भारतबाट फर्किएकाको खोजी गर्दै सप्तरी प्रहरी
राजविराज : भारतको विभिन्न जिल्लामा सम्पन्न इस्लाम धर्मावलम्बीको जमातमा सहभागी भएर घर फर्किएकाको सप्तरी प्रशासनले तीव्र खोजी सुरु गरेको छ । भारत विभिन्न राज्यमा आयोजित जमातबाट फर्किएकासमेत बुधबार ४५ जना थपिएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या एक सय ८१ पुगेको छ ।
भारतको नयाँ दिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलिगी जमातको मुख्य कार्यालयमा आयोजित धार्मिक सभामा सहभागी भएर नेपाल फर्किएको खबरपछि बुधबार बिहानैदेखि सुरक्षाकर्मी घर-घर पुगेर उनीहरुको खोजी गर्न सुरु गरेका हुन् ।
भारतीय सञ्चार माध्यमले तबलिगी जमातमा सहभागीमा कोरोना भाइरस संक्रमण देखिएको र ८जनाको मृत्यु भएको समाचार सार्वजनिक भएपछि जिल्लामा सन्त्रास छाएको छ । नेपाल-भारतको सीमानाका बन्द भएपनि मंगलबार मध्यराति भारतको फारबिसगञ्जबाट घर फर्किएका राजविराज नगरपालिका-१ का एक जना, वडा नम्बर ३ र ४ का दुई÷दुई जना र वडा नम्बर ७ र ९ का एक÷एक जना गरी सात जनालाई क्वारेन्टाइनमा पठाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।
उनीहरुको खोजीमा प्रजिअ खनालसहित एसपी, सशस्त्र एसपी, कर्णेल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट स्वयम् घर-घर पुगे । कतिपय भने स्वयम् क्वारेन्टाइन पुगेका छन् ।
स्वास्थ्य जाँच नगराई मध्यराती आइ पुगेका उनीहरु घरमै एकान्तवासमा बसेपनि सुरक्षाका लागि राजविराज ४ स्थित एक घरमा छुट्टै क्वारेन्टाइन बनाई राखिएको राजविराज वडा नम्बर ४ का वडा अध्यक्ष अख्तर अलीले बताए ।
सप्तरीको बोदे बर्साइन- ५ स्थित चन्द्र नमुना माविमा पाँच जना, कञ्चनरुप नगरपालिका-१ वैरवास्थित लक्ष्मीनारायण माविमा १७ जना, हनुमाननगर नगरपालिका-२ स्थित सकरदही माविमा आठ जना, रुपनी गाउँपालिका- ५ बसपिट्टीस्थित जनता आधारभूत माविमा चार जनालाई क्वारेन्टाइनमा बुधबार थपिएको छ ।
यसैगरी बलान बिहुल गाउँपालिका-१ स्थित स्वास्थ्य चौकी मल्हनियामा पाँच जना, राजगढ गाउँपालिका-३ स्थित जसमावि नर्घो र महादेवा गाउँपालिका-३ स्थित मावि बथनामाहा दुई÷दुई जना, सुरुङ्गा नगरपालिका-५ स्थित मसिलाल मावि र तिलाठी कोइलाडी गाउँपालिका-८ स्थित लबनमाविमा एक÷एक जना थप गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यसरी थपिएकामा अधिकांश जमातबाट फर्किएकाहरु छन् ।
भारतको विभिन्न ठाउँबाट घर फर्किएकाहरुलाई जनप्रतिनिधिको सहयोगमा क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ,' एसपी कृष्ण प्रसाईले भने, 'कतिपय स्वयम् क्वारेन्टाइन आइरहेका छन् भने नआएकाको खोजी भइरहेको छ ।'
सप्तरीबाट दुई दर्जनभन्दा बढी व्यक्ति दिल्ली गएर फर्केको आशंका गरिए पनि फेला परेको छैन् । सप्तरीको बोदे बर्साइन नगरपालिकामा गत फागुन ३ देखि ५ गतेसम्म भएको इस्लामिक धार्मिक सभा इज्तिमा सकिएलगत्तै मुस्लिम समुदायका व्यक्तिहरु जमातमा सहभागी हुन विभिन्न ठाउँका मस्जिद जान्छन् । दिल्लीको वैठकमा सहभागी दिल्लीकै क्वारेन्टाइनमा रहेको उनीहरुले बताएका छन् ।
भारतको दिल्ली नजामुद्दीस्थित जमातमा सहभागीहरुमा कोरोनो संक्रमण देखिएपछि भारतबाट फर्किएका सबैमाथि प्रहरीले निगरानी बढाएको हो । दिल्लीको वैठकमा नपुगेको जनाउँदै क्वारेन्टाइनमा आएकाहरुले ४० दिनको जमातमा भारत बिहारको विभिन्न जिल्लाको मस्जिदहरुमा बसेको र ४३औं दिनमा मङ्गलबार राति घर फर्किएको बताए ।
ज्वरो जाँच परीक्षण गरेका गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका ल्याब टेक्निसियन कृष्णचन्द्र मिश्रले इस्लामिक जमातबाट राजविराज फर्केका सात जनाको अवस्था सामान्य रहे पनि क्वारेन्टाइनमा राख्नु आवश्यक रहेको बताए । सप्तरीको १८ वटा स्थानीय तहमा रहेको २८ वटा क्वारेन्टाइनमा बुधबार ४५ पुरुष थपिएकोमा दुई महिला र २८ पुरुषलाई घर डिस्चार्ज गरिएको छ।