कलाकारद्वारा नगद सहयोग घोषणा

कलाकारद्वारा नगद सहयोग घोषणा

देशमा संकट पर्दा धेरै पारिश्रमिक लिने कलाकार सहयोगका लागि अगाडि आएका छैनन्। तर, मनकारी केही कलाकार भने सहयोगी हात बढाइरहेका छन्। 


नेपालमा कोरोना भाइरसको संक्रमित बढ्न थालेपछि सरकारले ‘लकडाउन’ एक हप्ता थप गरेको छ।  अवस्था यथावत् रहे यो अवधि लम्बिने सम्भावना छ। कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि देशै ‘बन्द’ भएपछि  ज्यालादारी काम गरेर जीविकोपार्जन गर्ने श्रमिकहरूलाई समस्या परेको छ। 

बन्दका कारण रोजीरोटी गुमेका मजदुरलाई अहिले विभिन्न संघ–संस्था र व्यक्तिले सहयोग गरिरहेका छन्। यस कामका लागि सेलिब्रिटी पनि अगाडि आएका छन्। केहीले मजदुरका लागि नगद सहयोग गर्ने घोषणा गरेका छन् त केहीले प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी नगद दिने घोषणा गरेका छन्। 

पछिल्ला दिनमा सामाजिक सञ्जालमा सक्रिय वर्षा शिवाकोटीले यसको सुरुवात गरेकी छिन्। कोरोनासम्बन्धी जनचेतना जगाउने भिडियो पोस्ट गर्दै आएकी उनले आइतबार भने मजदुरी गरेर जीवन चलाउनेलाई खर्च गर्ने गरी एक लाख रुपैयाँ दिने घोषणा गरेकी छन्। फेसबुकमा भिडियो साझा गर्दै उनले सहयोग रकम घोषणा गरेकी हुन्। उनले आफ्नो व्यक्तिगत तर्फबाट मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूलाई प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ दिन लागेको भिडियोमा बताएकी छिन्। उनले भनेकी छिन्, ‘यो पैसाले आफैँले राहत सामग्री किनेर ती मजदुर दाजुभाइ–दिदीबहिनीसमक्ष पुर्‍याउने इच्छा थियो, तर सरकारले सुरक्षित रहनका लागि ‘लकडाउन’ गरेकाले प्रधानमन्त्री राहत कोषमार्फत दिने सोच बनाएँ।’

सामाजिक सञ्जालमा कोरोनाबाट बच्न घरमै विशेष सावधानी अपनाएर सुरिक्षत रहन आग्रह गर्दै आइरहेकी वर्षाले कोरोना विरुद्धको लडाइँमा दिनरात खट्ने डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी र नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गरेकी छन्। विपद्को समयमा वर्षाले गरेको सहयोगको सर्वत्र प्रशंसा भएको छ। 

लोकदोहारी गायक बद्री पंगेनीले पनि प्रधानमन्त्री राहत कोषलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले मानव जातिलाई नै संकटमा पार्ने गरी फैलिएको कोभिड–१९ महामारीविरुद्ध सरकारले गरिरहेको प्रयासमा साथ दिन आफूले व्यक्तिगत रूपमा सहयोग गरेको बताएका छन्। उनले यो संकटको घडीमा अन्य कलाकारलाई पनि सहयोगका लागि अगाडि आउन आग्रह गरेका छन्। 

‘चपली हाइट’ सिरिजका निर्माता एवं गायक-संगीतकार अर्जुन कुमारले पनि प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले फेसबुकमा जानकारी दिँदै प्रधानमन्त्री राहत कोषमा लकडाउनपछि रकम जम्मा गर्ने बताए। उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘प्रधानमन्त्री राहत कोषमा म ५० हजार सहयोग गर्छु। आउनुहोस्, तपाईंहरू पनि जति सक्नुहुन्छ, सहयोग गर्नुहोस्। तर, कुनै पनि सामाजिक अभियन्ताको हातमा नदिनुस्, है !’ यसका साथै उनले फिल्ममा ५० लाख पारिश्रमिक लिने कलाकारप्रति व्यंग्य गर्दै सरकारी राहत कोषमा सहयोग गर्न आग्रह गरेका छन्। उनले व्यंग्य गर्दै लेखेका छन्, ‘एउटा फिल्ममा खेलेको ५० लाख लिन्छु, एउटा फिल्म निर्देशन गरेको ५० लाख लिन्छु भन्ने मेरा देशका सुपरस्टारहरू कुन दुलोमा छन् ? लौ न, खोजेर अलिअलि डोनेसन दिन लगाउनुपर्‍यो।’ अर्जुनले कोरोनाले कसैलाई पनि नछाड्ने र रूप, रङ र वर्ण नचिन्ने भएकाले सबैलाई सचेत भएर रहन आह्वान गरेका छन्।

कलाकारहरूले व्यक्तिगत सहयोग घोषणा गरिरहँदा नेपाल चलचित्र कलाकार संघ पनि सहयोग गर्न अगाडि सरेको छ। संघ अध्यक्ष रवीन्द्र खड्काले फेसबुकमै  नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा १ लाख १  हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले संघ आफैँसँग मौज्दात रकम नभएकाले सदस्यबाट उठाएर दिने बताएका छन्। ‘नेपाल चलचित्र कलाकार संघले नगद १ लाख १ हजार दिने घोषणा गरेको छ,’ उनले लेखेका छन्, ‘संघका पदाधिकारीबाट उठाएर दिन्छौँ।’ 

खड्काले आफ्नो संस्थाको सहयोगले अन्य संघ–संस्थालाई पनि सहयोग गर्न प्रेरणा मिलोस् र कोरोनाबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर सहयोग गर्न लागेको बताए। उनले भने, ‘मैले प्रधानमन्त्रीको स्वकीय सचिवसँग कुरा गरिसकेको छु। हामी चाँडै राहत कोषमा उक्त रकम जम्मा गर्दै छौँ।’ 

संघले सम्पूर्ण फिल्मकर्मी संघ र संस्थालाई विषम परिस्थितिलाई मध्यनजर गर्दै सहयोगका लागि अपिल पनि गरेको छ। उसले राष्ट्रको संकटको घडीमा जहिले पनि साथ दिएको स्मरण गदैै अहिले पनि साथ दिन तयार रहेको बताएको छ। सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र स्वयंसेवकप्रति संघले आभार पनि प्रकट गरेको छ।

धेरै पारिश्रमिक लिने कलाकार सहयोगका लागि अगाडि नबढेकोमा सामाजिक सञ्जालमा विरोध भइरहेको छ। केहीले भने ‘धेरै पैसा लिने’ कलाकार मात्र होइन, ‘धेरै पैसा दिने’ निर्माता पनि सहयोगका लागि अगाडि आउनुपर्ने माग गरिरहेका छन्। तर, एकाधबाहेक नगद सहयोगका लागि कोही अगाडि सरेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.