साञ्जेनको मुख्य सुरुङको 'ब्रेक थ्रु'
नुवाकोट : रसुवामा निर्माणधिन साञ्जेन जलविद्युत आयोजनाको पौने चार किलोमिटर सुरुङ खन्ने कार्य सकिएको छ। आमाछोदिङ्मो गाउँपालिका-५ चिलिमेमा निर्माण भइरहेको ४२ दशमलव ५ मेगावट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु भएको छ।
आयोजनाले आगामी २०७७ साल कार्तिकदेखि उत्पादन कार्य सुरु गर्ने जनाएको छ। कुल ३ हजार ६ सय ५० मिटर लामो सुरुङको खन्ने काम सकिएको हो।आयोजनाका अनुसार ७७ प्रतिशत निर्माण कार्य सकिएको छ।
आयोजनाको बाँध क्षेत्रमा साइफन पाइप हाल्ने काम समेत अन्तिम चरणमा पुगेको छ। ९ सय मिटर पेनस्टक पाइप राख्नुपर्नेमा एकातिरबाट पेनस्टक राख्ने काम सुरु भएको आयोजनाले जनाएको छ। सुरुङ निर्माण सुरु भएको साढे ३ वर्षमा ब्रेक थ्रु गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार आयोजनाको बाँध क्षेत्रका संरचना निर्माणको काम सकिएको छ।
एसइडब्लु टुन्डी जेभीले आयोजना निर्माण गरिरहेको आयोजनाको निर्माण कार्य २०६९ सालदेखि सुरु भएको थियो।