कोरोना प्रभावित देशमा के छ नेपालीको खबर ?

कोरोना प्रभावित देशमा के छ नेपालीको खबर ?

सृजना खड्का, काठमाडौं / ध्रुवराज अर्याल, लन्डन   

चीनको वुहानबाट सुरु भएको कारोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसलाई महामारी घोषणा गरिसकेको छ। अहिले दक्षिण कोरिया, इटाली, इरान, स्पेन, फ्रान्स, अस्ट्रेलिया, जापान, यूएई लगायत देशले कोरोनाको मार खेपिरहेका छन्। 

कोरोनाको प्रकोप र प्रहार खेपिरहेका यी देशमा अध्ययन र कामका सिलसिलामा थुप्रै नेपाली बसिरहेका छन्। 

इटालीमा लामो समयदेखि बसोबास गर्दै आइरहेका वैज्ञानिक डा. भीमबहादुर बम अहिले कोरोनाको त्रासमा छन्। कोरोनाले त्यहाँ बसोबास गर्दै आएका थुप्रै नेपालीलाई प्रत्यक्ष असर गरेको उनले ‘अन्नपूर्ण सम्पूर्ण’लाई सामाजिक सञ्जाल फेसबुकमार्फत बताए। ‘कोरोनाबाट युरोपमै सबैभन्दा बढी प्रभावित देश इटाली भएकाले यहाँ बस्ने नेपाली पनि यसबाट प्रभावित नहुने कुरै भएन,’ उनले भने, ‘अहिलेसम्म कोही नेपाली संक्रमित भएको खबर हामीलाई छैन। तर, पूरै देश  लकडाउनको अवस्थामा हुँदा यसले यहाँका नेपालीको दैनिक जनजीवनमा असर गर्ने मात्र होइन, अब के हुन्छ भन्ने ठूलो चिन्ता र अन्योल पनि सिर्जना गराएको छ।’ 

इटालीमा सुरुमा कोरोना भाइरस देखिएको लोदी प्रोभिन्सको कोदोनियो भन्ने ठाउँमा एक नेपाली परिवार रहेको उनले बताए। त्यसको १० किलोमिटरको दूरीमा भीम र अन्य चार परिवार बस्छन्। अरू धेरै नेपाली कोरोनाको संक्रमण तुलनात्मक रूपमा न्यून रहेको रोम नजिकको क्षेत्रमा बस्ने गरेको भीमले बताए। उनका अनुसार इटालीमा बस्ने धेरैजसो नेपाली रेस्टुरेन्ट क्षेत्रमा काम गर्छन्। ‘महिलाहरू डोमेस्टिक केयरमा बढी छन्,’ उनले भने, ‘व्यवसाय गर्ने र अफिसियल काम गर्ने निकै कम छन्। लकडाउनका कारण लगभग सबै नेपालीको काम अहिले ठप्प छ।’ कानुनी सम्झौता गरेर नियमित जागिरमा रहनेहरूले तलब पाउने, तर भिसा समस्याको कारण सम्झौताबिनै काम गर्नेले दुःख पाउने उनले बताए। केही साताभित्रै स्थिति सुध्रिएन भने उनीहरूलाई खान, बस्नकै समस्या हुने भीमको आकलन छ। ‘यस्तो अवस्थामा यहाँको नेपाली समाज र अरू नेपाली मिलेर सहयोग गर्ने हाम्रो तयारी छ,’ उनले भने, ‘इटालीका नेपालीका लागि स्विट्जरल्यान्डस्थित दूतावास र यहाँको एनआरएनएलगायत संस्थाबाट विभिन्न सूचना, जानकारी सर्कुलर गर्ने काम भइरहेको छ।’  

त्रासमा इटालीका नेपाली

भवेश सिंह इटालीको मिलानमा बस्छन्। ‘मिल्ने जतिले अहिले यहाँ धेरैले अफिसको काम घरबाटै गर्न थालेका छन्,’ उनले भाइबरमा भने, ‘नेपालीहरूबीच भेटघाटको क्रम घटेको छ। पहिला भेटेर दुःखसुख साट्ने साथीहरूसँग अहिले फेसबुक र फोनबाटै कुरा गरेर चित्त बुझाउँछौं। आत्तिएर मात्रै केही हुँदैन भनेर अहिले हामी सकारात्मक भएर धैर्यपूर्वक बसिरहेका छाँै।’ कोही पनि मानिस त्यहाँ अहिले काम नपरी बाहिर ननिस्कने उनले बताए। 

