गुराँसले रंगिए पनि सुनसान घोडेपानी (फोटो फिचर)

गुराँसले रंगिए पनि सुनसान घोडेपानी (फोटो फिचर)

बेनी : बसन्त ऋतुको सुरुवातसँगै म्याग्दीको उच्च पहाडि क्षेत्रका वनपाखा रंगिबिरंगी लालीगुराँसले रंगिएका छन् ।  पाखाभरी ढकमक्‍क फुलेका लालीगुराँस यसपाली विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना) भाइरसको त्रास र लकडाउनका कारण पर्यटन नआउँदा खिन्न देखिएका छन्।

अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिको सोले, बेनी नगरपालिका-३ भकिम्लीको स्वर्गाश्रम, धवलागिरी गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा गुराँसको ठूला जंगल छन् । 

नेपालमा पाइने ३२ प्रजातीकामध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबी, चिमालीलगायत ८ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । पृष्ठभुमिका हिमाल र लालीगुराँसको जंगलको प्राकृतिक सौन्दर्यलाई कोरोनाका कारण पर्यटकले अवलोकन गर्न नपाउने भएका छन् । 

'कोरोना नफैलिएको भए यतिबेला स्वदेशी र विदेशी पर्यटकको ओइरो लाग्थ्यो,' घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजाले भने, 'कोरोना त्रासले हामीले गाउँमा पनि पर्यटक आउन रोक लगाएका छौं । सुनसान छ । यसपालिको गुराँस अभागी भए ।'

घोडेपानीका अर्का होटल व्यवसायी शुलिल पुनका अनुसार गुरासँको सौन्दर्यमा रमाउन चैत, बैशाख महिनामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्थ्यो । दैनिक पाँच सय जनाको हाराहारीमा पर्यटक आउँथे । 

स्थानीयलाई पर्यटक नआएकाले चिन्ता भन्दा पनि पर्यटकसँगै कोरोना भित्र्ने त्रास छ । गाउँबाट बाहिर नजाने र बाहिरबाट आउनेलाई रोक लगाइएको घोडेपानी टोल सुधार समितिका बिरेन गर्बुजाले बताए । 

'कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउन घोषणालाई प्रभावकारी बनाउन स्थानीय स्तरमा पनि कडाई गरेका हौं,' उनले भने ।  अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी कास्कीको घान्द्रुक र बिरेठाटी भएर म्याग्दी भित्रने नाका समेत हो । 

समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ । अधिकांश घर पर्यटक स्तरका होटल हुन् । पर्यटक नआउँदा होटलहरु रित्तै छन् ।

घोडेपानी नजिकको पर्यटकीय स्थल पुनहिल भ्रमणमा अन्नपूर्ण गाउपालिकाले चैत पहिलो हप्तादेखिनै रोक लगाएको छ । यो वर्ष चैतको पहिलो सातासम्म हिमपात भएकाले गुराँस फुल्न केही ढिलाई भएको छ ।

घोडेपानीको लालीगुराँसको जंगलको पृष्ठभुमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरि हिमालको साथै सुर्योदयको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जंगललाई समेटेर समुदाय स्तरमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ । 

घोडेपानीका बासिन्दाले गुराँस बचाउनका लागि गुराँसको रुख नकाट्ने नियम बनाएका छन्् । जथाभावी रुपमा काठ, दाउराका लागि रुख काट्दा गुराँसको जंगल मसिएपछि यस्तो नियम बनाएका हुन् । एक्यापको सहयोगमा तारबार लगाएर जंगलको घेराउ गरिएको घोडेपानीका बासिन्दा समेत रहेका अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.