लकडाउनले भैरहवामा प्रदुषण घट्यो
भैरहवा : सरकारले घोषणा गरेको लकडाउनको कार्यान्वयनसँगै भैरहवा क्षेत्रको प्रदुषण निकै घटेको छ । विगत ११ दिनदेखि यहाँ सवारी साधन, उद्योग, कलकारखाना, सर्वसाधरणको हिँड्डुल, सडक निर्माण लगायत सबै काम ठप्प हुदाँ प्रदुषण घटेको हो ।
प्रदुषणले भैरहवा क्षेत्रको वायु गुणस्तर निकै खराब भए पनि केही दिन यता सुधार भएको छ ।
युनिर्भसिटी अफ न्यू मेक्सिको नेपाल स्टडी सेन्टरको प्राविधिक सहयोगमा भैरहवा स्थिती निमा–प्रतिमान स्मिृत प्रतिष्ठानले गरेको खोज–अनुसन्धानमा भैरहवा प्रदुषणको उच्च चपेटमा रहेको पाइएको थियो । प्रदुषणले बालबालिका बिरामी भएर विद्यालय जान छुट्नेदेखि मानवीय जीवनमा धेरै असर गरेको थियो ।
इनडोर (कोठाभित्र) र आउटडोर (कोठाबाहिर) प्रदुषणको अवस्थाबारे अध्ययन गरिएको थियो । प्रतिष्ठानले इनडोर प्रदुषण मापन गर्दा जाडोयाममा वायु गुणवत्ता सुचकांक ३ सय ५० देखि चार सयसम्म पाइएको थियो । जबकी इन्डोरमा १ देखि ५० सम्म वायु गुणवत्ता सुचकांकलाई स्वच्छ र राम्रो मानिन्छ । वर्षायामा १ देखि ५० भित्रै वायु गुणवत्ता सुचकांक थियो भने गर्मीयाममा २ सय ५० देखि २ सय ७५ वायु गुणवत्ता सुचकांक पाइएको थियो ।
रिपोर्ट अनुसार यस क्षेत्रमा कोठाभित्र पनि स्वच्छ वायु पाइएको थिएन । जसकारण भैरहवा क्षेत्रका अस्पतालमा प्रदुषणका कारण आँखा रोग, श्वास प्रश्वास समस्या, एलर्जी, लगायतका बिरामी पनि बढेका थिए ।
आउटडोर प्रदुषण मापनका लागि प्रतिष्ठानले भैरहवा, धकधई र बुटवल गरी ३ क्षेत्रमा प्रदुषण मापन गर्दा अवस्थामा भयवाह देखिएको थियो । यी क्षेत्रहरुमा ४ सय देखि ४ सय ५० सम्म वायु गुणवत्ता सुचकांक पाइएका थिए । आउटडोरमा एक देखि एक सय ५० सम्म वायु गुणवत्ता सुचकांकलाई स्वच्छ र राम्रो मानिन्छ ।
अहिले बाहिर प्रदुषण घट्दा कोठा भित्र प्रदुषण स्वतः घटेको छ । निमा–प्रतिमान स्मिृत प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले लकडाउनका कारण विगतभन्दा अहिले प्रदुषणको अवस्था निकै कम भएको बताइन् ।
‘अहिले आउटोरमा वायु गुणवत्ता सुचकांक एकदेखि एक सय ५० भित्रै छ’, उनले भनिन्, ‘कुनै-कुनै दिन सुचकांक ४२ सम्म पनि झरेको पाइएको छ, जुन वातावरणको लागि निकै राम्रो हो ।’
वातावरणको स्वच्छताका लागि लकडाउन नै विकल्प नरहे पनि अनावश्यक हिँडड्लु, सवारी साधनमा नियन्त्रित भए वातवरण स्वच्छ रहनमा मद्दत पुग्ने सक्ने उनको भनाइ छ ।
‘अहिलेको अवस्थाको इन्डोर र आउटडोरको रिपोर्ट आइसकेको छैन’, उनले भनिन्, ‘तर हाल देखिरहेको रिपोर्टलाई विश्लेषण गर्दा इन्डोर र आउटरडोर दुवैमा प्रदुषण निकै घटेको छ ।’छिमेकी मुलुक भारतबाट पनि वायुको माध्यबाट यो क्षेत्र प्रदुषित हुने गरेकोले त्यो पनि अहिले कम भएको छ ।