इटालीको पर्मामा बस्दै आएका मनोज कार्की पनि कोरोनाको त्रासबीच बाँचिरहेका छन्। ‘म बसेको ठाउँमा १ सय ३० जनाको हाराहारीमा नेपाली छौं,’ भाइबरमा कुरा गर्दे उनले भने, ‘सबै नेपाली ठीक छन्। कसैलाई पनि कोरोनाको संक्रमण देखिएको छैन। स्थानीय सरकारले शहरलाई लकडाउन गरेर राखेको छ। काममा जाँदा र आउँदा सावधानी अपनाउने गरिएको छ।’ नेपालीहरू एकअर्कासँग फोन र सोसल मिडियाबाट कुराकानी गर्छन्। ‘सबैले एकअर्कासँग कुरा गरेर सुरक्षित रहन आग्रह गरेका छौं,’ मनोजले भने, ‘स्वास्थ्यसम्बन्धी अपनाउनुपर्ने सबै सुरक्षाका उपाय अपनाएका छौँ। शहरबाहिर कोही आउजाउ गरेका छैनन्। यहाँ बिनाकाम कोही कतै हिँडेका छैनन्।’ 

हरि काराखेती राजधानी रोममा बस्छन्। ‘कोरोनाको महामारी फैलिएपछि सबै त्रस्त छौँ,’ उनले भाइबरमा भने, ‘यहाँ फार्मेसी र अत्यावश्यक सेवाबाहेक अन्य सबै ठाउँ केही समयका लागि बन्द भइसकेका छन्। हामी सबै डराइरहेका छौं। तैपनि, हामीसँग धैर्य गर्नेबाहेक अर्को कुनै उपाय छैन।’ 

स्पेनमा पनि अवस्था उस्तै

स्पेनका एनआरएनए अध्यक्ष दिनेश गुरुङले गत शनिबारदेखि स्पेनमा सबैतिर ठप्प भएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिए। ‘सरकारले आपत्कालीन अवस्था घोषणा गरेपछि औषधि पसल, खाद्यान्न पसलजस्ता अत्यावश्यक सेवाबाहेक सबै व्यवसाय बन्द भएका छन्,’ उनले भने, ‘अहिलेलाई मार्चको अन्त्यसम्मका लागि बन्द भनिएको छ, त्यसपछि के हुन्छ भन्ने अनिश्चित छ।’ 

स्पेनमा १० हजारभन्दा बढी नेपाली रहेको उनले बताए। ‘धेरै नेपाली मड्रिड, बार्सिलोना, आलिकान्ते, बेनिडोर्म लगायत शहरमा छन्,’ उनले सुनाए, ‘अहिले कोरोनाको संक्रमण बढी भएको र धेरै मृत्यु भएका ठाउँ पनि नेपालीको बसोबास भएका क्षेत्र हुन्।’ स्पेनमा अहिलेसम्म कोही नेपाली संक्रमणमा परेको जानकारी आफूलाई नभएको उनले बताए। ‘हामीले यहाँको नेपाली दूतावाससँग पनि समन्वय गरिरहेका छौँ,’ उनले भने, ‘स्पेनमा एनआरएनएका तीनटा क्षेत्रीय समिति छन्। तिनले आ–आफ्ना क्षेत्रका नेपालीसँग सम्पर्क गरिरहेका छन्। कोही नेपाली समस्यामा पर्‍यो भने उसलाई आवश्यक सहयोग उपलब्ध गराउन हामी तयार छौँ।’ 

लकडाउनपछि सबै कामधन्दा बन्द भए पनि यसले भाइरस संक्रमणलाई रोक्छ कि भन्ने आशामा सबै नेपाली सकारात्मक रहेको दिनेशले बताए। उनका अनुसार स्पेनमा कानुनी रूपमा कामको सम्झौता गरेर काम गर्नेले कम्पनी बन्द भए पनि आफ्नो तलब पाउँछन्। कम्पनीले तलब नदिए सरकारले भत्ता उपलब्ध गराउँछ। तर, त्यहाँ कागजपत्रविहीन धेरै नेपाली भएको उनले बताए, जो गैरकानुनी रूपमा काम गर्न बाध्य छन्। ‘काम नै बन्द हुँदा उनीहरूका लागि  समस्या हुन्छ कि भन्ने चिन्ता छ,’ उनले भने। 

जापानको के छ खबर ? 

