कोरोनाले उकास्यो मदिरा बजार

कोरोनाले उकास्यो मदिरा बजार

काठमाडौं : सरकारले गरेको कानुन परिमार्जनपछि धराशयी बनेका मदिरा उद्योगले नयाँ अवसर जुटाएका छन्। विश्वमा कोरोनाको त्रास बढिरहेको बेला औषधिका रूपमा प्रयोग हुने स्यानिटाइजरको माग बढेपछि त्यसको उत्पादनमा मदिराको कच्चा पदार्थ (इथानल)को बिक्री बढेको छ। आर्थिक वर्षको सुरुदेखि मन्दी आएको मदिराको कारोबार फागुनमा बढेको हो।

आन्तरिक राजस्व विभागका अनुसार फागुनमा मदिराबापतको अन्तःशुल्क संकलनमा १८ प्रतिशत वृद्धि भएको छ। गत वर्षको तुलनामा माघ महिनाको संकलनमा खासै सुधार देखिएको थिएन। तर, कोरोनाको त्रास फैलिएसँगै स्यानिटाइजरको माग बढ्यो। जसले स्यानिटाइजर उत्पादनमा प्रयोग हुने मदिराको खपतसमेत बढेको हो।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवर भन्छन्, ‘ठ्याक्कै स्यानिटाइजर उतपादनमै मदिराको खपत बढ्यो भन्न मिल्ने हामीसँग यकिन तथ्यांक छैन। फागुनमा अन्तःशुल्कको संकलन राम्रो छ। हेर्दै जाउँ, के हुन्छ ? ’

आर्थिक वर्षको सात महिनासम्मको मदिरातर्फको अन्तःशुल्क २.२३ प्रतिशत कम छ। माघ महिनामा मात्रै मदिराको गिरावट ४ प्रतिशत थियो।

विभागका अनुसार फागुनमा मदिराबापतको अन्तःशुल्क संकलन दुई अर्ब १९ करोड रुपैयाँ छ। यो गत वर्षको फागुनको तुलनामा १८ प्रतिशत बढी हो। फागुनको संकलनले समग्र आठ महिनाको संकलनमा सुधार पुर्‍याएको छ। ८ महिनामा १४ अर्ब ६७ करोड रुपैयाँ मदिराबापतको अन्तःशुल्क संकलन भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँ बढी हो।

आर्थिक ऐनमार्फत सरकारले मदिराको प्रतिलब्धि दर हेरफेर गर्‍यो। धान्न नसक्ने भएपछि मदिरा उद्योगले उत्पादन घटाए, कतिपय बन्द भए। मदिरा उद्योग धराशयी हुँदा अन्तःशुल्क संकलनमा समेत धक्का पुगेपछि कात्तिकको अन्तिम सातामा सरकारले ऐन सच्यायो। यद्यपि, मदिरा बजारमा सुधार आएन।

कोरोनाको त्रास बढेसँगै बजारमा स्यानिटाइजरको माग बढ्न थाल्यो।

स्यानिटाइजरमा लगानी बढ्दै

पछिल्लो समय नेपालमा धमाधम स्यानिटाइजर उद्योग खुल्न थालेका छन्। एक महिनामा स्यानिटाइजर उत्पादनका विषयमा धेरैको चासो बढेको उद्योग विभागका निर्देशक प्रेम लुईंटेलले जानकारी दिए। ‘मलाई धेरै जनाले उद्योगीले स्यानिटाइजर उद्योग खोल्न जानकारी मागिरहनु भएको छ’,उनले भने, ‘तर, सानो पुँजीको उद्योग घरेलुमा दर्ता हुन ेभएकाले उतै पठाउने गरेको छु।’

उद्योग विभागका अनुसार तीनवटा उद्योगले स्यानिटाइजर उत्पादन गर्ने तयारी गरिसकेका छन्। गत साता बिहीबारदेखि हिमगिरि हाइजिन कम्पनीले उद्योग विभागबाट अनुमति लिई स्यानिटाइजरको व्यावसायिक उत्पादन सुरु गरेको छ। ३ अर्ब पुँजी भएको यो नेपालकै ठूलो स्यानिटाइजर उद्योग हो। ध्वनी जस्ता चर्चीत ब्रान्डका साबुन उत्पादन गरिरहेको छ।

