म्याग्दीका असिना पीडित किसानलाई एक करोड राहत

म्याग्दीका असिना पीडित किसानलाई एक करोड राहत

बेनी : म्याग्दीका असिना पीडित किसानलाई गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँभन्दा बढी राहत दिने भएको छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तरगतको आकस्मिक राहत सहयोग सिफारिस समितिले एक करोड एक लाख ९२ हजार ४१९ रुपैयाँ दिने निर्णय गरेको हो । 

असोज २१ गते दसैंको दिन बेनी नगरपालिका २ भकुण्डे, सानालेक, फापरखेत, गौस्वाँरा, रात्माता, मंगला गाउँपालिका १ थाइवाङ र ३ बरंजामा भीषण असिना परेको थियो । ८५४ घरधुरी कृषकको चार करोड एक लाख ४१ हजार ९०५ रुपैयाँ मूल्य बराबरको धान, कोदो र दलहनको क्षति गरेको थियो । 

प्रदेशस्तरीय समितिले पुर्नस्थापनाका लागि कृषकलाई सो रकम प्रदान गर्ने निर्णय गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज रोइरालाले बताए ।जिल्ला विपद् व्यवस्थापन समितिका पदाधीकारी र जनप्रतिनिधिको सहभागितामा असिनाले गरेको क्षतिको स्थलगत अनुगमन गरी विवरण संकलन गरेर सिफारिस गरेको थियो । 

प्रदेशको आकस्मिक सेवा टेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को दफा ७ र ८ को अधिनमा रही पुनस्थापना सहयोग स्वरुप पुनस्थापना र क्षतिग्रस्त सामग्री खरिदको लागि प्रति रोपनी उत्पादन लागतमा दश प्रतिशतले वृद्धि गर्दा हुन आउने रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

धान, दलहन र कोदोको क्रमश  चालीस लाख तेत्तिस हजार २७५, चौतीस लाख ७७ हजार १९४ र २६ लाख ८१ हजार ९५० रुपैयाँ उपलब्ध गराइने ज्ञान केन्द्रले जनाएको छ । 

दुई हजार ७४६.८७ रोपनीमा लगाएको धान, एक हजार २२६.२ रोपनीमा लगाएको दलहन र एक हजार ६९१.२५ रोपनीमा लगाएको कोदोबाली असिनाले नष्ट गरेको थियो । 

असिना पीडितको सूचिमा रहेका कृषकले पेश गरेका बिल भरपाइका आधारमा सहायता उपलब्ध गराउन बेनी नगरपालिका र मंगला गाउँपालिकासँग समन्वय गरिएको ज्ञान केन्द्रका प्रमुख कोइरालाले बताए ।  

बेनी नगरपालिकाको २ नम्बर वडामा ४२० घरधुरी कृषकको दुई करोड १७ लाख, दुई हजार ६००, बरंजाका ३२० घरधुरी कृषकको एक करोड ३३ लाख ५८ हजार १६० र थाइवाङका ११५ घरधुरी कृषकको पचास लाख ८१ हजार ४५ रुपैयाँ मूल्य बराबरको खेतिबाली क्षति पुगेको थियो । 

पाकेर भित्र्याउने बेला भएको धान, कोदो, बोडी, सिमी लगायत खाद्यबाली, तरकारी र फलफुल असिनाले झारेपछि निराश भएका कृषक सरकारले दिने सहायताले राहत मिल्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.