नुवाकोटमा १ सय ८३ जना क्वारेन्टाइनमा
नुवाकोट : नुवाकोटमा १ सय ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। नेपाल आएका एक युवकलाई सोमबार आइसोलेसनमा राखिएको छ।
नुवाकोटमा विदेशबाट फर्किएकालाई मात्रै क्वारेन्टाइनमा राखिएको छ। जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अविनारायण काफ्लेका अनुसार सरकारी क्वारेन्टाइनमा एक महिलासहित १४ जनालाई राखिएको छ। विदुर नगरपालिका ४ विदुरस्थित ४६ वर्षीय एक पुरुषलाई कोलोनीस्थित नुवाकोट जिल्ला अस्पताल त्रिशूलीको आइसोलेसनमा राखिएको छ। ती युवक चैत्र ७ गते दुबईबाट एयर अरेबियाको विमानमा चौथो संक्रमित धनगढीका युवकसँगै काठमाडौं उत्रिएका थिए।
उनी बिरामी परेर कोरोनासग मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसनमै राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ।
नुवाकोटमा विदेशवाट आएका १ सय ६८ जनालाई होम क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ। त्रिशूलीस्थित क्वारेन्टाइनमा एक महिलासमित १३ र खरानीटारमा एक जनालाई सरकारी क्वारेन्टाइनमा राखिएको छ। विदेशबाट फर्किनेमा सबैभन्दा बढी विदुर नगरमा छन्।
विदुर नगरपालिकाका ४२ जना, बेलकोटगढी नगरपालिकाका ३८ जना, लिखु गाउँपालिकाका ६ जना, तादीको ७ जना, म्यागंघका १० जना होम क्यारेन्टाइनमा बसेका छन्। यस्तै, तारकेश्वरका ४ जना, पञ्चकन्याका ५ जना र सुर्यगढी गाउँपालिकाका २ जना होम क्यारेन्टाइनमा बसेको प्रहरीले जनाएको छ। विशेषगरी भारत, मलेसिया, कतार, दुबईलगायत देशबाट नेपाली नुवाकोट आएका छन।
सबै १२ स्थानीय तहमा प्रहरी र प्रशासनलगायतको सहयोगमा विदेशबाट आउनेको विवरण संकलन गर्ने कार्यले तीव्रता दिइएको छ। नुवाकोटका डीएसपी राजेश थापाले भने, ‘विदेशबाट फर्केकालाई घरघरमै पुगेर होम क्वारेन्टाइन वा पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा राखेका छौं।
सदरमुकाम विदुरदेखि ५० किलोमिटर दुरीको पूर्वी भेगमा रहेको शिवपुरी गाँउपालिका १ तलाखुस्थित बिनडाँडामा कोरोनाको लक्षणसंग मिल्दो एकजना बिरामी भेटिएका कारण उनलाई उपचारका लागि काठमाडौं पठाइएको नुवाकोट प्रहरीले जनाएको छ।