शारडा ग्रुप र हिमालयन डिस्टिलरीबाट स्यानिटाइजर उत्पादनमा प्रयोग हुने इथानल (मदिराको कच्चा पदार्थ) लिइरहेको हिमगिरिका सञ्चालक महेशकुमार जाजुले जानकारी दिए। उनले भने, ‘यसअघि साबुन, ह्यान्ड वास उत्पादन गर्दै आएका थियौं। कारोनाको त्रासका कारण स्यानिटाइजरको बढ्दो मागलाई ध्यानमा राखी नयाँ उत्पादन थालेका हौं।’

हिमगिरिको एक हजार दुई ७५ मेट्रिक टन वार्षिक स्यानेटाइजर उत्पादन गर्ने क्षमता छ। साबुन उत्पादन गरिरहेको यो कम्पनीलाई स्यानिटाइजरका लागि छुट्टै अनुमति दिनुपर्ने भए पनि संकटको अवस्थामा तत्कालका लागि उत्पादन सुविधा दिएको उद्योग विभागले बताए। विभागका निर्देशक लुईंटेल भन्छन्, ‘औद्योगिक व्यवसाय नियमावली नबन्दा नयाँ उत्पादन गर्न अनुमति लिन छुट्टै आईईई गर्ने व्यवस्था छैन। कोरोनाको त्रासमा अत्यावश्यक वस्तु भएकाले इजाजत चाँिह दिएका छौं।’

नेपालमा स्यानिटाइजरमा उत्पादन गर्न एक चिनियाँ कम्पनी आकर्षित देखिएको छ। गत कात्तिक २८ मै चिनियाँ लगानीकर्ता झाङ युआन निङले ५ करोड पुँजी भएको कम्पनी दर्ता गरेको थियो। भक्तपुरको सूर्य विनायकमा छ। नेपाल कम्पनीको नाममा दर्ता भएको कम्पनीको पुँजी ५ करोड रुपैयाँ छ। यो कम्पनीले स्यानिटाइजर मात्र नभई अन्य साबुन, डिटर्जेन्ट, स्याम्पु समेत उत्पादन गर्नेछ।

अर्का स्वदेशी साबुन कम्पनीले पनि स्यानिटाइजर उत्पादनका लागि प्रस्ताव गरेको छ। यद्यपि, उक्त प्रस्ताव प्रक्रियामै रहेको विभागले जानकारी दिएको छ।

स्यानिटाइजर र मदिरालाई एउटै दर

मदिरा उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ स्यानिटाइजरमा प्रयोग गर्दा एउटै दरमा अन्तःशुल्क लाग्ने हुँदा स्यानिटाइजर उद्योग मारमा परेका छन्। स्यानिटाइजरलाई औषधिको वर्गीकरणमा राखिएको छ। स्यानिटाइजरका लागि मदिरा सरह अन्तःशुल्क लगाउन नहुने उद्योगी बताउँछन्।

हिमगिरिका सञ्चालक जाजुका अनुसार प्रतिलिटर अल्कोहलमा ६५ रुपैयाँ अन्तःशुल्क लाग्छ, त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) थप्दा स्यानिटाइजरको लागत बढी भएको छ। हिमगिरिको ७५ मिलिलिटर (एमएल) स्यानिटाइजरको मूल्य एक सय ८० रुपैयाँ छ। दुई सय ५० एमएलको दुई सय ९५ रुपैयाँ छ। ‘संकटको घडीमा सरकारले स्यानिटाइजर उत्पादनमा प्रयोग हुने लिकरमा लाग्ने अन्तःशुल्क दर घटाए राहत हुनेछ’, उनले भने।

भन्सार जाँचपासलाई तीव्रता

भन्सार विभागले औषधि तथा कोरोना निरोधका लागि प्रयोग हुने मास्क, स्यानिटाइजर, डिटर्जेन्ट, साबुनलगायत सरसफाइका सामग्रीलाई जाँचपासमा तीव्रता दिन भन्सार कार्यालयलाई निर्देशन दिएको छ। भन्सार विभागका महानिर्देशक सुमन दाहालले उल्लेखित अत्यावश्यक वस्तुलाई भन्सारमा आइपुग्नेबित्तिकै प्राथमिकताका साथ केही घण्टाभित्रै जाँच सक्ने व्यवस्था मिलाउन सबै भन्सार कार्यालयलाई परिपत्र गरिसकेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.