कोरोना त्रास : बार लगाएर लकडाउन

कोरोना त्रास : बार लगाएर लकडाउन

जुम्ला : कोरोना भाइरस संक्रमणको त्रास जताततै फैलिरहेका बेला जुम्ला सिंजाका एक गाउँमा भने बार नै लगाएर गाउँ प्रवेशमा निधेष गरिएको छ । भार लगायत सहरबाट बिना परीक्षण धमाधम गाउँ छिर्न थालेपछि गाउँलाई संक्रमण हुन नदिन गाउँलले बार लगाएका हुन् ।

कनकासुन्दरी गाउँपालिका–५ का स्थानीयले तारबार नै लगाएर बाहिरबाट आउनेलाई गाउँ छिर्न बन्देज गरेका छन् । नेपालगन्जमा क्वारेन्टाइनमा बसेकाहरू पनि भागेर जुम्लाका विभिन्न गाउँ गाउँमा पुगेका छन् । प्रभावित क्षेत्रबाट आएकाले परीक्षण नगरी गाउँ प्रवेश नदिन बार लगाइएको स्थानीय जगदीश उपाध्यायले जानकारी दिए ।

‘लकडाउन भए पनि गाउँमा भारतबाट आउनेको भीड छ । केहीगरी गाउँमा भाइरसको संक्रमण फैलियो भने नियन्त्रण गर्ने उपाय हामीसँग छैन । मानिसहरू चोर बाटो हुँदै गाउँ छिर्न थालेका छन्,’ उनले भने, ‘त्रास बढेपछि गाउँ प्रवेश मुल बाटो नै बार लगाएर बन्द गर्नुपरेको हो ।’

यहाँका अधिकांश युवा रोजगारीका लागि भारतमै निर्भर छन् । वर्षभरीको खर्च जोहो गर्न गाउँका सबै युवा भारततिर जान्छन् । तर, यसपाली भारतमा पनि कोरोनाको प्रभाव बढेपछि कमाउन गएकाहरू धमाधम गाउँ फर्किन थालेका छन् । त्यसमध्ये केही क्वारेन्टाइनबाटै भागेका छन् भने, केही लुकिछिपी गाउँ फर्किएका छन् ।

उनीहरूबाट संक्रमण फैलिन सक्ने भन्दै गाउँ सुरक्षाका लागि बार लगाएको अर्का स्थानीय जनक हमालले बताए । ‘कोरोना नियन्त्रणबारे गाउँमा चेतना छैन । यहाँका मानिसहरू अहिले पनि बिरामी हुँदा धामीझाँक्रीकै भरमा हुन्छन्,’ उनले भने, ‘अहिले त महामारी नै फैलिँदै गरेको अवस्थामा मानिसहरू जाँच नै नगरी गाउँ आएका छन् । उनीहरूलाई रोक्न पहिलो चरणमा घेरबार लगाइएको हो ।’

सिंजा क्षेत्रबाट नजिककैको सुविधासम्पन्न मानिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्न पनि कम्तिमा ८ घण्टा लाग्छ । यस्तोमा गम्भीर बिरामी भएका कतिपयले अस्पताल नपुग्दै ज्यान पनि गुमाएका छन् । गाउँका स्वास्थ्य चौकीमा समान्य किट पनि नभएको उनले गुनासो गरे । ‘आफ्नै तर्फबाट केही गर्न सकिन्छ कि भनेर हामीले आफैं रकम उठाएर सावुनपानी वितरण गरिरहेका छौं । तर, अहिले बाहिरबाट गाउँ छिर्नेहरूका कारण थप त्रास पैदा भएको छ ।’

यस्तै, गाउँ छिर्न मात्रै होइन, यहाँबाट यतिबेला कसैलाई बाहिर जान पनि दिइएको छैन । बाहिर जान खोज्नेहरूलाई पनि कोरोना संक्रमणबाट हुने नोक्सानीबारे बुझाउँदै गाउँभित्रै बस्न अनुरोध गरिएको हमालले बताए ।

प्रवेशद्वारमै बार

 कोरोनाको जोखिम न्यूनीकरण गर्न गोरखाको एक टोलका स्थानीयले प्रवेशद्वारमै बार लगाएको छ । गोरखा नगरपालिका–९ चिसापानी डाडागाउँका बासिन्दाले मूल सडकबाट गाउँ प्रवेश गर्ने पिपलबोटचोकमा बारबन्देज गरेका हुन् । पिपलबोट युवा क्लब र चिसापानी डाँडागाउँ टोल विकास संस्थाको संयुक्त निर्णयले बार लगाइएको छ क्लबका अध्यक्ष सुकन श्रेष्ठले बताए ।

‘सरकारले लकडाउन गरेको छ तर गाउँमा चहलपहल ह्वात्तै बढ्यो,’ क्लबका अध्यक्ष श्रेष्ठले भने, ‘त्यही भएर टोल विकास संस्था र क्लबको बैठकले बिहीबार बिहानदेखि बाटो बन्द गरेका हौं ।’ टोलमा ७५ घरधुरी छन् । उनीहरूले सडकमै खाँबा गाडेर बाँसको घनाले बारेका छन् । सरकारले लकडाउन नखुलाएसम्म बार नहटाउने क्लबले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.