लकडाउनमा जीवनको लय

लकडाउनमा जीवनको लय

घरअगाडिको सडक सुनसान छ । चराहरूको स्पष्ट र चर्को आवाज सुनेर लाग्दै छ, उनीहरू माइक राखेर कराउँदै छन् । सधैँ व्यस्त रहने काठमाडौँको पुतलीसडक यति शून्य त राति पनि हुँदैनथ्यो । फाट्टफुट्ट गुड्ने मोटरसाइकल, पानी ट्यांकर, सेना र प्रहरीका गाडीले त्यो शून्यतालाई चिर्दै छ बेला–बेलामा । नत्र, सडकपारिको छिमेकी बोल्दै गरेको सुन्न पाउनु पुतलीसडकमा कहाँ सम्भव हुनु ! 

पुतलीसडकचोक दुई सय मिटरको दूरीमा पनि छैन, म बसेको ठाउँबाट । खाद्य र तरकारी बजार त्यतै छ । त्यहाँ पुगेर फर्किंदा असिनपसिन हुनुपर्ने कारण छैन । तर, भयो त्यस्तै । दुइटा काउली, गोलभेँडा, साग, दुई पोका दूध । किनेको त यति नै हो । न हात गल्यो, न कुम । मास्क लगाएर, हातमा स्यानिटाइजर दलेरै बजार गएको थिएँ । 

फर्किंदा असिनपसिन भइयो । 

सोचेर आफैँ दंग छु । 

यसबीच मनमा अनेक कुरा खेले । पहिले त घरमा पुगेर खरिद गरेका सामग्री कहाँ बिसाउने होला भनी अलमलिएँ । मन भारी गरेर झोला भान्छाभन्दा बाहिरको बेन्चमा बिसाएँ । मास्क फुकालेँ । तर, कहाँ राख्ने ? फेरि अलमलिएँ । हतपत मास्कलाई झ्यालबाहिर घाम बेस्सरी लाग्ने ठाउँमा झुण्ड्याएँ । घाममा दुई घण्टा राखेपछि कीटाणु साफ हुन्छ भन्ने सुनेको थिएँ । साबुन दलेर मज्जाले हात धोएँ । अनि, बल्ल झोलाका सामान निकालेँ । 

सामान फ्रिजमा राख्न पनि डर लाग्यो । मनमा डर थियो, त्यो सागको मुठा कतिले छोइसकेका होलान्, दूधको पोका क–कसले टिपेका होलान्, गोलभेँडा छान्न कति हात परिसकेका होलान् ? 

आशंका र भयले आफ्नो आकार बढाउँदै थियो । 

अचानक नाक बगेजस्तो भयो । अनायासै हात नाकमा पुगिसकेको थियो । अहो ! यसरी नाक छुन नहुने थियो । त्यत्तिकैमा घाँटी पनि खसखसाउन थाल्यो । ल बर्बाद ! हतपत फेरि साबुन दलेर हात धोएँ । हात धोएर मात्र चित्त बुझेन, बेस्सरी साबुन दलेर मुख पनि धोएँ । बाहिर गएर फर्किएको ज्याकेट फुकालेर अलग्गै राखेँ । के–के मात्रै छुट्टै राख्ने ? बाहिरबाट फर्किएपछि आमाको नजिक जान पनि हिचकिचाहट भयो । घरमै मास्क लगाएर बस्ने अवस्था पो आयो त । आफ्नै कोठामा छिर्न पनि डर लाग्यो । कतै श्रीमती र छोराछोरी नजिक आए भने ? दिमागमा अनेक तर्कना खेले । मुटुमा चिसो पसेसरी भयो । मन विचलित बन्यो । 

के समय आइलाग्यो । कस्तो मनोवैज्ञानिक त्रास ? 

के यो मनोदशा मेरो मात्रै होला त ? कामधाम सब बन्द गरेर घरमा बसेको छु । फुर्सदिलो छु । तर, अवस्था सास फेर्न पनि डराउनुपर्ने बनेको छ । हे कोरोना, यो के गरिस् तैँले !

