एसईई नसारौं, स्वास्थ्यमा ख्याल राखौं
विद्यालय तहमा महत्वपर्ण खुट्किलो मानिने माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेबाट मुलुकभर सञ्चालन हुँदैछ। कोभिड- १९ (कोरोना) भाइरसको विश्वव्यापी संक्रमण नेपालमा पनि फैलिने त्रासले एसईई पनि प्रभावित हुने त होइन भन्ने चिन्ता सर्वव्यापी छ।
भीडभाडमा संक्रमण फैलिन सक्ने जोखिम धेरै भएकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्नुपर्ने र यसका लागि तत्काल एसईई स्थगित गर्नुपर्ने तर्क एकथरीको छ। एसईई रोक्न नहुने धारणा अर्का थरीको छ। नेपालमा अहिलेसम्म कोरोना संक्रमित बिरामीको पहिचान भइनसकेकाले लामो समयको तयारीपछि सञ्चालन हुन लागेको एसईईलाई हल्का रूपमा लिन नहुने भनाइ उनीहरूको छ।
यसपटक एसईईमा मुलुकभरबाट चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुँदैछन्। एक हजार ९ सय ९४ केन्द्रमा परीक्षा सञ्चालन हुँदै छ। निश्चय नै परीक्षा भनेको विद्यार्थीको लामो समयको तयारी र सरकारी संयन्त्रको भरपूर व्यवस्थापनपछि सञ्चालन गरिने काम हो। त्यसमाथि एसईई भनेको वर्षभरिको सर्वपक्षीय मेहनतको फल हो। हरेक वर्ष एसईई सकिनेबित्तिकै परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरू अर्को वर्षको एसईईको तयारीमा जुटिहाल्छन्। यस हिसाबले यसलाई अप्रत्यासित निर्णय गरेर स्थगन गर्दा अर्कोपटक परीक्षा चलाउन धेरै तयारी गर्नुपर्छ। त्यसो त एसईईलाई अझै पनि विगतको एसएलसी परीक्षासँग दाँजेर हेर्ने परिपाटी छ। त्यतिखेर एसएलसीलाई विद्यालय शिक्षाको अन्तिम तह अर्थात् फलामे ढोका मानिन्थ्यो। त्यही भएर एसएलसीलाई उच्च महत्व दिइन्थ्यो। अहिले कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिन्छ। तैपनि विद्यार्थी र अभिभावकले एसईईलाई एसएलसीजस्तै प्राथमिकता दिएर तयारीमा जुटिरहेका छन्। र, त्यसमा कमीकमजोरी गर्नु पनि हुँदैन।
एसईईको गरिमा पाँच लाख विद्यार्थी, दस लाख अभिभावक र राज्य संयन्त्रको करोडौं रुपैयाँ लगानीसँग जोडिएको छ। स्थगित गर्ने वा नगर्ने भन्ने निर्णय पर्याप्त अध्ययन गरेर, सोचेर र भविष्यमा आउन सक्ने परिणामबारे समेत गम्भीर विश्लेषणपछि मात्र गर्नुपर्छ। यसको मतलब विद्यार्थी, अभिभावक र सरकारी लगानीलाई देखाएर विद्यार्थीको स्वास्थ्य समस्यालाई ख्यालै नगरी परीक्षा सञ्चालन गर्नुपर्छ भन्ने होइन। नागरिकको स्वास्थ्यलाई जोखिममुक्त बनाउने दायित्व राज्यको हो। मुलुकलाई कोरोनाको त्रासबाट मुक्त गर्न सर्वप्रथम खुला नाका बन्द गर्नुपर्छ। सपिङ मलहरू, सार्वजनिक यातायात, सिनेमा हल, पार्टी प्यालेस, रेस्टुरेन्ट, उद्योग-कलकारखानाजस्ता धेरै जमघट र भीडभाड हुने ठाउँबारे सोच्नुपर्छ।
अर्को कुरा, एसईई राजधानीमा मात्र सञ्चालन हुने होइन, मुलुकका सुगम र दुर्गम सबै ठाउँमा एकैपटक सञ्चालन गरिन्छ। सबै ठाउँलाई एउटै भाँडामा राख्नु पनि हुन्न। यस्तो अवस्थामा परीक्षाकै लागि विद्यार्थीले घरभन्दा टाढा गएर बस्नुपर्ने हुन्छ। उनीहरूले परीक्षा अवधिभरका लागि डेरा खोजेर बस्नुपर्छ, परीक्षाकै लागि भनेर खर्च पनि जुटाउनुपर्ने हुन्छ। यी सबै व्यवस्थापन गरेर परीक्षा तयारीमा जुटेका विद्यार्थीलाई अकस्मात परीक्षा स्थगित हुँदा कस्तो मानसिक असर पर्ला, यसबारे पनि सोच्नु आवश्यक छ।
कोरोना त्रासकै बीचमा परीक्षा सञ्चालन गर्न नसकिने होइन। सरकारले हरेक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ। शिक्षा र स्वास्थ्य मन्त्रालयले समन्वय गरेर स्वयंसेवक पनि परिचालन गर्ने भएका छन्। यो निर्णयको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। कोरोनाबारे परीक्षार्थीलाई जानकारी गराएर सुरक्षाका उपाय अपनाउन सचेत गराउन सकिन्छ।
परीक्षा केन्द्रमा नियमित परीक्षार्थी, सुरक्षाकर्मी र अन्य कर्मचारीको स्वास्थ्य परीक्षण गर्नुपर्छ। यति मात्रै होइन, परीक्षालाई कोठामा होइन, खुला चौरमा राखेर सञ्चालन गर्न सकिन्छ कि भन्नेतर्फ पनि सम्बन्धित निकायले सोच्नुपर्छ। घाम र पानीको समस्याबाट जोगाउन सकिएमा विद्यार्थीलाई मास्क लगाएरै भए पनि चौरमा परीक्षा दिने व्यवस्था गर्नु निकै उत्तम देखिन्छ। यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच उचित समन्वय हुनुपर्छ।