राउटे बस्तीबाट कोरोना संक्रमणको जोखिम

सुर्खेत : जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायमा कोरोना संक्रमण फैलिनसक्ने सम्भावना देखिएको छ। राउटे बस्तीलाई लकडाउन गरिए पनि उनीहरूले स्विकारेका छैनन्। खाद्यान्नको जोहो गर्न भन्दै उनीहरू अहिले पनि विभिन्न गाउँ र बजार घुमिरहेका छन्। कोरोना संक्रमण फैलिन नदिन सरकारले देशभरि लकडाउन गरेको छ।
सुर्खेतको भेरीगंगास्थित खोला किनारको राउटे बस्तीलाई पनि लकडाउन गरिएको छ। भेरीगंगा नगरपालिकाले लकडाउन गरे पनि राउटे समुदायले पालना नगर्दा जोखिम थप बढेको मेयर भुपेन्द्रबहादुर चन्दले बताए। ‘हामीले राउटे बस्तीलाई पनि लकडाउन गरेका छौं,’ उनले भने, ‘बाहिरका मान्छेलाई बस्तीमा जान र उनीहरूलाई पनि बाहिर आउन प्रतिबन्ध लगाएका छौं। तर उनीहरूले मानेका छैनन्, बस्तीमा खाद्यान्न नभएको र बाँच्न कठिन भएको भन्दै उनीहरू गाउँमा घुमिरहेका छन्।’
फिरन्ते राउटेलाई कोरोनाबाट सुरक्षित राख्न प्रयास गरे पनि उनीहरूले नमान्दा समस्या भएको नगरपालिकाको भनाइ छ। राउटे बस्तीलाई लकडाउनमा राख्न कठिन हुँदा संक्रमण फैलिने जोखिम बढेको मेयर चन्दले बताए। बजार र गाउँमा भेटिएका राउटेलाई प्रहरीले पक्राउ गर्दै राउटे बस्तीमा पु¥याउने गरेको छ। तर बुझाउन समस्या भइरहेको नगरपालिकाले जनाएको छ। राउटे बस्तीलाई लकडाउनमा राख्न इलाका प्रहरी कार्यालय छिन्चुलाई जिम्मा दिइएको छ। लकडाउन पालना गर्न नमानेका राउटेले नगरपालिकालाई बस्तीमा शौचालयसमेत बनाउन दिएका छैनन्।
कोरोनाको त्रासपछि सरकारले २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने नियम लागू गरेको छ। तर राउटे समुदायका १ सय ५० जना एउटै हुलमा बस्दै आएका छन्। राउटे बस्तीमा भोकमरी हुन नदिन प्रदेश सरकारसँग खाद्यान्न मागिएको छ। कम्तीमा एक महिना पुग्ने खाद्यान्न व्यवस्था गरिदिन प्रदेशसँग माग गरिएको छ। काठका सामान बनाएर बेची राउटेले जीवन निर्वाह गर्दै आएका छन्। ‘मेरा जनता भोकै हुने अवस्था छ,’ राउटे मुखिया सूर्यनारायण शाहीले भने, ‘हामीलाई गाउँमा जान नदिने हो भने दाल र चामल देऊ।’
प्रतिक्रिया दिनुहोस !