बुटवलका अशोक थापा हाल जापानको राजधानी टोकियोमा बस्छन्। उनी कलेज पढ्दै काम गर्छन्। ‘पार्ट टाइम काम सामान्य अवस्थामा चलिरहेको छ,’ उनले भने, ‘कोरोनाको डरले सबै जना मास्क लगाएर हिँड्छन्। अफिसले पनि कहिलेकाहीँ मास्क दिन्छ। अब मास्क पाइएन भने नेपालबाट ल्याएको एउटा कपडा छ, त्यसैलाई धोएर मास्क बनाएर लगाउने हो।’ 

कैलालीका जितेन्द्र ढकाल कोरोना भाइरसको अलि बढी संक्रमित क्षेत्र योकोहामामा बस्छन्। ‘यहाँ मलाई केही भएको छैन भन्दा पनि घरबाट दिनदिनै फोन गरेर डराइरहेका छन्,’ उनले फेसबुकमार्फत भने, ‘‘अवस्था सामान्य छ डराउनु पर्दैन’ भन्दा पनि पत्याउँदैनन्। समाचारहरूले जे–जे भन्छन्, त्यसैलाई पत्याएर डराउँछन्।’ 

अवस्था जस्तो आए पनि जापानमा कुनै पनि सामानको कालोबजारी नहुने उनले बताए। ‘आफूलाई चाहिएको सामान पाइराखिएको छ,’ उनले भने, ‘यहाँ कसैले पनि कालोबजारी गर्ने आँट गर्दैनन्। बजारमा भएजति सामान सबै उपभोक्ताले पाउँछन्। जोहो गर्न सक्नेले कुरियरमार्फत यताको सामान उता गरेर आदानप्रदान गर्छन्।’

हेटौँडाका रजत अली हाल जापानको चिबामा बस्छन्। केही समयदेखि उनलाई स्वास्थ्य समस्याले सताइरहेको छ। ‘केही समयअघिसम्म मेरो स्कुल र काम दुवै  सामान्य चलिरहेको थियो,’ उनले भने, ‘त्यही बेला मलाई बेग्लै टेन्सन आइलाग्यो। छ महिना अघिदेखि खुट्टाको जोर्नी दुख्न थाल्यो। उपचार गराइरहेको छु।’ उनको कलेजबाट अहिले कोरोनाको ठूलै हल्लीखल्ली भइरहेको छ। ‘बिरामी भएर म कलेज जान सकेको छैन,’ उनले भने, ‘काममा पनि जान सकिएको छैन। कलेजलाई पनि कोरोना लागेको छ। अब के हुन्छ, केही थाहा छैन।’

काठमाडौँका सबिन सुनुवार पनि टोकियोमा बस्छन्। उनले चार वर्षको पढाइ सकेर वर्क परमिट पाएको वर्षदिन पनि भएको छैन। ‘बल्ल कमाउने बेला आएको थियो,’ उनले गुनासो पोखे, ‘कोरोनाले सबै कुरा चकनाचुर पारिदियो। अहिलेसम्म काममा पनि गइरहेको छु। तर, के हुन्छ, केही थाहा छैन।’ उनले काम गरिरहेको अफिस चिनियाँ नागरिकको हो। ‘चाइनिजको अफिसमा काम नगर् भनेर घरबाट किचकिच गरेको गर्‍यै छन्,’ उनले भने, ‘अफिसमा स्वास्थ्य चेकअप गर्ने राम्रो व्यवस्था छ। तर, परिवारको मन मान्दैन।’ 

पोखराका जीत नेपाली हाल जापान, साइतामा बस्छन्। उनी जापान पुगेको एक हप्ता मात्र भयो। ‘धन्न, बैंकक ट्रान्जिट भएको टिकट काटेर आनन्द भयो,’ उनले भने, ‘नत्र, यता आएर निकै तनाव बेहोर्नुपर्ने रहेछ। उताबाट जापानमा कोरोना देखियो भनेर धेरैले डर देखाएकाले केही मास्क उतैबाट ल्याएको छु। नेपालमा डर देखाउने धेरै थिए। यता सचेत भएर बस्न सुझाव दिने धेरै छन्। 

