खुल्ला आकाशमुनी पढ्न बाध्य चेपाङ बालबालिका
धादिङ : दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ८ दुङवाङमा रहेको जलदेवी आधारभूत विद्यालयका बालबालिका खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य छन् ।
बालकक्षा (इसीडी) देखि ३ कक्षासम्म पढाइ हुने उक्त विद्यालयको एउटा मात्रै रहेको ४ कोठे भवन २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि क्षतविक्षत भएको थियो ।
भएको एउटै मात्रै भवन पनि भूकम्पका कारण जोखिमपूर्ण भएपछि भूकम्प पछिको आपतकालिन अवस्थामा विभिन्न संघसस्थाको सहयोगमा बनाइको अस्थायी टहरा र खुल्ला आकाशमुनी नै राखेर विद्यार्थीलाई पठन-पाठन गराइरहेको शिक्षकले बताएका छन् ।
खुल्ला आकाशमुनी विद्यालयको आगनमै राखेर पढाउँदा पनि बस्ने चकटीसमेत गतिलो नहुँदा ढुङगा तथा पर्खालमा राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षक नन्द बहादुर बोहोराले बताए । उनले भने, 'विद्यालयको भवन त छ, तर भूकम्पले क्षतविक्षत भएको छ, जीर्ण छ। त्यहाँ राखेर पढाउँदा झन ठूलो दुर्घटना हुने डरले टहरा र आँगनमै राखेर पढाइरहेका छौँ ।'
पानी परेको बेला र धेरै घाम लागेको बेलामा बालबालिकालाई अस्थायी टहरा र भूकम्पले चर्काएको भवनको कम क्षति भएको एउटा कोठामा एकैठाउँमा राखेर पढाइने गरिएको छ ।
कक्षाकोठाको अभावमा बालकक्षा र एक कक्षाका बालबालिकालाई अस्थायी टहरामा एकै ठाउँमा राखेर पढाइदै आएको छ । अस्थायी टहरा बनाएको पनि ४ वर्ष पुग्न लागिसकेककाले बाँसका भाटाहरु भाँचिन थालेका छन् । बार लगाइएको त्रिपालहरु च्यातिइसकेको छ, टहरा पनि हावा र पानीबाट पनि असुरक्षित बनेको छ । विद्यालय डाँडामा रहेकाले चिसो बतास चलिरहदाँ अस्थायी टहरापनि खुल्ला आकास जस्तै भएको शिक्षक विनिता श्रेष्ठले बताइन् ।
कक्षा २ र ३ लाई भने पानी नपरेको बेला खुल्ला आकासमुनी राखेरै कक्षा संञ्चालन गर्दै आएको छ । पानी परेको बेला जीर्ण भवनकै कम क्षति भएको कोठामा एकैठाउँमा राखेर पढाइने गरिएको छ । स-साना बालबालिकाहरुलाई जोखिमयुक्त भवनमा राख्नु भन्दा खुल्ला आकाशमा नै राखेर पढाउने गरेको शिक्षक श्रेष्ठले बताइन् ।
'अस्थायी टहरा पाटेसन गरेर सबैलाई छुट्टाछुटटै कक्षामा राखेर पढाउन मिल्ने पनि बनाएका थियौँ, तर २ वटा कक्षाकोठाको आवास मिसिने भएपछि पढाउन झनै समस्या हुन थाल्यो,' श्रेष्ठले भनिन्, 'त्यसकारण बालकक्षा र १ कक्षा टहरामा तथा २ र ३ लाइ आगँनमा पढाइरहेका छौँ ।'
वडा नं ८ को घाङवाङ र दुङवाङका बालबालिका पढ्न आउने यस विद्यालयमा अध्ययन गर्ने सबै चेपाङ समुदायका बालबालिका छन् । विनाशकारी भूकम्पपछि धादिङ जिल्लाका करिब ७५ प्रतिशत विद्यालयका भवनहरु पुननिर्माण भइसकेका छन् भने बन्न बाँकी रहेका सबै विद्यालयमा पनि भवन निर्माणको प्रक्रिया सुरु भइरहेको जिल्लास्थित आयोजना कार्यान्वय इकाइले बताएको छ । तर भौगोलिक अवस्थामा अति नै विकट क्षेत्रमा रहेको दुङवाङको यो आधारभूत विद्यालयको पुननिर्माणतर्फ कसैको चाँसो गएको छैन।
५६ जना बालबालिका अध्ययन गर्ने उक्त विद्यालय मर्मत गर्न र नयाँ बनाउनका लागि समन्वय गरिदिन वडा अध्यक्ष र गाउँपालिकामा पटक पटक गुनासो गरिएको भएपनि अहिललेम्म सुनुवाइ नभएको शिक्षकले बताए । शिक्षक श्रेष्ठले भनिन्, 'वडा अध्यक्ष अहिलेसम्म एक पटक पनि विद्यालयमा आएका छैनन् । हामीले भनेर मात्रै विद्यालयको यो अवस्था कसरी थाहा पाउछन् र नयाँ बनाउन पहल गरुन् ।'