के-के भएका थिए इतिहासमा यो साता ?

के-के भएका थिए इतिहासमा यो साता ?

मार्च १२

सन् १९३० को मार्च १२ मा भारतमा महात्मा गान्धीको नेतृत्वमा बेलायतले आफ्नो भारतीय उपनिवेशमा लागू हुने गरी ल्याएको नुनसम्बन्धी ऐनको विरोध भएको थियो। विरोधका क्रममा गान्धीले करिब दुई सय माइल पैदल हिँडेका थिए। बेलायतले ल्याएको ऐनमा भारतीयले समुद्रबाट नुन संकलन गर्न नपाउने उल्लेख थियो। भारतीयले आफैँ नुन संकलन गर्न नपाउने नियम ल्याउनुको अर्थ बेलायतले संकलन गरेको नुन भारतीयले खरिद गर्नुपर्छ भन्ने थियो। यसको विरोधमा गान्धीले गरेको शान्तिपूर्ण पदयात्रामा लाखौँ भारतीय सहभागी भए। र्‍यालीमा धरपकड हुँदा गान्धीसहित करिब ६० हजार भारतीय पक्राउ परेका थिए। सोही घटनापछि भारतमा स्वतन्त्रता आन्दोलन तीव्र बनेको थियो।

मार्च १३

सन् १९४२ को मार्च १३ मा अमेरिकी सेनाले कुकुरलाई युद्धमा सक्रिय गराउने योजनाका साथ तालिम दिन सुरु गरेको थियो। युद्धमा मानिसलाई गर्न कठिन हुने कतिपय काम कुकुरमार्फत गराउने योजनाका साथ अमेरिकी सेनाले कुकुरलाई तालिम दिन सुरु गरेको थियो। जर्मनीसँगको युद्धमा अमेरिकी सेनाले जर्मनहरूको कब्जामा रहेको ठाउँबाट लिखित सन्देश हासिल गर्न ठूलो कठिनाइ बेहोरेको थियो। यस्तोमा कुकुरलाई लिखित सन्देश आदानप्रदान गर्ने तालिम दिइएको थियो। साथै, दुश्मन आफूहरूको क्षेत्रमा प्रवेश गरेको भेउ पाए भुकेर यसको जानकारी दिन आवश्यक पर्ने प्रशिक्षणसमेत कुकुरहरूलाई दिइएको थियो। 

मार्च १४
सन् १९३८ को मार्च १४ मा इटालीले अन्तर्राष्ट्रिय मामिलामा जर्मनीलाई आफ्नो समर्थन रहेको जनाएको थियो। त्यतिबेला जर्मनीका शासक हिटलर थिए भने इटालीका शासक थिए, मुसोलिनी। यी दुई मित्र थिए। उनीहरूको विचार पनि समान थियो। पहिलो विश्वयुद्ध टुंग्याउन गरिएको भर्साइलको सन्धिले जर्मनीलाई निश्शस्त्र गरेको र निश्शस्त्र जर्मनीलाई वरिपरिबाट घेराबन्दीमा पारेर अझ अप्ठ्यारो पार्ने काम पश्चिम युरोपका मुलुकले गरेको भन्दै यसविरुद्ध जर्मनीले उठाएको आवाजमा आफ्नो समर्थन रहेको मुसोलिनीले बताएका थिए। पछि दोस्रो विश्वयुद्ध सुरु हुँदा पनि इटाली जर्मनीसँगै उभियो।

मार्च १५
सन् १९१६ को मार्च १५ मा अमेरिकाले मेक्सिकोमा आफ्ना सैनिक पठाएको थियो। त्यतिबेला अमेरिकामा वुड्रो विल्सन राष्ट्रपति थिए। मेक्सिकोमा पान्चो भिल्ला नाम गरेका क्रान्तिकारीले त्यहाँका शासकको विरोधमा क्रान्तिको नेतृत्व गरिरहेका थिए। छिमेकी मुलुकमा उत्पात मच्चाएको भन्दै पान्चोलाई अमेरिकाले निगरानी गरिरहेको थियो। त्यत्तिकैमा उनको समूहले मेक्सिकोमा गरेको सैन्य कारबाहीमा परी ३० जनाभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएपछि पान्चोलाई मार्न भनेर अमेरिकाले हजारौँ सैनिक मेक्सिकोतर्फ पठाएको थियो। यद्यपि, पान्चोलाई मार्न उनीहरू असफल भएका थिए।

