स्वतन्त्रताको प्रतीक

स्वतन्त्रताको प्रतीक

सात सालदेखि आजसम्म भएका राजनीतिक परिवर्तनले महिला स्वतन्त्रता दिए पनि आम ग्रामीण क्षेत्रका महिलाले त्यो उपभोग गर्न पाएसकेका छैनन्।


महिला स्वतन्त्रताको इतिहास अध्ययन गर्दा त्यसको प्रेरणा स्रोत सन् १८५७ मा अमेरिकाको गार्मेन्ट उद्योगमा कार्यरत महिला मजदुरको आन्दोलन र त्यसविरुद्ध भएको दमनको स्मरणस्वरूप मार्च ८ मा मनाइने महिला दिवसलाई मानिएको छ। तत्कालीन अवस्थामा मजदुरी गर्ने महिलालाई पुरुषको तुलनामा पारि श्रमिक पनि थोरै दिइन्थ्यो। अन्य कुनै सुविधा पनि नदिइएकाले महिलाले आन्दोलन गरेको भनाइ छ। भनिन्छ– थेरेसा मारकेल नाम गरेकी अमेरिकाकी समाजवादी दलकी कार्यकर्ताको सुझावमा यो दिवस मनाउन सुरु गरिएको थियो। तर सन्१८५७ को आन्दोलन जसको जिकिर यस रूपमा भएपनि यसबारे विवाद छ।

कतिपय शोधकर्ताको के पनि भनाइ रहेको छ भने त्यस समयमा अमेरिकामा महिला मजदुरको कुनै आन्दोलन भएको थिएन। बरु २८ फेब्रुअरी १९०९ मा अमेरिकाको समाजवादी दलका महिलाले पहिलोपटक नारी दिवस न्युयोर्कमा मनाएका थिए। त्यसबखत त्यस सभामा कमसेकम १५ हजार महिलाको उपस्थिति थियो। यो सभा वास्तवमा सन्१९०८ को महिला मजदुरले गरेको अर्थात् गत वर्षको आन्दोलनको स्मरणस्वरूप थियो। त्यस आन्दोलनमा महिला मजदुरहरूले अमेरिकामा काम गरेवापत न्यून ज्याला मजदुरी पाउने, काम धैरै समयसम्म गर्नुपर्ने, अन्य कुनै सुविधा नदिइने, महिलाले पुरुषसरह मतदानको अधिकारबाट पनि वञ्चित गरिएको आदि कारणलाई लिएर संघर्ष गरेका थिए।

जर्मनीकी क्रान्तिकारी नेत्री क्लारा जेटकिनले सन्१९१० मा अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन हुँदा ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउन प्रस्ताव राखेकी थिइन्। सो पारित भएपछि त्यसयता संसारभर अन्तर्राष्ट्रिय महिला कामदारको दिवसका रूपमा मनाउन सुरु गरिएको हो। सुरुसुरुमा प्रत्येक मुलुकमा फरक–फरक मितिका अन्तर्राष्ट्रिय नारी दिवस मनाइने गरिन्थ्यो। कुनै मुलुकमा अन्तर्राष्ट्रिय महिला सम्मेलन पहिलो पटक गरेको मितिलाई लिएर र कुनै मुलुकमा महिलाले मतदानको

अधिकार पाएको मितिलाई नारी दिवस मान्ने गरेकोमा अब सबैले एउटै मितिलाई नारी दिवसका रूपमा मान्न थालेका छन्।

अर्थात् संसारभर आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउने गरिएको छ। प्रायः सबै मुलुकमा यो दिन बिदा दिने प्रचलन पनि चलेको छ। आठ मार्चलाई संसारभर विविध दृष्टिकोण राखेर मनाइने गरेको छ। कुनै मुलुकमा यो दिनलाई नारी स्वतन्त्रताको प्रतीकका रूपमा मानिन्छ भने कहीं नारी चेतनाको दिवस पनि भनिन्छ। त्यस्तै लैंगिक विभेदविरुद्धको दिवस र महिला समानताको दिवस पनि भन्ने गरिएको छ।

