सप्तरीको क्वारेन्टाइनमा ८४ जना
राजविराज : सप्तरीका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा भारतलगायत विदेशबाट आएका पाँच महिलासहित ८४ जनालाई राखिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा एक महिलासहित १२ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा सात पुरुष, शम्भुनाथ नगरपालिका ७ स्थित बुद्धिलाल बिद्या मुनर नमुना मावि भगवतपुरमा पाँच पुरुष, बोदे बर्साइन र कञ्चनरुप नगरपालिकामा दुई÷दुई पुरुषलाई राखिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा बिहीबार १८ जना थप भएको र पाँच जनालाई डिस्चार्ज गरिएको उनले बताए ।
सप्तरी जिल्लाको १८ मध्ये १७ वटा स्थानीय तहले अस्पताल, स्वास्थ्य चौकी, बिद्यालय, सामुदायिक भवन गरी विभिन्न २३ स्थानमा क्वारेन्टाइन सञ्चालन गरेको छ ।
हालैमात्र भारतलगायत विदेशबाट आएका व्यक्तिहरुलाई १४ दिनसम्म एकान्तवासमा राखी निगरानी गरिने र लक्ष्ण नभेटिएकालाई डिस्चार्ज गर्दै जाने राजविराज नगरपालिकाका स्वास्थ्य निरीक्षक शिवनारायण चौधरीले बताए ।
खुला सीमाको विभिन्न नाकाबाट आएका र हवाई उडानबाट आएकाको खोजी गरी सम्बन्धित नगरपालिका तथा गाउँपालिकामै व्यवस्था गरिएको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।