म्याग्दीमा चट्याङ लागेर दुईको मृत्यु
बेनी : म्याग्दीको अन्नपूर्ण गाउपालिका-६ खिवाङमा गएराति चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। चट्याङ लागेर २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो।
राति ९ बजे चट्याङ् लागेर घाइते भएका उनीहरुलाई बिहान ३.२० मा बेनी अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए। शव परीक्षणका लागि बेनी अस्पतालका शव गृहमा राखिएको छ। मृतक पुन र गर्बुजा छिमेकी हुन्।
पहाडी बस्तीमा हिमपात
वर्षासँगै म्याग्दीका उच्च पहाडी बस्तीमा हिमपात भएको छ। धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मलम्पार, रघुगंगाको कुइनेमंगले, मंगलाको टोड्के, अन्नपूर्णको राम्चे, नागी, घोडेपानी, शिख, नारच्याङ लगायतका बस्तीमा हिमपात भएको हो।
दुई/तीन फिट बाक्लो हिउँ जमेको स्थानीयबासीले बताएका छन्। यो वर्षको मंसिर यता ९ पटक भएको हिमपातले जनजिवनका साथै विकास निर्माणको कामलाई समेत प्रभावित बनाएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए।
अन्नपूर्ण गाउँपालिका–७ स्थित टिकोट माविका प्रअ प्रदिप पुनले धेरै वर्षपछि चैत महिनामा हिमपात भएको बताए। बेमौसमी हिमपातले बर्खे र हिउँदे बालीलाई असर पुगेको कृषकले बताएका छन्।
हिमपातका कारण अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेड तथा रघुगंगा गाउँपालिकाको ३७.५ मेगावाट क्षमताको कुइनेमंगले रघुगंगा जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको प्रर्वद्धकले बताएका छन्।