म्याग्दीका ६ जलविद्युत आयोजनाको निर्माण रोकियो
बेनी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना) भाइरसका त्रासका कारण म्याग्दीका छवटा जलविद्युत आयोजना निर्माण रोकिएको छ। कोरोना भित्रन नदिन र रोकथामका लागि सरकारले गरेको लकडाउन तथा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञापछि २७८.५ मेगावाट क्षमताका ती आयोजनाको निर्माण रोकिएको हो।
जलविद्युतका साथै सबस्टेसन, प्रशारण लाइन, सडक, भवन, सिचाइ, नदी नियन्त्रणलगायत जिल्लाभरका पूर्वाधार आयोजना निर्माण ठप्प भएको छ । लकडाउन र निषेधाज्ञा पछि आयोजना रोकिँदा हजारौ मजदुर प्रभावित भएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको दानामा निर्माणाधिन २२० केभी क्षमताको सबस्टेसनमा कार्यरत चन्द्रबहादुर थापाले दैनिक ज्याला श्रम गरेर परिवार पाल्दै आएका मजदुर वर्ग नराम्ररी प्रभावित भएका बताए ।
'सबै मजदुर आयोजना स्थलको क्याम्पमा बसेका छौं, 'उनले भने, 'यातायात बन्द भएकाले घर जान पाएनौं। खाद्यान्न, ग्यास, दाउराकोको व्यवस्था मिलाउन ठेकेदारलाई भनेका छौं।'
नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको दाना-खुर्कोट प्रशारण लाइन र सब स्टेसनमा नेपाली र भारतीय गरेर करिब तीन सय मजदुर छन् । यो आयोजना २०७७ बैशाखभित्र सञ्चालन गर्ने लक्ष्य राखिएको थियो ।
अन्नपूर्ण गाउँपालिकाको नारच्याङस्थित ११० मेगावाट क्षमताको निलगिरी र निलगिरी क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको निर्माण रोकिएको प्रर्बद्धकले जनाएका छन् ।
रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट र ३७.५ मेगावाटको राहुघाट मंगले जलविद्युत आयोजना निर्माणाधिन छन् । मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना, डाडाखेत र रातोढुङ्गा सब स्टेशन निर्माणाधिन छन् ।
निलगिरी हाइड्रोका इञ्जिनियर केशव वाग्लेले आयोजनाका ४०० भन्दा बढी मजदुरलाई विभिन्न क्याम्पमा सुरक्षित साथ राखिएको बताए । मिस्त्री खोला जलविद्युत आयोजनाका इञ्जिनियर दिवाकर खड्काका अनुसार तीन सय भन्दा बढी मजदुर, प्राविधिक पनि काम रोकेर एकान्तबास बसेका छन् ।
मिस्त्रीखोला निर्माणको अन्तिम चरणमा पुगेको थियो । बैशाखभित्र परीक्षण उत्पादन गर्ने तयारी थियो । घारखोलाको प्रर्वद्धक म्याग्दी हाइड्रोपावरका प्रकाशचन्द्र पौडेलले तीन सय भन्दा बढी मजदुर क्याम्पमा बसेका बताए । घर जान नपाएका उनीहरुलाई खाद्यान्न र इन्धनको व्यवस्थापनका लागि पहल गरिएको बताए ।
रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले लकडाउन घोषणा लगत्तै आयोजनाको काम रोकिएको बताए । भारतीय ठेकेदार कम्पनी जेपी एसोशियट्सका ४०० भन्दा बढी मजदुरलाई क्याम्पमा राखिएको उनले बताए।
सतर्कता अपनाएर क्याम्पबाट बाहिर ननिस्कन निर्देशन दिइएको छ । बेनी-जोमसोम, पोखरेबगर-घार, बेनी-दरवाङ, रत्नेचौर-बेनी सडक आयोजनाको काम पनि ठप्प भएको निर्माण व्यवसायी संघका अध्यक्ष नारायण जिसीले बताए ।
'एक दुई हप्तालाई पुग्ने रासनपानीको व्यवस्था गरेर मजदुरहरुलाई सुरक्षित साथ क्याम्पमा राखिएको छ, 'उनले भने, 'समस्यामा परेका मजदुरको लागि प्रशासन र सुरक्षा निकायमा पहल गर्छौ ।'
लकडाउन भएपछि धेरै मजदुरहरुले घर जाने इच्छा व्यक्त गरेपनि कोरोनाको बारेमा सचेत बनाएर जहाँ हो त्यही सुरक्षित बस्न भनिएको छ । कोरोनाको त्रासले जलविद्युत लगायत पूर्वाधार आयोजनाको कार्यतालिका प्रभावित भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले खाद्यान्न र ग्याँसको अभाव नभएको बताए ।