महामारीका कुरा
सौगात बोलखे । महामारीका कुरा गर्दा विश्वभरमा कोरोना भाइरसको संक्रमणदर लगभग ८० हजारको आसपासमा छ। मृत्युदर दुई हजार सात सयको हाराहारीमा रहेको सञ्चारमाध्यमले जनाएका छन्। केही दिनअगाडि सिन्धुपाल्चोकको एकै गाउँका सैयौं बासिन्दा कोरोना भाइरसका कारण अस्पताल भर्ना भएका हुन् कि भनेर देशव्यापी त्रास फैलिएको थियो। बाजुरातर्फ पनि फ्लुका कारण जनसमाज त्रासको माहोलमा थियो।
नेपालजस्तो देशमा कोरोना भाइरसको महामारी फैलिए अवस्था कस्तो होला ? सोच्नसमेत डर लाग्छ। यसैले महामारी र भाइरससम्बन्धी केही खोज–अनुसन्धान गर्ने प्रेरणा दियो। जीव विज्ञानकै विद्यार्थी भएकाले पनि यसबारे केही लेख्ने जमर्को गरेँ।
स्नातक चौथो वर्षमा जीवाणु तथा महामारीसम्बन्धी विषयवस्तु पढ्दा खासै रुचि जागेको थिएन। कोरोनाको त्रास फैलिएपछि मलाई यसबारे अध्ययन गर्न मन लाग्यो। तर, यो सानो जीवाणुले संसार हल्लाउने ताकत देखाइदियो। साँच्चै, विश्व समुदायको राजनीतिक समीकरण बदलिदिने प्रभावशाली तŒव पो रहेछ, यो नदेखिने जीवाणु।
महामारीकै कुरा गर्ने हो भने पनि एचआईभी एड्सका कारण सन् १९८१ बाट आजसम्म करिब तीन करोड ६० लाख मानिसको मृत्यु भइसकेको छ। सन् १९७६ मा सर्वप्रथम कंगोमा एचआईभी एड्स पत्ता लागेको थियो। सन् १९८१ मा एड्स पहिलो पटक पत्ता लाग्दा डाक्टरहरू नै अचम्मित भएका थिए। किनकि समलिंगी पाँच पुरुषको फोक्सोमा एक किसिमको फंगस वृद्धि भएको थियो। यसका कारण प्रभावितलाई श्वास फेर्न असजिलो हुनुका साथै शरीरको आत्मरक्षक ‘टी सेल’को संख्या निकै कम थियो।
अर्को डाक्टरले बिरामीको छालामा क्यान्सर वृद्धि भएको पाए। साथै रगतमा हुने ‘टी सेल’को मात्रामा पनि कमी पाए। उक्त क्यान्सर साढे दुई वर्षमा २६ समलिंगी पुरुषसम्म पुग्यो। पछि बिरामीको रगतको उचित जाँच गर्दा यस्तो संक्रमण खासमा ‘रेट्रो भाइरस’ले बढाएको पाइयो। सन् १९१८ मा ‘फ्लु महामारी’ले महामारीको भयानक रूप लियो। विश्वयुद्धपछि उत्पन्न भएको यो फ्लुका कारण विश्वभरि करिब ५० करोड मानिसलाई संक्रमित बनाएको थियो भने मृत्यु हुनेको संख्या पाँचदेखि १० करोड पुगेको थियो।
अन्य इन्फ्लुएन्जाका कारण बढी मात्रामा वृद्ध तथा बच्चाहरूको मृत्यु भएको थियो। सन् १९१८ को ‘स्पेनिस फ्लु’का कारण मृत्यु हुनेमा बढी युवा नै थिए। उक्त फ्लुको सुरुआतलाई लिएर विश्व समुदाय नै चकित छ। यसको सुरुआत कोही चीन र कोही मिलिटरी बेस क्याम्पबाट भएको बताउँछन्। ‘स्पेनिस फ्लु’ युद्ध तथा विश्वव्यापी व्यापारका कारण विश्वभरि फैलियो र चर्चित भयो। स्पेनले युद्धमा मृत्यु भएका सेनाहरूबारे जानकारी सार्वजनिक ग¥यो। त्यसैले यो महामारीलाई ‘स्पेनिस महामारी’ भनियो।
सन् १८५२ देखि १८६० सम्म ताण्डव मच्चाउने अर्को महामारी हो, ‘कोलेरा महामारी’। कोलेरा अर्थात् हैजाका कारण १० लाखभन्दा बढी मानिसको ज्यान गएको थियो। भारतको गंगा तटीय छेत्रबाट सुरु भएको उक्त महामारी एसिया, युरोप, उत्तर अमेरिका तथा अफ्रिकासम्म फैलिएको थियो। साथै बेलायतका जोन स्नो नामका वैज्ञानिकले कोलेरा दूषित पानीबाट फैलने पनि पत्ता लगाएका थिए। दुर्भाग्य, कारण पत्ता लागे पनि सोही वर्ष बेलायतमा लगभग २३ हजार मानिसको कोलेराकै कारण मृत्यु भयो।
महामारीको सबैभन्दा भयावह रूप १३औं शताब्दीमा भएको थियो। त्यति बेला ‘प्लेग’ रोगका कारण सरदरमा सातदेखि बीस करोड मानिसको मृत्यु भएको थियो। सन् १३४६ देखि १३५३ सम्म उक्त महामारीले युरोप, अफ्रिका तथा एसियामा धनजनको क्षति भएको थियो। मुसा र जहाजबाट विभिन्न देश घुम्ने यात्रुहरूबाट यो महामारी फैलिएको थियो। मुसामा बस्ने उडुस, उपियाँमा रहेको रहस्यमय ब्याक्टेरियाको सिकारमा परी तीन महाद्वीप ध्वस्त भएका थिए। मुसा प्रजातिमा केही किर्नाका समूहबाट फैलिन्छ।
