न रङ दलेर रमाइलो गरौंला भन्ने पनि हुन सक्छ। अझ कतिपयलाई त साथीभाइ भेला हुने अनि टोलटोल र घरघर पुगेर मस्तले रङहरूको पर्व होली मनाउँला भन्ने धोको थियो होला। तर होशियार ! सरकार र स्वास्थ्यकर्मीले नेपालमा कोरोना भाइरसको उच्च जोखिम भएको भन्दै भीडभाडमा नजान र होली नखेल्न सुझाव दिएका छन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले यस वर्षको होली नखेलेकै राम्रो भनेर सबैलाई सचेत गराएका छन्। वीर अस्पतालका फिजिसियन डा. कार्की भन्छन्, ‘सकेसम्म यस्तो बेला भीडभाडमा नगएकै बेस। अझ होली खेल्दा त पानीमा भिजिन्छ त्यसले रुघाखोकी लाग्न सक्छ। शरीर कमजोर भएपछि कोरोनाले आक्रमण गर्छ।’ काठमाडौं उपत्यकामा यसै पनि पानी प्रशस्त छैन। जसले होलीका समय पानीको प्रयोग गर्छ उसले फोहोर पानी प्रयोग गर्नुपर्ने हुन्छ। अनि मनन् गर त फोहोरपानीले संक्रमणलाई कति छिटो र सजिलै स्वागत गर्दो हो ?   सानो रहर वा चाहनाले जीवनभर दुःख पाएर बस्नु कति सही हो ?

यसै पनि जाडो सकिने र गर्मी सुरु हुने यो मौसममा रुघाखोकी र निमोनिया हुन्छ। डा. लोचनका अनुसार, अहिले सरकारी र निजी अस्पतालमा रुघाखोकी र निमोनियाका सयौं बिरामी आइरहेका छन्।

होली खेल्दा रङको प्रयोग गरिन्छ। तर हामी धेरैले रङमा सिसा हुन्छ र त्यसले विभिन्न रोगसँगै ज्यानै जाने क्यान्सरसम्म हुन सक्छ भनेर बुझेका छैनौं होला। ‘रङमा प्रयोग गरिने सिसा वा केमिकलका कारण मानिसको छालामा तत्कालीन र दीर्घकालीन रोग लाग्छन्’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. अनुप बाँस्तोला भन्छन्, ‘हात साबुनपानीले कम्तीमा २० सेकेन्ड धुने, दिनमा पटकपटक धोइरहने, भरसक हात नाक र मुखमा नलैजाने अनि अनावश्यक भीडभाडमा नजाने गर्न सक्यौं भने कोरोनाबाट बच्न सकिन्छ।’

हो, भाइबहिनीलाई पनि लागेको होला कि यो वर्ष होली नखेलेर के भयो त ?   विश्वभर फैलिइरहेको कोरोना भाइरसबाट बच्नु नै ठूलो कुरो हो। सही कुरा, यस वर्ष होशियारी अपनाउन सके होली त बर्सेनि आइरहन्छ। काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा कक्षा ६ मा अध्ययनरत अभिनीत चौलागाईं पनि होलीका लागि तयारीमा थिए। उनी साथीभाइलाई लोलाले हान्दाको मजा सम्झँदै यस वर्ष पनि त्यस्तै गर्ने योजना बनाइरहेका छन्। मिल्ने साथी सबैबाट पैसा भेला पारेर तीन÷चार सयको लोला खेल्ने योजना रहेको बताउने उनी भन्छन्, ‘कोरोनाले चीन र अरू देशमा थुप्रै मान्छे मरेको खबर सुनेको छु त्यसैले यसपटक होली खेल्दिनँ, साथीभाइलाई पनि नखेल्ने सल्लाह दिन्छु।’

वास्तवमा पहिले पहिले होलीमा खेलिने रङ प्राकृतिक हुन्थे। अहिले कृत्रिम रङ प्रयोग गरिन्छ जसले छालामा विभिन्न रोग निम्त्याउँछ। पहिले पहँेलोका लागि केशर, रातोका लागि अबिर या लालगुलाल, सेतोका लागि चामलको पिठो, चन्दन आदि प्राकृतिक रङको चलन थियो। यस्तो रङ प्रयोग गरी विगतमा देवता पनि होली खेल्थे। धार्मिक मान्यताअनुसार त्रेता युगमा भगवान् राम जानकी चारै भाइ र चारै बहिनीसँगै कञ्चनवनमा होली खेलेका थिए। डा. बाँस्तोलाले पनि घरैमा होसियारीका साथ बिना रङ होली खेलेर मनाउनसम्म सकिने सुझाव दिएका छन्।