मतदानको अधिकार

महिलाको आन्दोलन र संघर्ष वास्तवमा पुरुषलाई मतदानको अधिकार दिइएको तर महिलाका हकमा वञ्चित गरिएकाले पनि युरोप–अमरिकामा लामो समयसम्म चलेको थियो। यसलाई सफरेजको आन्दोलन पनि भनिन्छ। यसरी चलेको आन्दोलनपछि नै विभिन्न मुलुकका महिलाले मतदानको अधिकार क्रमशः पाउँदै गए। न्युजिल्यान्डमा महिलाले लामो संघर्ष गरेपछि मात्र सन्१८९३ मा मतदान गर्ने अधिकार पाएका थिए। कठोर संघर्ष गरेको कारण फिनल्यान्डमा १९०६ मा, डेनमार्कमा १९१५ मा, आइसल्यान्डमा १९१५ मा, रूसमा १९१७ मा, जर्मनीमा १९१८ मा, संयुक्त राज्य अमेरिकामा १९२० मा, ब्राजिलमा १९३२ मा, टर्कीमा १९३४ मा, फ्रान्समा १९४४ मा, जपानमा १९४५ मा, ग्रिसमा १९५२ मा, चीनमा १९५३ मा, सोही वर्ष मेक्सिको तथा क्यानाडामा १९६० मा, स्विटजरल्यान्डमा १९७१ मा महिलालाई मतदानको अधिकार प्रदान गरिएको हो। कतिपय पश्चिमी मुलुकमा त धेरै समयसम्म गोरा महिलाले मतदानका अधिकार पाए पनि काला र आदिवासी महिलाले भने वर्षौंवर्षसम्म मतदानको अधिकार पाएका थिएनन्। अन्ततः हालै साउदी अरेबिया जहाँ महिलालाई मोटर चलाउने अधिकार पनि थिएन। त्यहाँ सन्२०१५ मा त्यहाँका महिला पनि मतदानको अधिकार पाउन सफल भए।

संयुक्त राष्ट्रसंघ र महिला दिवस

संयुक्त राष्ट्रसंघले ८ मार्च सन्१९७५ देखि नै अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा घोषणा गरी पूर्णतः मान्यता दिँदै आएको छ। सदस्य राष्ट्रहरूलाई समेत मनाउन अनुरोध गरेअनुसार सबैजसो राष्ट्रहरूमा यो दिवस मनाउन थालिएको छ। सन्१९९६ देखि प्रत्येक वर्ष एउटा थिमको घोषणा गरी त्यसैका साथ मनाउन सुरु गरिएको थियो। राष्ट्रसंघले घोषणा गरेको पहिलोपटकको ‘थिम’ थियो, ‘भूतकाललाई संस्मरण गर्ने र भविष्यबारे योजना बनाउने।’ सन्२०२० का लागि दिएको थिम छ, ‘प्रत्येक एकको समानताका लागि।’ यसले वास्तवमा सामुदायिक व्यक्तिवादको अर्थात् प्रत्येक व्यक्ति एउटा समूहको एक अंश हो भन्ने अर्थ राख्छ। यसरी एक व्यक्तिको आनीबानी, क्रियाकलाप र स्वभावले पूरै समूहलाई प्रभाव पार्न सक्छ भन्ने भनाइ हो।

प्रत्येक व्यक्तिले आफ्नो शैक्षिक, आर्थिक र सामाजिकसमेतका क्षेत्रमा व्यक्तिगत क्षमता बढाउने काम गर्न सकेमा विस्तारै पूरै समूहमा त्यस्ता व्यक्तिहरूको संख्यामा क्रमशः वृद्धि हुन जानेछ। सिंगो समुदाय संगठित र क्षमतावान्बन्न सक्नेछ। यसखाले परिवर्तनले स्वतः महिला समाजको विकास पुरुष वर्ग समान हुन सम्भव छ। अन्तर्राष्ट्रिय नारी दिवस मनाउने वास्तविक कारण महिलाको सामाजिक, आर्थिक, राजनीतिकसहित प्रत्येक क्षेत्रमा केही न केही लाभ प्राप्तिको प्रयाससम्म हो। यसबाट पुरुष र महिलाबीचको विकास असमानताको दूरी घट्न सकोस् र रोजगार, आय, शिक्षा आदिमा समानताका अतिरिक्त महिला मजदुरको कामको समयसीमामा पनि पुरुषसरह बराबरी हुन सम्भव होस्। सन्२०२० को अन्तर्राष्ट्रिय नारी दिवसमा भरसक महिलालाई आफ्नो राष्ट्रमा मनाइने त्यस समारोहमा भेला हुन सम्भव भएसम्म सम्मिलित भई मनाउने तर अवसर नपाएमा दिवसको उत्साह र सम्मानस्वरूप न्यायको प्रतीकस्वरूप ८ मार्चमा वैजनी, प्याजी वा कलेजी रङको पहिरन लगाई एकता जाहेर गर्न आह्वान गरिएको समेत छ।