मार्च १६
सन् १९३५ को मार्च १६ मा जर्मनीले पहिलो विश्वयुद्ध समापन गर्ने गरी भएको भर्साइलको सन्धिलाई विधिवत् रूपमै उल्लंघन गरेको थियो। भर्साइलको सन्धिले जर्मनीलाई निश्शस्त्र गर्ने र उसको सैन्य आकांक्षामा रोक लगाउन जर्मनीका आम नागरिकलाई अनिवार्य सैन्य सेवामा लगाउन नमिल्ने व्यवस्था गरेको थियो। अप्ठ्यारोमा परेको बेला जर्मनीमाथि लादिएको त्यस्तो व्यवस्था आफूहरूलाई अमान्य रहेको भन्दै जर्मन चान्सलर एडोल्फ हिटलरले मार्च १६ का दिन दुइटा महत्त्वपूर्ण कदम चाले। पहिलो, उनले सबै जर्मन नागरिकलाई राष्ट्रले अनिवार्य सैन्य सेवामा लगाउन सक्ने नयाँ नियम बनाए। साथै, जर्मन सेनालाई सबल बनाउने घोषणासमेत गरे। 

मार्च १७
सन् १९६६ को मार्च १७ मा अमेरिकाले भूमध्यसागरमा झरेर हराएको आफ्नो एउटा हाइड्रोजन बम सकुशल अवस्थामा फेला पारेको थियो। त्यसको ठीक दुई महिनाअघि अमेरिकी वायुसेनाको जहाजमा रहेको सो हाइड्रोजन बम भूमध्यसागरमा खसेको थियो। अमेरिकी वायुसेनाको सो विमान उडिरहेका बेला ट्यांकरसहितको अर्को विमानले आकाशमै वायुसेनाको विमानमा इन्धन भरेको थियो। इन्धन भर्ने बेलामा वायुसेनाको विमान र ट्यांकर ठोकिएपछि दुवै विमान क्षतिग्रस्त भएका थिए। वायुसेनाको विमानमा रहेका चार वटा हाइड्रोजन बममध्ये तीन वटा जमिनमा खसेका थिए भने एउटा भूमध्यसागरमा फसेको थियो। भूमध्यसागरमा फसेको सोही बम अमेरिकी सेनाले फेला पारेको थियो। 

मार्च १८
सन् १९६५ को मार्च १८ मा अन्तरिक्षमा पहिलो पटक मानिस हिँड्न सफल भएको थियो। अन्तरिक्षसम्बन्धी परियोजनाअन्तर्गत सोभियत संघले अन्तरिक्षतर्फ यान पठाएको थियो। यान अन्तरिक्षमा पुगेपछि यानमा रहेका सोभियत सेनाका लेफ्टिनेन्ट कर्नेल एलेक्सी लियोनोभ यानबाट बाहिर निस्किएर केही बेर अन्तरिक्षमा पैदल हिँड्न सफल भएका थिए। त्यसअघि अन्तरिक्षमा मानव पाइला परेको थिएन। त्यस क्रममा उनले अन्तरिक्षका केही तस्बिरसमेत खिचेका थिए। सोभियत संघको प्रतिद्वन्द्वी मुलुक अमेरिकाले अन्तरिक्षमा पहिलो पटक चालकसहितको यान पठाउनुभन्दा ठीक एक दिनअघि अन्तरिक्षमा आफ्ना नागरिक ओरालेर सोभियत संघले अन्तरिक्षसम्बन्धी अध्ययनमा अमेरिकालाई उछिनेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.