गाउँलेकै सक्रियताले रोकिन थाल्यो बालविवाह

गाउँलेकै सक्रियताले रोकिन थाल्यो बालविवाह

राजविराज : शुक्रबार साँझ सिडिओ सुनिल खनालको मोबाइलमा घण्टी बज्यो। फोन आएलगत्तै सिडिओ खनालले इन्स्पेक्टर बाबुराम कार्कीलाई हुन लागेको बालविवाह रोक्न निर्देशन दिए। जिल्लामा एसपी र डिएसपी थिएनन्। सिडिओको निर्देशनपछि इन्स्पेक्टर कार्कीले अन्य प्रहरीलाई बालविवाह रोक्न आग्रह गरे र आफू अवस्थाको बारेमा जानकारी लिन थाले। 

    
प्रहरी चौकी बेल्हीको टोली सप्तरीको बलान बिहुल गाउँपालिका–३ महुवास्थित विवाहस्थल पुगी बालविवाह गर्न नपाइने भन्दै विवाह रोक्यो र फर्कियो। प्रहरी गएपछि पुनः विवाहको सम्भावना थियो। प्रहरी, प्रशासन र अधिकारकर्मीलाई सूचना दिने गाउँलेहरू निगरानी गरिरहेका थिए। उनीहरुले पुनः फोन गरे र भने, ‘आरोपितलाई नियन्त्रणमा समेत नलिइ प्रहरी फर्कियो, जन्ती गाउँमै छ, बालविवाहको सम्भावना टरेको छैन।’
    
बेहुलासहितका १२-१४ जनाको जन्ती भारत बिहारको सुपौलबाट आएका थिए। सप्तरीको भारदहबाट को.१ ज १९०८ नम्बरको टेम्पो रिजर्भ गरेर शुक्रबार अपरान्ह विवाहघर भित्रिएका उनीहरुले नास्ता खान सुरु गरे।
    
त्यसै बेला दोस्रो पटक प्रहरी टोली पुगेपछि विवाह नगर्ने भन्दै बेहुला टेम्पोमा चढे। प्रहरी चौकी बेल्हीका असइ दिनेश राजवंशी नेतृत्वको टोलीले विवाहको मण्डप भत्कायो। बेहुलीको भेषमा सजिएकी बालिका र उनकी आमालाई नियन्त्रणमा लियो। 
    
यसरी गाउँलेले १४ वर्षीया बालिकाको शुक्रबार राति हुन लागेको बालविवाह रोके। कानूनविपरित बालिकाको विवाह गर्न नपाइने भन्दै सुरुमै रोक लगाएका थिए। ‘गाउँलेले रोकेपछि निर्धारित बिहीबारको विवाह लग्नमा विवाह हुन पाएन’, वडा अध्यक्ष कपलेश्वर मण्डलले भने, ‘गाउँलेले रोकिएको ठाने तर अभिभावकले फेरि पनि सो विवाह लुकिछिपी शुक्रबार गर्न खोजेपछि गाउँलेले पुन: प्रहरी प्रशासन र अधिकारकर्मीलाई खबर गरे।’ 
    
राति ९ बजे पुगेको इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले आमा–छोरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको इन्स्पेक्टर रामराजा केशरीले बताए। नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको गाउँलेलाई जानकारी छ। कानुनी सजायभन्दा पनि बालविवाहले फाइदा नगर्ने, स्वास्थ्यमा समेत हानिनोक्सानी हुने र ज्यानकै जोखिम भएकाले बालविवाह रोक्नु परेको गाउँलेको भनाइ छ। 
गाउँकै मानिसको सक्रियताका कारण राजविराज ५ मा फागुन ७ गते तथा कञ्चनपुर र राजविराज नगरपालिका ६ मा फागुन १९ गते हुन लागेको बालविवाह रोकिएको सप्तरी प्रहरीले जनाएको छ। दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले मात्र नियन्त्रण गर्न नसकिने भएकाले नागरिक नै जागरुक हुनुपर्ने एसपी कृष्ण प्रसाईको भनाइ छ। एसपी प्रसाईका अनुसार पछिल्लो समय बालविवाह हुन लागेको सूचना गाउँले, बालिकाका साथी, बाल क्लब र अधिकारकर्मीबाट आउने क्रम बढेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.