फ्रान्सका नेपालीः पर्ख र हेर   

एनआरएनएका पूर्वअध्यक्ष निर्मल अर्याल फ्रान्समा छन्। कोरोना भाइरसको संक्रमणले त्यहाँको पनि जनजीवन नराम्रोसँग प्रभावित बनेको उनले बताए। ‘सरकारले १५ दिनको लागि देश लकडाउनको घोषणा गरेको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्दै भने, ‘औषधि, खाद्यान्न पसल, सार्वजनिक यातायातसहित अत्यावश्यक सेवाबाहेक सबै बन्द छन्।’ 

फ्रान्समा करिब छ हजारको हाराहारीमा नेपाली रहेको उनले बताए। उनका अनुसार धेरै नेपाली रेस्टुरेन्ट क्षेत्रमा कार्यरत छन्। त्यहाँ नेपाली व्यवसायीले सञ्चालन गरेका रेस्टुरेन्ट करिब ४० वटा छन्। रेस्टुरेन्टहरू सबै बन्द भएपछि त्यहाँ कार्यरत र व्यवसायी गरी फ्रान्सका धेरै नेपाली प्रभावित भएका छन्। त्यहाँ पनि कानुनी रूपमा रोजगारीमा रहेकाले नियमित तलब पाउँछन्। ‘व्यवसायका लागि सरकारले न्यूनतम रूपमा भए पनि केही राहतको व्यवस्था गर्छ,’ उनले भने, ‘तर, भिसाको समस्याले गैरकानुनी रूपमा बस्ने र कुनै समझौताबिना नै काम गर्नेलाई थप मर्का पर्ने देखिएको छ। उनीहरूमा संक्रमण देखिए अस्पताल जाँदा प्रशासनिक झमेलामा परिन्छ कि भन्ने चिन्ता पनि देखिन्छ।’ निर्मलका अनुसार त्यहाँ नेपालीहरू पहिलो चरणको १५ दिनको लकडाउनमा पर्ख र हेरको अवस्थामा छन्। ‘यो अवस्था लम्बियो भने स्थिति विकराल बन्छ कि भन्ने पिर हामीलाई छ,’ उनले भने। 

पोर्चुगलमा एक नेपाली संक्रमित  

सञ्चारकर्मी हरिकृष्ण पन्थी पोर्चुगलमा बस्छन्। पोर्चुगलको फारोमा कृषि मजदुरका रूपमा कार्यरत एक जना नेपालीलाई कोरोना भाइरस संक्रमण भएको खबर आएको उनले बताए। ‘स्थानीय मेयरले ती नेपाली कामदारलाई संक्रमण भएको पुष्टि गरेका छन्,’ उनले भने, ‘तर, उनको नाम, उमेर र अरू परिचय अहिलेसम्म खुलाइएको छैन। यसबाहेक अरू नेपाली संक्रमित बनेको जानकारी अहिलेसम्म छैन।’ नेपालीमै संक्रमण भएको खबर आएपछि त्यहाँका नेपालीहरू त्रस्त भएको हरिकृष्णले बताए। ‘कृषि क्षेत्रमा काम गर्ने ती संक्रमित नेपालीको नियमित सम्पर्कमा अरू धेरै नेपाली हुन सक्ने हुनाले कतै अरूमा पनि सर्ने त होइन भन्ने चिन्ता हुनु स्वाभाविक हो,’ उनले भने। 

अन्य युरोपेली मुलुकमा जस्तै पोर्चुगलमा पनि संक्रमण बढ्दै जाँदा त्यहाँका नेपालीको जनजीवन पनि प्रभावित बनेको छ। हरिकृष्णका अनुसार पोर्चुगल सरकारले देशमा ‘स्टेट अफ अलर्ट’ जारी गरेको छ। ‘देशभरका स्कुल र विश्वविद्यालय सोमबारदेखि बन्द गरिएका छन्,’ उनले भने, ‘यहाँ नेपालीले रेस्टुरेन्ट, किराना पसल, तरकारी पसलजस्ता व्यवसाय सञ्चालन गरेका छन्। यस्ता व्यापार अहिले निकै गिरेका छन्।’

दक्षिण कोरियामा दिक्क नेपाली  

दक्षिण कोरियामा सात वर्षयता बसोबास गर्दै आएकी मञ्जु गुरुङले दक्षिण कोरियामा कोरोना  संक्रमितको संख्या उच्च रहे पनि त्यहाँ रहेका नेपाली सुरक्षित रहेको बताइन्। ‘तर, कार्य अवधि सकिने ईपीएस कामदार र गैरकानुनी रूपमा रहँदै आएका केही नेपाली भने नेपाल फर्कने सुरसार गर्न थालेका छन्,’ उनले भनिन्। 