नेपालमा महिला स्वतन्त्रता

नेपाल पनि राष्ट्रसंघको सदस्य राष्ट्र हो। नेपालले राष्ट्र संघअन्तरगत पारित धेरै सन्धि–सम्झौतामा हस्ताक्षर पनि गरेको छ। महिलासम्बन्धी सन्धिहरू, महासन्धि र सम्झौतामा पनि हस्ताक्षर गर्नुका अतिरिक्त सन्१९७५ देखिका महिलासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिँदै आएको छ। यसका अतिरिक्त नेपालले प्रत्येक वर्ष नारी दिवस मनाउँदै आएको पनि हो। त्यसो त नेपालीको संस्कृतिलाई हेर्ने हो भने अधिक हिन्दु बसोवास रहेकोमा हिन्दुहरूको संस्कृतिले प्रभावित पनि पारेको छ। हिन्दुहरूमा एउटा संस्कार छ, त्यो हो– कुमारी छोरीहरूको देवीदेवतासरह पूजाआजा गरी सम्मान गरिने प्रचलन।

अर्को कुरा तेत्तीस कोटी देवता जति पूजनीय छन््, त्यति नै देवीहरू पनि यस धर्ममा पूजनीय छन्। यस धर्मले महिलाको सिद्धान्ततः अति सम्मानको जिकिर गर्छ। महाभारत र रामायणकालमा आमा र पत्नी प्रेमिकाको नामबाट सन्तान र पतिको र प्रेमिकाको नाम लिने चलन थियो। जस्तो– पाण्डवहरूलाई कुन्तीपुत्र, कौरवलाई गान्धारीपुत्र, सीताराम, राधाकृष्ण। रामायण र महाभारतकाल तथा सिंगो आर्यमा महिला सम्मानित थिए। यिनै कालमा शास्त्रास्त्र गर्ने विदुषीहरूको प्रशस्त जिकिर आउँछ गार्गी, मैत्रेयी, घोषा, लोपमुद्रा कौससी टकी, वाराप्रदा आदि। भनिन्छ– हिन्दु समाजमा महिलाप्रतिको संकीर्णता जस्तो– बालविवाह, अनमेल विवाह, बहुविवाह, कमलरी, झुमा, देउकी, बँधिनी, कमारी, ल्याइते,नगरबधू, सतीप्रथा यी सबै कुराको सृष्टि र विभेद समयको परिवर्तनका साथसाथै समाजमा आएका हुन्।

पुरुष वर्गको हैकम र महिलामा भएको शारीरिक कमजोरीको परिणामस्वरूप विकृतिमा वृद्धि हुँदै गएका हुन्। हिन्दु अभिभावकमा महिलालाई कमजोर वर्ग हुन्भनी बढी संरक्षित र सुरक्षित बनाउने सोचको विकास संसारमा जातीय आधारमा र भूमि कब्जाका निम्ति बराबर भइरहने युद्धका कारण पनि भएको हो। आर्यहरूले पनि विस्तारै आफूले केही छुट दिएको महिला स्वतन्त्रताको संस्कृतिमै परिवर्तन गरी छोरीहरूको बालविवाह गराउन थाले। महिलालाई पर्दाभित्र राखिने संस्कृतिको विकास पनि त्यहींबाट सुरु भयो। बहुपत्नी राख्ने कारण पनि युद्ध बन्यो। किनकि युवा पुरुषहरू जति युद्धमा मरे, महिलाको बढी संख्या हुन पुगेको कारण र पुरुष संख्यामा ह्रास हुँदा धेरै पत्नीसँग विवाह गर्ने चलन चलाए। यिनै कारण नेपालमा ६०–७० वर्षपूर्व सात वर्षकी कन्याको विवाह हुने कानुन मान्य थियो। नाबालिकाको विवाह वृद्धसँग पनि जायज मानिन्थ्यो। महिलाको श्रेणी विवाहिते र ल्याइतेमा विभक्त थिए। यसअनुसार त्यसबखत विवाहिताले पाउने अंश भागको आधा मात्र ल्याइतेले अंशमा दाबी गर्न पाउने विभेदपूर्ण कानुन बनेका पनि थिए।

