भ्रमका भाइरस

भ्रमका भाइरस

नेपालमा कोरोना भाइरस (कोभिड– १९) फैलिइसकेको भन्दै एउटा अडियो सार्वजनिक भयो, सामाजिक सञ्जाल फेसबुकमा। विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएजत्तिकै रातारात सामाजिक सञ्जालमा उक्त (फेक) अडियो भाइरल भयो। चियापसलदेखि चुलाचौकासम्म आम सर्वसाधारण आतंकित बने। घरभित्र सुरक्षित बस्न भनिएका सर्वसाधारणको अमनचयन हराउने काम गरायो उक्त अडियोले। मुलुकले कोरोना संक्रमणको भयावह त्रासबाट जोगिने उपाय खोजिरहेका बेला समाजमा आतंक मच्चाउने, त्रास फैलाउने र सर्वसाधारणलाई असुरक्षित महसुस गराउने तत्वहरू सक्रिय देखिएका छन्। सरकारले सम्भावित ठूलो खतराबाट जोगाउन ‘मिनी लक डाउन’ गरेसँगै विपत्तिलाई ‘व्यापार’ बनाउनेहरू सक्रिय भए। यस्तो बेला त्रास फैलाएर ‘आनन्द’ लिनेदेखि त्रासबीच फाइदा उठाउने तत्वहरू बेजोडले अग्रसर भए। त्यसकै प्रतिफल हुन् भ्रमात्मक सामग्री उत्पादन र प्रसार।

नेपालमा भित्रभित्रै कोरोना संक्रमण फैलिसकेको र नियतवश सूचना लुकाइएको भन्दै केही ‘बौद्धिक’ व्यक्तिहरूकै अभिव्यक्ति सामाजिक सञ्जालमा देख्न र सुन्न पाइन्छ। सम्भावित विपत्बाट जनतालाई जोगिने उपाय सिकाउनुपर्ने शिक्षित समुदाय नै आतंक मच्चाउने काममा लाग्नु शोभनीय होइन। सम्भावित जोखिमबाट त्रस्त सर्वसाधारण धैर्य टुट्न नदिने, त्यस्ता जोखिमबाट बच्ने उपाय सिकाउने र सरकारलाई उचित पहलका लागि घच्घच्याउने कालबेला हो यो। संसारै ठप्प बनाइरहेको कोरोना भाइरससँग मिलेर लड्ने उपाय खोज्ने समय हो यो। तर, यसलाई सामाजिक आतंकको विषय बनाउनु दुःखद छ। छिमेकी देशमा कोरोनाको संक्रमण फैलिएको समाचारलगत्तै देशमा खाद्यान्न, ग्यास, तेलदेखि मास्कको कृत्रिम अभाव सिर्जना गरेर रातारात धनी बन्न खोज्नेहरू सक्रिय भएकै छन्। देशै अप्ठ्यारोमा परेका बेला कृत्रिम अभाव सिर्जना गरेर कमाउन पल्केकाहरूमाथि सरकार कठोर बन्नैपर्छ। समाजमा अफवाह फैलाउनेप्रति पनि कडा कानुनी उपचार खोज्नैपर्छ। सरकारले यस्तो बेला सामाजिक सञ्जालदेखि सञ्चार जगत्मा ध्यान दिएर अफवाह फैलाउने तत्वमाथि सूक्ष्म निगरानी राख्नैपर्छ। नेपालीमा एउटा उखानै छ, ‘बाघ आएको वर्ष बिरालो पनि बाघ हुन्छ।’ विश्वव्यापी रूपमा डरलाग्दो रूपमा फैलिइरहेको कोरोना संक्रमण र मानवीय क्षतिले आम जनतामा त्रास फैलिरहेका बेला सामाजिक सञ्जालमा हुने ‘फेक’ प्रचारबाजी पनि सत्यजस्तै लाग्न थाल्छन् र जनतामा थप त्रास फैलिन सक्छ।

मुलुकका लागि यतिबेलाको प्रमुख खाँचो हो– धैर्य र सचेतना। सम्भावित जोखिम भित्रिन नदिन सर्वसाधारणलाई सचेत गराउने, सुरक्षाका उपाय अपनाउने र सामूहिक रूपमा महाविपत्तिको सामनाका लागि आम जनतालाई तयार गर्नुपर्छ। यसमा सरकारको एकल प्रयास मात्र पर्याप्त नहुन सक्छ। समाजका सबै वर्ग, क्षेत्र र समुदायले सामूहिक रूपमा मुलुकलाई सम्भावित महाविपत्तिबाट जोगाउन होस्टेमा हैंसे गर्नैपर्छ। त्यसो त, नेपाली समाजको विशिष्टकृत पहिचान छ– विपत्तका बेला एकजुट भएर सामना गर्ने। महाभूकम्पदेखि विभिन्न समयमा हुने प्राकृतिक विपत्तका बेला एकले अर्कालाई सहयोग गर्ने, एकले अर्काको आँसु पुछ्न अघि बढ्ने र आफ्नो–पराइ नभनी सहयोग गर्ने नेपालीको विशेषताकै कारण महाविपत्तिबाट जनताले सहजै मुक्ति पाएको अनुभूति गर्छन्।

कोभिड– १९ मानव जातिका लागि जति विषाक्त छ, अफवाह फैलाउनेहरू पनि समाजका लागि उत्तिकै विषाक्त छन्। मानसिक रूपमा जनतालाई त्रासमा डुबाउने र समाजलाई आतंकित बनाउने तत्वहरू विषाणु नै हुन्। सरकारी निकायले यस्ता विषाणुलाई समयमै चिन्ने र कारबाहीको दायरामा ल्याउनैपर्छ। अनावश्यक अफवाहकै कारण आम उपभोक्ता महँगीमा पिल्सिएका छन्। एयरपोर्ट र बसपार्कमा देखिएका भीडहरूमा कोरोना संक्रमणका जोखिम हुन सक्छन्। सरकारले आफ्ना नागरिकलाई ‘आआफ्नो स्थानमा सुरक्षित भएर बस भनेर मात्र’ नपुग्न सक्छ। नागरिकले सुरक्षित भएको महसुस गर्ने गरी सरकारको पहल र कामकारबाही अघि बढ्नुपर्छ। भ्रम र भ्रमात्मक सामग्रीलाई परास्त गर्न सही सूचना आधिकारिक निकायबाट चाँडो–चाँडो प्रवाहसमेत गरिनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.