चीनबाट ल्याएको स्वास्थ्य सामग्री चार प्रदेशमा पठाइने
काठमाडौं : चीनबाट शनिबार ल्याइएको स्वास्थ्य सामग्री विभिन्न चार प्रदेशमा वितरण हुने भएको छ। उपप्रधान तथा रक्षामन्त्री र्ईश्वर पोखेरलको संयोजकत्वको
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको उच्चस्तरीय समन्यव समिति बैठकले चीनबाट ल्याइएको औषधि र स्वास्थ्य उपकरण, पोर्टेबल पिसिआर मेसिन वितरण गर्ने निर्णय गरेको हो।
चीनबाट पाँच थान पीसीआर मेसिन आइपुगेको छ। हाल चार प्रदेशमा १-१ थान पठाउने निर्णय भएको छ।
मागलाई ध्यानमा राखेर प्रदेश दुई, प्रदेश पाँच (नेपालगञ्ज वा बुटवलमा रहनेगरी) कर्णाली प्रदेश (सुर्खेतमा रहनेगरी), सुदूरपश्चिम प्रदेशमा गरि १–१ थानका दरले चार थान तत्काल पठाइहाल्ने निर्णय गरेको सचिव नारायण बिडारीले जानकारी दिए।
बाँकी एउटा काठमाडौंमा राख्ने र जहाँ आवश्यक पर्न सक्छ पठाउने निर्णय भएको बिडारीको भनाइ छ। ‘धरानमा सुरु भइसकेकाले त्यसैबाट काम सुरु हुन्छ’, उनले भने, ‘अन्य स्थानमा आवश्यकताअनुसार सुरु गरिनेछ।’
यो पठाउने क्रममा एक हजार थान औषधि, उपकरण पठाउने निर्णयसमेत भएको उनले जानकारी दिए।