थेजनस्थित खाना कम्पनीमा काम गर्छन्, महेन्द्र राई। ‘यहाँ प्रायः नेपाली बाहिर निस्कँदैनन्,’ उनले फेसबुकमार्फत भने, ‘कोठामा बस्दाबस्दा दिक्क लागेपछि बाहिर जान खोजे पनि साथीहरूले जान दिँदैनन्।’ कम्पनीमा काम गर्न जाँदा गेटमा तापक्रम नाप्ने मेसिनले चेक गरेपछि मात्रै भित्र पस्न दिने गरेको उनले बताए। ‘यहाँ कतै कम्पनीले नै सुरक्षाको प्रावधान अपनाएका छन् भने कतै कामदार आफैँले सुरक्षित तरिका आपनाउदै आएका छन्,’ राईले भने, ‘गैरकानुनी रूपमा रहेका विदेशी नागरिकले पनि कोरोना संक्रमणको शंका लागे परीक्षण गर्न जाँदा कोरिया सरकारले पक्राउ नगर्ने भएको छ।’ उनका अनुसार कोरियामा मास्क सहज रूपमा उपलब्ध हुने गरी सरकारले नै वितरणको व्यवस्था गरेको छ। विद्यालयहरू बन्द छन्। धेरै मानिस भेला हुने कार्यक्रम गर्न बन्देज छ। तर, कार्यालयहरूले घरमा बसेर गर्न मिल्ने काम घरमै गर्न आग्रह गरेका छन्।

जुनु गुरुङ सिओलमा बस्छिन्। त्यहाँ पनि कोरोनाको निकै त्रास रहेको उनले बताइन्। ‘यहाँका मिडियाहरूले सतर्क रहनलाई आग्रह गरेको गर्‍यै छन्,’ फेसबुकमा उनले भनिन्, ‘केही कम्पनीका कामदार कम्पनीको एरियाबाट बाहिर निस्किएका छैनन्। चीनबाट कच्चा पदार्थ ल्याएर सञ्चालन हुने कम्पनी बन्द छन्।’ कम्पनीमा काम गर्नेभन्दा रेस्टुरेन्ट व्यवसायमा रहेका नेपाली धेरै मर्कामा परेको जुनुले बताइन्। 

कोरियामा नेपालीका धेरै सामाजिक संस्था छन्। ‘यहाँ नेपालीका थुप्रै संस्था छन्,’ उनले भनिन्, ‘पहिला हामी हप्ताको एकचोटि मिटिङ गथ्र्यौं। अहिले मिटिङ पनि अनलाइनबाटै गर्न थालेका छौं। मानिसहरू घरबाट बाहिर निस्किन डराउन थालेका छन्।’ 

डर लुकाएर काम गर्छन् अस्ट्रेलियामा नेपाली 

अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी जमुना खताखो त्यहाँ कोरोनाको संक्रमण सुरु भएदेखि कलेज र अफिस कतै गएकी छैनन्। विश्वभर नै कोरोनाले आतंक मच्चाइरहेको बेलामा सबै जना सतर्क हुनुपर्ने उनले बताइन्। विदेशीको तुलनामा नेपाली यो विषयमा कम सावधान रहेको उनले बताइन्। ‘नेपालीहरू विदेशी जस्तो सतर्क छैनन्,’ जमुनाले भनिन्, ‘भीडभाड र जमघट कम गर्नू भनेर सरकारले आदेश जारी गर्दा पनि नेपालीले रवाफ देखाउन छाडेका छैनन्। पास्नी, बिहे भोज, जन्मदिन, व्रतबन्ध आदि सेलब्रेट गर्न छाडेका छैनन्। पार्टी हलमै नेपालीहरू भेला भएर भेटघाट गर्न छाडेका छैनन्।’ 

सिड्नीमै विगत १० वर्षदेखि बस्दै आइरहेका छन्, सुदन खत्री। कोरोनाको त्रास फैलिएसँगै अहिले उनी पनि त्रसित छन्। ‘यहाँको स्वास्थ्य सेवा एकदमै महँगो छ,’ उनले फेसबुकमार्फत भने, ‘केही भएर आइसोलेसनमा जानुपर्ने भयो भने हामी पैसा तिर्न सक्दैनौँ।’  

