मुख्यमन्त्रीको 'एन-९५' मास्क

मुख्यमन्त्रीको 'एन-९५' मास्क

जनकपुरधाम : कोभिड-१९ कोरोना भाइरसको महामारीबीच फ्रन्टलाइनमा सेवा प्रदान गरिरहेका प्रदेश २ अधिकांश स्वास्थ्यकर्मीहरु कपडाको जाबि (सामान्य मास्क) लगाएर बिरामी चेकजाँच गर्न बाध्य छन्। तर, जोखिमबाट निकै टाढा रहेका मुख्यमन्त्री र मन्त्रीहरु भने एन-९५ मास्क लगाएरै मन्त्रालय जाने गर्छन्। 

मुख्यमन्त्री लालबाबु राउत आफैं मात्र नभई उनका सुरक्षा गार्ड र पीएसओ पनि चिकित्सकहरुले लगाउने एन-९५ मास्क नै प्रयोग गर्छन्। मुख्यमन्त्री राउतका अधिकांश मन्त्रीहरुले पनि यही मास्क प्रयोग गर्छन्। 

भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवलकिशोर साह, वन तथा पर्यटन मन्त्री रामनरेश राय र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव पनि एन-९५ मास्कको प्रयोग गरिरहेका छन्। मन्त्रालयका अन्य कर्मचारीहरुसँग पनि यो मास्क उपलब्ध छ। 

कोरोना संक्रमणको मुख्य जोखिम मोलेर स्वास्थ्य संस्थामा बिरामीको सम्पर्कमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक सुरक्षा सामग्री एन-९५ मास्कको उपलब्धता प्रदेशमा निकै कम छ। यस्तोमा मुख्यमन्त्री र मन्त्रीहरुले अनावश्यक रुपमा यो मास्क लगाउँदा चिकित्सकहरुले आपत्ति जनाएका छन्।

‘हामीले धुलो धुँवा रोक्न लगाइने सामान्य मास्क प्रयोग गरी कोरोना शंकास्पद बिरामी पनि जाँचिरहेका छौं’, प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सी वार्डमा कार्यरत डाक्टर अवधेशकान्त झा भन्छन्, ‘यहाँ दिनभरी १५ देखि २० जना कोरोनाका शंकास्पद  बिरामी आउँछन् यस्तोमा पिपिई समेत नभएका बेला हामी एकजना चिकित्सक संक्रमित भयौं भने त्यसले सयौं व्यक्तिमा संक्रमणको जोखिम बढाउन सक्।’

प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमण चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुले सर्जिकल गाउन, रेनकोट र सामान्य खालको मास्क र पञ्जा लगाएर सेवा दिनुपर्ने बाध्यता रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादव बताउछन्। एकातर्फ स्वास्थ्यकर्मीले सामान्य मास्क लगाएर सेवा दिन बाध्य हुँदा अर्कोतर्फ पावर र पहुँचकै भरमा मुख्यमन्त्री र मन्त्रीहरुले एन-९५ मास्क लगाउनु शोभनीय नरहेको चिकित्सकहरुको ठम्याइ छ। 

‘कुनै प्रकारको रोग नलागेको र संक्रमणको जोखिममा समेत नरहेका व्यक्तिहरुले यो मास्क लगाउनु आवश्यक छैन्,’ प्रदेश २ समाजिक विकास मन्त्रालयका आपूर्ति शाखा प्रमुख डा.प्रमोद कुमार यादव भन्छन्, ‘यो एन-९५ मास्क मुख्यमन्त्री र मन्त्रीज्यूहरुले व्यक्तिगत रुपमै उपलब्ध गरेको हुनुपर्छ।’ पीपीई सेटसँगै आउने यो मास्क छुट्टै खरिद गर्नु अहिले निकै गाहे रहको यादव बताउँछन्। एउटा मास्कको मूल्य अहिले हजार देखि १५ सय रुपैंयासम्म परिरहेको र त्यो पनि पाउन निकै कठिन रहेको यादवले जानकारी दिए। 

‘मुख्यमन्त्रीज्यू काठमाडौं गएका बेला ३ वटा एन-९५ मास्क किनेर ल्याएका थिए,’ मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्र भन्छन्, ‘व्यक्तिगत रुपमा खरिद गरिएको मास्क नै मुख्यमन्त्रीका सुरक्षा गार्ड र पीएसओले लगाएका हुन्।’

आफूले अहिले एन-९५ मास्क प्रयोग गर्न छाडेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए। ‘हामी मन्त्रीहरु फ्रन्टलाइनमा छैनौं र यो मास्क हाम्रो लागि खासै उपयोगी पनि छैन,’ अन्नपूर्णसँग कुरा गर्दै मन्त्री यादवले भने, ‘यो त तपाई सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको लागि न हो।’

मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयमा सुरक्षा निकाय र प्रशासनिक प्रमुखहरुको बैठकमै बिरामी चेकजाँचमा हेलचक्राई गर्ने स्वास्थ्यकर्मीहरुको लाइसेन्स नै खारेज गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।स्वास्थ्यकर्मीहरुलाई सामान्य सुरक्षा सामग्री समेत उपलब्ध गराउन नसक्ने सरकारले यस्तो मनोबल गिराउने अभिव्यक्ति दिएपछि उनको मास्कमाथि चर्चा सुरु भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.