अन्तर्राष्ट्रिय व्यापार बढेकाले जीवाणुको प्रसारण सजिलै एक ठाउँबाट अर्को ठाउँमा भयो। यो एसियाबाट आएको हुनसक्ने भनिए पनि सर्वप्रथम इजिप्टबाट सुरु भयो र युरोपभरि फैलियो। बढ्दो सहरीकरण र फोहोरी जीवन पद्धतिले रोग फैलिन सजिलो भयो। यो महामारीलाई ‘ब्ल्याक डेथ’ भनियो। त्यसपछि १८औं शताब्दीमा वैज्ञानिक सिवासाबुरो र एर्सिनले ‘प्लेग’को खास कारण पत्ता लगाए। पछि फैलिनबाट रोकियो।
त्यसैले यस्ता महामारी कुनै नयाँ विषय भने पक्कै होइनन्। अहिले चीनमा उत्पन्न भएर विश्वलाई त्रासमय बनाएको कोरोना परिवारभित्र पर्ने कोभिड–१९ भाइरस बुझ्न वैज्ञानिकहरूलाई धौ धौ परेको छ। तर, कोरोना भाइरस भर्खरै आएको भाइरस भने होइन। यसका फरक प्रकृतिहरू पहिले पनि देखिएका थिए। मुख्यतः श्वासनलीमा असर गर्ने यस्तै भाइरस सार्स सन् २००३ मा देखिएको थियो। सार्स अर्था सिभर एक्युट रेस्पिरेटरी सिन्ड्रोमलाई सर्वप्रथम पहिचान गर्ने वैज्ञानिक कार्लो उर्बानी हुन्। उपचारको सिलसिलामा स्वयं संक्रमित भएर उनको मृत्यु भएको थियो।
ग्वान्जावका प्राध्यापक लेउ सन् २००३ मा एक वैवाहिक कार्यक्रमका लागि हङकङ प्रान्तमा पुगेका थिए। पेसाले डाक्टर लेउले ग्वान्जाव प्रान्तका तीन जना बिरामीको उपचार गर्दा नयाँ स्ट्रेनको भाइरस भेटेका थिए। त्यसको गम्भीरता बारेको जानकारी उनी आफू स्वयंलाई पनि थिएन। यात्रामा रहेका उनलाई खोकी र रुघा लागेको थियो। उनी मेट्रोपोलिटन होटेलमा बस्न पुगे। केही दिनमा लेउ बसेका छेउको कोठामा बस्ने अन्य मानिस पनि बिरामी बने। उनमा सुक्खा खोकीले जरा गाड्यो। यसरी सार्सका बिरामी बढ्दै जान थाले। उपचारका लागि उनी अस्पताल पुगे। त्यति बेला उर्बानीले उनको उपचार गरे। दुर्भाग्य ’ बिरामी त बाँचेनन् बाँचेनन्, उनको उपचार गर्ने उर्बानीसहित अन्य चार नर्स पनि बाँच्न सकेनन्।
सात महिनामा सार्स नियन्त्रण सम्भव भयो। तर, त्यति बेलासम्म संसारभरि आठ हजारभन्दा बढी संक्रमितमध्ये ३२ देशका आठ सयभन्दा बढीको मृत्यु भएको थियो। मानिसबाट मानिसमा सर्न सक्ने भए पनि कति सजिलै र कति लामो समय सम्ममा यो भाइरस सर्न सक्छ भन्ने तथ्यांक भने यकिन भएको छैन। वन्यजन्तुको व्यापारबाट पनि फैलिएको हुन सक्ने विशेषज्ञ बताउँछन्।
जनावरबाट सुरु भएका यी रोगहरूलाई ‘जुनोटिक’ रोग भनिन्छ। जंगली जनावरलाई काटमार गर्ने, मासु संकलन तथा प्रशोधन गर्ने, बिक्री तथा वितरणमा सम्मिलित ४० प्रतिशतभन्दा बढी व्यक्तिमा पहिलो संक्रमण देखिएको हो। जंगली जनावरलाई अप्राकृतिक अवस्थामा स्थानान्तरण गर्दा तिनका जीवाणु पनि परिवर्तित भएर मानिसलाई असर गर्ने किसिमका हुन सक्ने विज्ञहरू बताउँछन्। कोरोना आफैंमा भाइरसको परिवार हो, जसअन्तर्गत विभिन्न जातका भाइरसहरू पर्छन्। यसले मानिसमा पनि रोगहरू फैलाउँछन्। जीवजन्तुमा कोरोना भाइरसको उत्पत्ति र वुहानबाट मानिसमा फैलिएको कोरोना भाइरसको समूहको अध्ययन गर्दा मुख्यतः चमेराहरूबाट कोरोना भाइरस सरेको हुनसक्ने वैज्ञानिकहरू अनुमान गर्छन्।
हाल वुहानबाट फैलिरहेको कोरोना भाइरस यत्तिकै विलीन हुन्छ या यसले लाखौंलाई असर गर्छ भन्नेमा वैज्ञानिकहरू पनि विश्वस्त हुन सकेका छैनन्। अहिलेसम्म यसविरुद्धको कुनै खोप वा औषधि बनिसकेको छैन। त्यसैले यस्ता महामारी फैलिनबाट रोक्न हामी आफू नै सजग हुनुपर्छ। सरसफाइमा विशेष ध्यान दिनुपर्छ।