अस्टे«लियामा स्वास्थ्य क्षेत्रमा काम गर्ने धेरैजसो नेपाली सचेत देखिए पनि अन्य क्षेत्रमा काम गर्न चाहिँ उति सचेत नरहेको सुदनले बताए। ‘सपिङ सेन्टर र अन्य ठाउँमा काम गर्नेहरू काम गरिरहेकै छन्,’ उनले भने, ‘उनीहरूलाई कोरोनाले केही असर गरेको छैन। हामी नेपाली विदेशीजस्तो आफ्नो स्वास्थ्यको ख्याल गर्दैनौँ।’ 

ताज्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोनाको संक्रमण देखिएपछि भने आफूहरूलाई डर लागेको सुदनले बताए। ‘नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक जना नेपालीलाई कोरोना भाइरस पोजिटिभ देखिएछ,’ उनले भने, ‘त्यो घटनापछि भने हामी नेपाली डराएका छौँ। तर, काम नगरी यहाँ एक पाइला पनि चाल्न गाह्रो हुन्छ। खानेकुरा, भाडा एकदमै महँगो छ। कलेज फीको प्रेसर पनि उस्तै छ। पैसा खर्च गर्ने ठाउँ धेरै छ तर, कमाउने ठाउँ एकदमै थोरै छ। कलेज फीको प्रेसर पनि उस्तै हुन्छ। काम नगरी सुखै छैन।’

अर्का नेपाली भुवन रोक्का मेलबर्नमा बस्न थालेको दुई वर्ष भयो। कोरोनाको त्रासले उनी काममा नगएको एक हप्ता भयो। ‘पैसा भएन भने यहाँ कोठाबाट बाहिर ननिस्किँदा पनि हुन्छ,’ उनले भने, ‘पैसा भएन भने भोकै परिन्छ भनेर केही समयअघिसम्म काम गरियो। तर, अहिले डर लागेपछि काममा जानै छाडेँ। जम्मा गरेर राखेको पैसा कति दिनलाई पुग्ने हो, थाहा छैन। मेरा धेरै साथी डरलाई लुकाएर काम गर्न हिँडिरहेका छन्। त्यो उनीहरूको रहर होइन, बाध्यता हो।’

०००

धेरै नेपाली संसारका विभिन्न कुनामा छन्। थुप्रै संख्यामा नेपाली बसोबास गर्ने ठाउँमा अहिले कोरोना भाइरसको संक्रमण फैलिसकेको छ। विभिन्न देशमा बस्ने नेपालीलाई सघाउ पुर्‍याउन एनआरएनएको तर्फबाट के काम भइरहेको छ त ? ‘जनचेतना जगाउने काम भइरहेको छ,’ एनआरएनएका महासचिव डा. हेमराज शर्माले भने, ‘हरेक देशमा एनआरएनएका साथीहरू छन्। उनीहरूमार्फत जनचेतना फैलाउने काम भइरहेको छ। हामीले भिडियो र पम्प्लेटबाट नेपालीलाई सचेत गराइरहेका छौँ। विदेशको स्थानीय भाषा नबुझ्ने ठाउँका कामदार भएको ठाउँमा हामीले जनचेतना दिइरहेका छौँ।’ 


‘सजग छ जापानी समाज’  अम्मर जिसी, जापान 

कयौँ प्राकृतिक संकटसँग जुध्न जानेको जापानी समाज अहिलेको कोरोना संकटलाई पनि कमभन्दा कम क्षतिमै निस्तेज पार्न जुटिसकेको छ। सरसर्ती हेर्दा अवस्था सामान्य जस्तो लाग्छ। होहल्ला, भागदौड र अफवाहको विश्वास गरिहाल्ने जमात कम भएर होला। सजग रहने कुरामा चाहिँ नमुना छ, यो समाज। सामान्य बेला त मास्कले मुख छोपिरहने यहाँका नागरिक यस्तो सकंटको बेला मास्कबिना बाहिर निस्कने सायदै भेटिन्छन्।