होली अर्थात् रङहरूको पर्व। अनि रमाइला नेपाली पर्वहरूमध्येको एक पनि। होली यसपालि काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा सोमबार र तराई क्षेत्रमा मंगलबार परेको छ। यसको एउटा विशेषता भनेकै बालबालिकादेखि वृद्धवृद्धासम्मले मनाउनु हो। होलीलाई वसन्त पर्व पनि भनेर व्याख्या गरिन्छ। किनकि होलीमा प्रकृतिको रङ नै झल्काउने गरी रङको प्रयोग गरिन्छ। पछिल्ला वर्ष होलीको नयाँ विशेषताका रूपमा ‘फेस पेन्टिङ’ गर्ने चलन देखिएको छ। तर, तिमीहरूलाई थाहा छ, चिकित्सकले यसबाट जोगिन सुझाव दिएका छन्। यसले पनि शारीरिक समस्या निम्त्याउने उनीहरूको भनाइ छ।

केही वर्षदेखि त होली पर्व झन् सबैको पर्व बन्न पुगेको छ। नेपाल आउने विदेशी पाहुना पनि होलीमा मजैले रमाउन थालेका छन्। वैमनश्य त्यागेर सद्भाव फैलाउने पर्वका रूपमा होलीलाई लिइने संस्कृतिविद्को भनाइ छ। त्यही भएर होली खेलिहाल्दा पनि कसैले कसैलाई होली खेल्न बलजफ्ती गर्ने वा नचाहनेलाई जबर्जस्ती रङ लगाउनेलाई प्रहरीले कारबाही गर्न थालेको छ। होलीमा रमाइलो त कतिसम्म गर्न थालिएको छ भने टोलटोलमा मात्रै नभएर कुनै विशेष स्थान भाडामा लिएर सामूहिक रूपमा होली मनाउने गरिन्छ। काठमाडौं उपत्यका र तराईतिर होलीमा सांगीतिक कार्यक्रम पनि गरिन्छ। व्यक्ति र संस्था मात्र होइन, विभिन्न कार्यालयले र सञ्चारमाध्यमले समेत होलीको आयोजना गर्ने गरेका छन्।

मिथिलाञ्चलमा होलीलाई निकै उत्साह, उमंग र उल्लासका साथ मनाइन्छ। किनकि होली ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महŒव बोकेको पर्व हो। त्रेता युगमा राम र सीताले खेलेको होलीको प्रभावकै कारण आजसम्म होली खेलिँदै आएको संस्कृति क्षेत्रका विज्ञ डा. रामदयाल राकेशको भनाइ छ। ‘बुरा नमानो होली’ भन्दै रङ दल्ने चलन छ। उनका अनुसार, राजदरबारमा राजा, रानी, राजकुमार, राजकुमारीले जनतालाई बोलाएर होली खेल्थे। ‘भविष्य पुराण’ मा होलीलाई ‘फाल्गुनोत्सव’ भनिएको छ भने महाकवि कालीदासले ‘ऋतु उत्सव’ भनेका छन्।

होली पहाडी क्षेत्रमा एक दिन र तराईमा एक दिन मनाइन्छ। तर, तिमीहरूलाई अनौठो लाग्न सक्छ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका राना थारू भने एक महिनासम्म होली मनाउँछन्। यो समुदायका लागि होली सबैभन्दा ठूलो पर्व हो। उनीहरूले होली एक महिना अघिदेखि मनाउने चलन पुर्खाैंदेखिको हो। पछिल्ला वर्ष भने यो प्रचलन कम छ। अझ रोचक कुरा त के छ भने, सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये अछामको होली रङबिनाको हुन्छ। परापूर्वकालदेखि नै होली मनाउँदै आएका अछामीले होलीलाई स्थानीय भाषामा ‘होरी’ भन्छन्। कारणवश दसैंतिहारमा घर आउन नपाउनेहरू पनि होलीका लागि घर फर्किन्छन्। होलीमा देउडा पनि गाउने चलन पश्चिमतिर छ। यसरी गाइने देउडा रामायणबाट सुरु हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.