दोस्रो चरणमा प्रवेश आवश्यक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दोस्रो संक्रमित व्यक्ति पुष्टि गरेसँगै मुलुकलाई महामारीको जोखिमबाट मुक्त गर्न सरकार र आम नागरिक थप चनाखो हुनुपर्ने भएको छ। फ्रान्सबाट कतार हुँदै चैत ४ मा नेपाल आएकी ती युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि उनीसँगै यात्रा गर्ने अरूमा पनि निगरानी बढाउनुपर्ने भएको हो। समयमै अन्तर्राष्ट्रिय उडान बन्द नगर्दा अरू पनि संक्रमित व्यक्ति भित्रिएका छन् कि भन्ने आशंका जन्माएको छ।
भारतको छिमेकी सहर लखनउमा लन्डनबाट आफ्नो घर फर्केकी एक गायिका कनिका कपुरले १४ दिन एकान्तवास (सेल्फ आइसोलेसन) मा नबसी विभिन्न समारोह र भोजभतेरमा सहभागी हुँदा सिंगो सहर लक–डाउनको स्थितिमा छ।
विश्व स्वास्थ्य संगठनको प्रारम्भिक प्रतिवेदनले एउटा संक्रमित व्यक्तिले औसतमा २.६ व्यक्तिलाई संक्रमित तुल्याउँछ र ती व्यक्तिहरूसँग भेटेका नयाँ १० जना मानिसबाट एक साता पनि नबित्दै ३५ सयभन्दा बढी जनसंख्यालाई संक्रमित तुल्याइदिन्छन्। त्यसपछि त परिस्थिति कल्पना बाहिर पुग्छ र महामारीको रूप लिन्छ। इटालीले त्यस्तै खराब अवस्थाको सामना गरिरहेको छ।
विश्वका शक्तिशाली देशहरू र अझ खासगरी भन्ने हो भने प्रमुख आर्थिक शक्तिहरू यो महामारीसँग जुझ्न सकिरहेका छैनन्। नेपालले आफ्नो क्षमता र वस्तुस्थिति नियालेर रक्षात्मक उपाय अपनाउनु नै सबैभन्दा बुद्धिमानी हुन्छ। सरकारले केही अत्यावश्यक निर्णय लिएको छ। मुलुकका सीमानाका वस्तु आपूर्तिबाहेक मानिसहरूको आवतजावत बन्द गर्ने, अन्तर्राष्ट्रिय उडान बन्द गर्ने, लामो दूरीका सवारी रोक लगाउने र मानिसहरूलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर नजान, २५ जनाभन्दा बढी जम्मा नहुन गरेका आह्वान सकारात्मक छन्। अब ढिला नगरी थप कदम चाल्नुपर्छ।
जति धेरै परीक्षण गर्यो, उति धेरै मानिसको जीवन जोगाउन सकिन्छ। कतार हुँदै आएकी ती युवतीमा संक्रमण देखिएको छ। एकछिनका लागि सोचौं– कतार नेपालीको श्रम गन्तव्य मुलुक पनि हो। वैदेशिक रोजगारबाट फर्केका कति मानिस नेपाल फर्केर आफ्ना घरपरिवारकहाँ पुगिसकेका छन्। तिनले अरू कति यात्रु, आफन्त र साथीभाइ भेटे होलान्। अशुभ नसोचौं, सबै ठीकठाक होस्। तर हामी समयमै रक्षात्मक त हुनैपर्छ। अब एउटा संक्रमित व्यक्ति मात्रै हो भनी बस्ने बेला यो होइन।
यतिबेलाको महत्वपूर्ण कदम भनेको दोस्रो चरणको सुरक्षा उपाय अपनाउने नै हो। संक्रमितका घरपरिवार त क्वारेन्टिनमा बसिसकेका छन्। अब उनीसँगै जहाजमा आउने अन्य यात्रुलाई पनि पहिचान गरी परीक्षण गरौं। त्यसपछि क्रमशः दैनिक धेरैभन्दा धेरै परीक्षण गर्दै उपचार गर्नेतर्फ लागौं। यसो गरे मात्र हामीले धेरैको जीवन जोगाउन सक्छौं। अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत्, पानी, दैनिक उपभोग्य वस्तुबाहेक अन्य सेवा केही अवधिका लागि बन्द गर्नु नै बुद्धिमानी हुन्छ।
यस्तो बेलामा राज्यलाई सहयोग गर्नु नागरिकको कर्तव्य हुन्छ। आफू जहाँ बसेको छ, त्यही बसौं। यात्रा र भेटघाट नगरौं। यात्रा र भेटघाट गर्नु भनेको अरू समस्या थप्नु हो। जति कम संक्रमित, त्यति छिटो समस्या नियन्त्रणमा लिन सहज हुन्छ भनी जर्मनीले दुईजनाभन्दा बढी मानिस आपसमा हिँडडुल गर्न, भेटघाट गर्नसमेत प्रतिबन्ध लगाएको छ। यो भाइरसले पद, प्रतिष्ठा, धनी–महाजन, गरिब, जात, धर्म, भूगोल केही भन्दैन। जर्मन चान्सलर एन्जेला मर्केल नै संक्रमित भएपछि एकान्तवासमा छिन्।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सबैभन्दा महत्वपूर्ण भूमिका नागरिककै हुन्छ। उनीहरूले मर्यादित र अनुशासित हुने हो भने सरकारलाई यो समस्या नियन्त्रण गर्न केही सहज हुने थियो। बाह्य मुलुकमा यात्रा गरेर फर्केका मानिसहरू अनुशासित भएर १४ दिन (परीक्षणकाल) मा एकान्तवासमा बसे पुग्छ। जस्तो– चीनबाट फर्केका पूर्वराजदूत लीलामणि पौडेल, अस्ट्रेलियाबाट फर्केका गायक दीपक बज्राचार्य र उनको टोलीलगायत केही व्यक्ति मर्यादित भएर एकान्तवासमा छन्। यसरी आफू संयम भइदिँदा अरू संक्रमित हुनु पर्दैन। अरूले दुःख पाउनुपर्दैन भन्ने चेतना संक्रमणको सम्भावित जोखिममा रहेका व्यक्तिले अपनाउनु उत्तम हुन्छ।