गाडी भाडामा ठगी गर्ने २८ पक्राउ

गाडी भाडामा ठगी गर्ने २८ पक्राउ

काठमाडौं : सार्वजनिक यातायातको टिकटमा ठगी गर्ने २८ जना पक्राउ परेका छन्। टिकट काउन्टरका कर्मचारीले सवारीसाधन अभाव देखाएर यात्रुसँग तेब्बरसम्म भाडा असुलेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डीएसपी हविन्द्र बोगटीले बताए।

पक्राउ परेकालाई आइतबार अदालतमा उपस्थित गराइनेछ। उनले भने, ‘टिकट काउन्टर र बसपार्कमा यात्रुको चाप बढेसँगै गाडी ग्यारेजमा राखेर यात्रुसँग बार्गेनिङ गर्ने, बढी भाडा असल्ने गरेको पाएका छौं।’

सरकारले शिक्षण संस्थामा पठनपाठन बन्द गरेपछि काठमाडौंबाट अधिकांश विद्यार्थी र अभिभावक बाहिरिने क्रम बढेको छ। रौतहतको गडुरा जान लागेका विलास ठाकुरले टिकटको दोब्बर मूल्य तिर्नुपरेको गुनासो गरे। ‘टाटा सुमोबाट घर जान लागेको। काउन्टरका मान्छेलाई सोध्यो गाडी छैन भन्छन्’, बल्खुमा भेटिएका ठाकुरले भने, ‘डबल भाडा तिर्ने हो भने गाडी मगाउने बताउँछन्। घार जानु छ।’

वीरगन्जका राजेश महतो अन्य समयमा गाडीबाट झर्नेबित्तिकै झोला समात्न आउने काउन्टरका मान्छेले असहज स्थितिमा यात्रुलाई ठग्ने गरेको बताउँछन्। अहिले टिकट काट्ने व्यक्तिलाई यात्रुसँग बोल्ने फुर्सदै छ।

गौशाला, सुन्धारा, पुरानो बसपार्क, चाबहिल, बालाजु, कोटेश्वर, कलंकीलगायतका क्षेत्रमा पनि यात्रुसँग बढी भाडा लिने गरिएको सार्वजनिक यातायातका अधिकारकर्मी प्रेमबहादुर थापा बताउँछन्। ‘यात्रुको बाध्यतालाई यातायात व्यवसायीले कमाई खाने भाँडो बनाएका छन्। कोरोनाका कारण विश्व त्रसित छ’, थापाले भने, ‘तर यहाँ कसरी ठग्ने भन्ने होडबाजी छ।’

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको उदासीनताले संकटको समयमा यात्रु ठगिनु दुर्भाग्यपूर्ण भएको थापा बताउँछन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला तोकिएभन्दा धेरै भाडा नलिन महासंघसँग आबद्ध सबै सदस्यलाई जानकारी गराएको बताउँछन्। ‘कोरोनाका कारण चालक र यात्रु सबै त्रसित छन्। अहिले कमाउने भन्दा यात्रुलाई सेवा दिने समय हो’, सिटौलाले भने, ‘बढी भाडा लिएको भेटिएमा कारबाही गर्न महासंघले साथ दिनेछ।’

वैशाख ३ गतेसम्मका लागि सम्पूर्ण सवारीका लागि मुलुकभर रुट इजाजत खुला गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनाल बताउँछन्। ‘उपत्यकाबाट बाहिरिने सवारीले यात्रुको चाप धान्न समस्या हुन सक्छ’, खनालले भने, ‘सहरभित्र गुड्ने गाडीले पनि यात्रुलाई गृहजिल्ला पुर्‍याउन योग्दान होस् भनेर रुट खुला गरिएको हो।’

सार्वजनिक यातायातमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने यातायात विज्ञ शरदचन्द्र पौडेल बताउँछन्। ‘संक्रमणको जोखिम उच्च छ। सार्वजनिक यातायात सञ्चालन गर्न संयमता अपनाउनुपर्छ। यात्रुलाई संक्रमणबाट बचाउन सवारीसाधनमा आवश्यक सुरक्षा उपकरणको व्यवस्था मिलाउनुपर्छ।’ विभागका सूचना अधिकारी खनाल भने कर्मचारी अभावले आवश्यक पूर्वतयारी गर्न नसकिएको बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.