कोरोना भाइरसको संक्रमण वृद्धि नहोस् भनेर नेपाल अहिले लकडाउनमा छ, अर्थात् देश बन्द छ । पूरै जनता आ–आफ्ना घर बन्द गरेर बसेका छन् । यो नौलो प्रकारको बन्दको आज नवौँ दिन हो । 

आवागमन बन्द । बजार बन्द । भेटघाट बन्द । घुमघाम बन्द । कार्यालय बन्द । धार्मिक स्थल बन्द । जात्रा–पर्व बन्द । पत्र–पत्रिका बन्द । खुद्रा व्यापार बन्द । उद्योग बन्द । 

बन्दका यी अनेक बहुआयामिकताका साथ शहर सुनसान छ । 

सधँै व्यस्त र कोलाहल रहने शहरमा न मानिसको चहलपहल छ, न गाडीको । न हर्नको आवाज छ, न धुलोधुवाँ । छ त हरेक मानिसको मनमा भय, त्रास र आशंका । 

हरेक क्षण सामाजिक सञ्जाल, टीभी, रेडियो र छिनछिनमा माइकिङ गर्दै आउने प्रहरी र नगरप्रहरीको भ्यानले घरमै बस्न र कोरोना भाइरसको संक्रमणबाट आफू पनि बच्न र अरूलाई पनि बचाउन सूचना संप्रेषण गरिरहेका छन् । यो सूचना संप्रेषण शहरमा मात्रै हो कि गाउँतिर पनि प्रभावकारी ढंगले भइरहेको छ भन्न सक्ने अवस्था छैन । सामाजिक हितका लागि जारी सूचना, सामाजिक सञ्जालमा आउने विभिन्न व्यक्तिको लकडाउन भिडियो सन्देश र बढ्दो तथ्यांकसहितका समाचारले संक्रमणप्रति सचेतना मात्रै नभएर मनोवैज्ञानिक भय पनि बढाउँदै छ । कोही पत्रिका र दूधको प्याकेटबाट पनि सर्छ भन्ने भिडियो सामाजिक सञ्जालमा राखिरहेछन् । कोही सामान खरिद गर्दा कारोबार गरिने नोटबाट पनि सर्छ भन्ने समाचार सेयर गरिरहेछन् । हावाबाट र घरपालुवा कुकुरबाट पनि सर्न सक्ने कुरा आएपछि सास फेर्न पनि डराउनुपर्ने अवस्था आएन त ! संक्रमणको लक्षण नदेखिएका मानिसले पनि संक्रमण फैलाउन सक्ने हुँदा सबैले सबैमाथि शंका गर्नुपर्ने भयो ।

कुराहरू जेजस्तो आए पनि यो सर्न सक्ने भनेको मानिस–मानिसबीच हुने सम्पर्कबाट नै हो । त्यसैले विश्वका थुप्रै देश लकडाउनको निर्णयमा पुगे । अर्थात्, आफू पनि सुरक्षित हुन र अरूलाई पनि सुरक्षित राख्न ‘घरमै बसौँ’ नीति अपनाइयो । संसर्गबाट सर्ने भएपछि संसर्ग हुन नदिन लकडाउनको विकल्प के होला ? सरकारले नागरिककै लागि गरेको लकडाउन त मानिस आफैँ उल्लंघन गरिरहेछन् । निष्फिक्री समूहमा बसिरहेछन्, घुमिरहेछन् । लकडाउन नगर्दा हुने भीड र त्यहाँबाट फैलिने संक्रमणले यहाँ पनि इटाली, स्पेन र अमेरिकाजस्तो महामारीको रूप लिनेछ । साधनस्रोत सीमित रहेको हाम्रोजस्तो देशमा कोरोनाको ताण्डव बढ्यो भने स्थिति भयानक हुने निश्चित छ । लकडाउन र कोरोना जाँच्ने उपकरणको कमीका कारण यहाँ जति संक्रमित छन्, ती सबै धरातलमा देखिएका छैनन् भन्ने धेरैले भनिरहेका छन् । फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई नै चाहिने सुरक्षा कवचको अभावमा ज्यान जोखिममा राखेर काम गरिरहेको परिवेशमा आम जनता भयरहित भएर बस्ने अवस्था छैन । कोरोना संक्रमणको चेनलाई ब्रेक गर्ने सबैभन्दा उत्तम उपाय भनेकै अहिलेका लागि लकडाउन हो । त्यसैले पटक–पटक हात धोऔँ र घरमै बसौँ । 

अन्नपूर्ण सम्पूर्णका लागि शिशिर वैद्यको विचार ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.