दैनिक उपभोग्य सामानको जोहो गर्न चाहिँ हतार गर्छन्, जापानीहरू। त्यो किन पनि होला भने अधिकांश डेरावाल हुन्छन्। घरमा हुनेहरू वृद्धवृद्धा धेरै छन्।  यहाँ सबभन्दा पहिले ट्वाइलेट पेपरको अभाव देखियो। यहाँ सपिङ मल र स्टोरमा दैनिक सीमित मास्क र ट्वाइलेट पपेर आउँछन्। त्यो पनि एक जनाले यति मात्र किन्न पाउने भनेर कोटा तोकिएको हुन्छ। यद्यपि, मास्क वा ट्वाइलेट पेपर नभएर संकटमै परिहालेका भने छैनन्। किनभने, आफू आबद्ध संस्था वा कार्यालयले केही न केही जोहो गरिदिने गरेका छन्। बजारले पनि ‘हामीसँग पर्याप्त स्टक छ, आत्तिनुपर्दैन’ भनेर सूचना दिइरहेको हुन्छ। जापान सरकार पूर्ण तयारी अवस्थामा देखिन्छ। संकटकाल घोषणा गर्न सक्ने विधेयक पारित गराइसक्यो। चीन, कोरिया, इरान, इटाली लगायत संक्रमण धेरै भएका देशका नागरिकलाई भिसा रोकेको छ। यी देशबाट ट्रान्जिट भएर आउनेलाई पनि दुई हप्ते क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था छ।

सरकारले स्कुल बिदा गर्न हतार गर्‍यो भनेर यहाँ निकै आलोचना भयो। केही स्कुलले चाहिँ बन्द नगरी पूर्ण सजग भएर पठनपाठन जारी राखे। अनलाइनबाटै काम थालेका कार्यालय र बच्चालाई अफिसमै लगेर हेरचाह गरिरहेका कर्मचारीबारे यहाँ लामा–लामा रिपोर्ट टीभीमा निकै बजे। पत्रिकाहरूले सजग रहने उपाय सिकाइरहेका छन्। धेरैजसो मनोरञ्जन केन्द्र बन्द छन्। लगानीकर्ता केही अन्योलमा छन्। खुलेका र खुल्दै गरेका ठूला होटेल अलि बढी दबाबमा छन्। लगानीकर्तालाई अर्को तनाव चाहि यसै बेला परेको छ। किनभने, नयाँ कर्मचारी भर्ना गर्ने सिजन सुरु भएको छ। धेरैले सेमिनार स्थगन गरेर सीधै अन्तरर्वार्ता भनेर पनि तय गरेका छन्। 


‘कोरियाका नेपालीमा सुरक्षाको चिन्ता छ’ अर्जुन क्षत्री, रेस्टुरेन्ट व्यवसायी, कोरिया

कोरोना भाइरसले अहिले कोरियालाई बर्बादै बनाएको छ। हाम्रो व्यवसाय पनि पहिलेको तुलनामा ९० प्रतिशत घटेको छ। सबैभन्दा बढी प्रभावित भएका क्षेत्रतिर सबै बन्द छ। व्यवसाय पूरै ठप्प छन्। धेरै नेपाली रहेको राजधानी सिओल र यसको नजिकै पर्ने शहरहरू भने अहिलेसम्म कम प्रभावित छन्। त्यसैले हामीले अहिलेसम्म रेस्टुरेन्ट बन्द गरिसकेका छैनौँ। तर, व्यवसाय चौपट छ। बाहिर सडकमा मानिस देखिनै छाडेका छन्। सबै सडक खालीजस्तै छन्। स–साना केटाकेटी समेतले मास्क लगाएर हिँडेका छन्। मानिसहरू अत्यन्तै जरुरी काम परेन भने घरबाहिर निस्किँदैनन्। जताततै त्रास र अन्योल छ। यस्तै अवस्था कहिलेसम्म रहने हो भन्ने निश्चित छैन। छिट्टै नियन्त्रणमा आयो भने त ठीकै होला, नभए के हुन्छ ? थाहा छैन। 

हामीले जानेबुझेअनुसार अहिलेसम्म कोरियामा कुनै नेपाली संक्रमित भएका छैनन्। तर, उनीहरूमा कसरी सुरक्षित रहने भन्ने ठूलो चिन्ता छ। यही त्रासले गर्दा कैयौँ नेपाली यही बेला छुट्टी मिलाएर नेपाल गइरहेका छन्। एकदुई महिनाको छुट्टी सकिँदासम्म अवस्था सुध्रिएला भन्ने उनीहरूको आशा छ। केहिले त यस्तै रहिरह्यो भने कोरिया नै नफर्किनेसम्मको मनस्थिति बनाइसकेका छन्। 

अन्नपूर्ण सम्पूर्णमा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.