ट्रंकलाइनका उद्योगी आन्दोलित
भैरहवा : भैरहवाको बुटवल-भैरहवा सडकखण्ड (पञ्चकन्या कोरिडोर) मा रहेका उद्योगीलाई विद्युत प्राधिकरणले बढी शुल्क लगाएको विषयमा यहाँका उद्योगीहरु आन्दोलित भएका छन् । नेपाल विद्युत प्राधिकरणले अनावश्यक शुल्क लगाएको भन्दै उद्योगीहरुले विद्युतको भैरहवा वितरण केन्द्रमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
पञ्चकन्या औद्योगिक कोरिडोरका विद्युत महशुल पीडित १६ वटा उद्योगले संयुक्तरुपमा वितरण केन्द्र भैरहवामा विभिन्न ६ बुंदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । विद्युत प्राधिकरणले उद्योग नै विस्थापित हुने अवस्थामा पुर्याएको भन्दै उद्योगीहरु आन्दोलित भएका हुन् ।
विद्युतको भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक विद्युत भार मिलान गर्नका लागि पञ्चकन्या कोरिडोरमा रहेका १६ वटा उद्योगलाई छुट शुल्क मिलानको नाममा चर्को मूल्यको बिल पठाएको छ ।
२०७५ सालदेखि विद्युत प्राधिकरणले यी १६ वटा मध्ये १४ उद्योगबाट २७ करोड बढी रुपैयाँ विद्युत बक्यौता बाँकी रहेको बताउँदै उक्त बक्यौता तिर्न पत्र काटेको छ । २०७४ साल चैत्रमा विद्युतले आन्तरिक विद्युत भार मिलान गर्न रुपन्देहीका भरौलिया सब स्टेशनलाई अमवा सब स्टेशनमा जडान गर्ने क्रममा १६ वटा उद्योगलाई ट्रंकलाइनमा जोडेको थियो ।
यसअघि साविक सुविधामै उद्योग संचालन गर्दै आएका उद्योगीलाई यसले कुनै अतिरिक्त शुल्क नथपिने वितरण केन्द्र तत्कालिन प्रमुख उमेश कुमार झाले आवश्वसन दिएका थिए । विद्युतको आन्तरिक समस्या भएको कारण उसले भार मिलान गर्दा उद्योगीलाई पनि समस्या भएन ।
तर ट्रंकलाइनका लागि आफूहरुले कुनै माग नै नगरेपनि विद्युतले दुई वर्षअघि ट्रंक लाइन जोडेर अहिले आएर नियमित शुल्क भन्दा करिब ६७ प्रतिशत बढी शुल्क तिराउन बाध्य पारिरहेको एभरेष्ट रोलिङ उद्योगका प्रबन्ध निर्देशक अरुण गोयनकाले बताए ।
उनका अनुसार यति मात्र नभइ ट्रंकलाइन जोडिएको अवधीदेखि नै विद्युतले पठाएको बिल भुक्तान गरिरहेको उद्योगीलाई करोडौँ बाँकी रहेको बक्यौता तिर्न पनि ताकेता गरिरहेको छ । उद्योगीले ट्रंकलाइनको लागि दिएको २४ घण्टे सुविधा उपभोग गरेको कारण सुरुको मितिदेखि नै उनीहरुले बिल तिर्नु पर्ने विद्युत प्राधिकरणको जिकिर छ ।
यता उद्योगीहरुले सो कुरा मानेका छैनन् । उनीहरुले विद्युत कार्यालयले तोकेको शर्त बमोजिम नै विद्युत उपभोग गरेको दावी गरेका छन् ।बुटवल-भैरहवा उद्योग करीडोरका १६ उद्योगले विद्युत् प्राधिकरणले एकतर्फी रुपमा जोडेको ट्रंकलाइन विद्युत आफूहरुलाई आवश्यक नभएको भन्दै जबरजस्ती लाद्न खोजे उद्योग नै बन्द गर्ने चेतावनी दिएका छन् ।
एस आर स्टिल उद्योगका संचालक सुरज उप्रेतीले प्राधिकरणले विना कुनै जानकारी मंसिर महिनाको बिलमा ट्रंकलाइन अनुसारको महशुलको बिल पठाएको बताए । ट्रंकलाइन जोडेको बताएपनि उद्योगले अहिले पनि विद्युत अनियमितताका नोक्सानी ब्यहोरिहेको उनले गुनासो पोखे ।
आफूहरुलाई ट्रंकलाइनको विद्युत आवश्यक नभएको र पुरानै ३३ केभिएको साधारण लाइनबाट पुरानै दरमा विद्युत महशुल भुक्तानीको व्यवस्था मिलाउनुपर्ने माग त्यस करिडोरका उद्योगीको छ ।
सरकारले राजश्व मात्र हेरेको उद्योगीको अरोप छ । सरकारको यो कदमले यस करिडोरमा रहेका उद्योगको २५ अर्ब बढी लगानी जोखिममा परेको उद्योगीहरुको भनाई छ ।
यता नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले ट्रंकलाइन बारे उद्योगीलाई जानकारी गराएको दावी गरे । उनले उद्योगीले पिक आवरमा पनि उद्योग संचालन गरेकोले विद्युत प्राधिकरणको संचालक समितिको निर्णयले नै बक्यौता सहित ट्रंकलाईनको महशुल असुल उपर गर्न पत्राचार गरिएको बताए।
उनले कार्तिक १६ गते बसेको प्राधिकरण संचालक समितिको ८ सय ९ औँ बैठकले बक्यौता रकम असुल गर्न निर्णय गरेको जानकारी दिए । भैरहवा-बुटवल उद्योग करिडोरमा पञ्चकन्या समुहको प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल उद्योग, सोना प्याकेजिङ, एसआर स्टिल, नव नेपाल प्लाष्टिक, शुभलक्ष्मी पोलिमर्स, नेशनल ट्रेड रबर इन्डस्ट्रिज, जय दुर्गा प्लाष्टिक, सोना पोलिमर्श, यशोधा फुड, प्रिया प्याकेजिङ, ए.जी.हेल्थ इण्डस्ट्रिज, एभरेष्ट रोलिङ, लुम्बिनी फ्लोर मिल, फेरो स्टिल प्राली, लुम्बिनी पिएसी इण्डष्ट्रिज लगायत रहेका छन् । भैरहवाको पडसरीदेखि मधवलिया क्षेत्रको ८ किलोमिटरमा यी उद्योग छन् ।