नेपाल, भारतलगायतका एसियाली मुलुकमा महिला स्वतन्त्रता प्राप्तिनिम्ति पश्चिमा मुलुकका महिलाले सरह आन्दोलन गरेको नभए पनि मुलुकको स्वाधीनतानिम्ति भने पुरुषसँगसँगै काँधमा काँध मिलाई निरंकुशताविरुद्ध संघर्ष गरेका छन्।

युरोप तथा अमेरिकामा जुन बखत महिलाले विरोधका साथ आन्दोलन गरी ‘हिस्ट्री’ लाई पुरुषको मात्र संज्ञा दिएको र महिलाको छुट्टै इतिहास ‘हरहिष्ट्री’ नामकरण गर्न चाहेका थिए। इङल्यान्डमा इमली डेभिलसन भन्ने महिलाले महिला आन्दोलनको प्रतीकस्वरूप आफूले दौडाएको रेस कोर्सको घोडाबाट हामफालेर मृत्युवरण गरेकी थिइन्। त्यसबेला नेपाल–भारत अथवा एसिया–अफ्रिका आदि महादेशका मुलुकमा महिला आन्दोलनको कुरा त के, चर्चा पनि थिएन। यद्यपि यी क्षेत्रमा महिलाले रानीका रूपमा शासन भने गरेका पनि हुन्।

भारतमा झाँसीकी महारानी, रजिया सुल्तान शासक नै हुन्। नेपालमा पनि पतिको देहावसान र नाबालक युवराज हुँदाको अवस्था नायब महारानी भएर रानीहरूले शासन गरेको उदाहरण छन्। सामाजिक क्षेत्रमा पनि अवसर पाएकाले जिम्दारकी जिम्दार्नी, मुखियाकी मुखिनीहरूले हैकम चलाउँथे। तराईमा कतिपय जिम्दार्नीहरूले घोडचडी गरी जिम्दारीमा घुम्ने र अराउपराउ गरी पुरुषको शेषपछि जिम्दारी चलाएकै हुन्। अझ पहाडमा जिम्वालको सन्तान छोरी मात्र भएमा राई, लिम्बू जातिमा छोरीले पिताको शेषपछि जिम्वालको दामकाम गरेको उदाहरण छ।

पुराना समयमा पनि महिलाहरू सशक्त थिए। तर थोर संख्यामा थिए र पुरुषले जुन परिवारमा छुट दिएको वा महिलाले बाध्यतावश बाहिर निस्कनुपर्ने अवस्था भएकोमा काम गरेका थिए। नालापानी युद्धमा नेपाली महिला अंग्रेजसँग लडेकै हुन्। पुरानो समयमा पनि केहीमा महिला स्वतन्त्रताबारेमा चेतना पनि थियो। योगमाया नेपालमा महिला स्वतन्त्रताकै प्रतीक हुन्। २००७ सालको क्रान्तिपूर्व धेरै महिलाले मुलुकमा राजनीतिक परिवर्तन ल्याउनमा योगदान रहेको छ। नेपालमा महिलालाई निर्वाचनमा उम्मेदवारका रूपमा भाग लिन पाउने अधिकारको स्वतन्त्रता पनि २००७ सालकै आन्दोलनले प्रदान गरेको हो।

नेपालमा लैगिक समानताका मामलामा २०४६ को आन्दोलनपछि ठूलै परिवर्तन कानुनमा ल्याएको मान्नुपर्छ। तथापि यतिखेर पनि व्यवहारमा सहरी महिलाले उच्च शिक्षाको अवसर पाए पनि आम ग्रामीण क्षेत्रका महिलाको हैसियतमा भने त्यति भिन्नता आइसकेको छैन। नेपाल, भारतलगायतका एसियाली मुलुकमा महिला स्वतन्त्रता प्राप्तिनिम्ति पश्चिमा मुलुकका महिलाले सरह आन्दोलन गरेको नभए पनि मुलुकको स्वाधीनतानिम्ति भने पुरुषसँगसँगै काँधमा काँध मिलाई निरंकुशताविरुद्ध संघर्ष गरेका छन्। जस्तो– भारतमा सन्१९४७ मा स्वतन्त्रता संग्रामको अन्त्य हुनेबित्तिकै महिलाले मतदानको अधिकार पाएका थिए। त्यहाँ त्यसनिम्ति छुट्टै महिला आन्दोलन गर्नुपरेन। नेपालमा पनि त्यही भयो। सन्१९५० मा जसै आन्दोलन सकिएर निरंकुश राणाशासनबाट मुलुक उन्मुक्त भएपछि नै १९५० मा नेपाली महिला मतदानको अधिकार प्राप्त गर्न सफल भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.