कोरोनाबाट जोगिन सप्तरीमा ५५ ठाउँमा सशस्त्र प्रहरी परिचालन
राजविराज : कोरोना संक्रमण रोकथामका लागि सीमानाका बन्द गरिए पनि चोरबाटो हुँदै नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्र प्रहरी बलले थप पोस्टहरू खडा गरी पैदल गस्ती सुरु गरेको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि नेपाल–भारत आवतजावत ठप्प गर्न सशस्त्रले १६ वटा अस्थायी बोर्डर आउट पोस्ट (बिओपी) थप गरी सीमाको ५५ स्थानमा परिचालन गरेको हो ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढदै गएपछि खुला सीमाको फाइदा उठाउँदै खेत, खोलाबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएकोले नेपाल–भारत सीमा क्षेत्रमा दुई सय सशस्त्र प्रहरी थप गरी सुरक्षा सर्तकता बढाइएको हो । सीमाबाट हुने आवतजावतमा रोक लगाउन नियमितबाहेक थप १६ अस्थायी पोस्ट खडा गरी पैदल गस्तीसमेत थालेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गणका गणपति सशस्त्र एसपी उद्धब न्यौपानेले जानकारी दिए ।
‘भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा यसअघि रहेको सातओटा बिओपीको जिम्मेवारी क्षेत्र औसत दुरी ११-१२ किलोमिटर रहेकाले सीमानाका पूर्ण रूपमा नियन्त्रण गर्न कठिनाइ थियो’, सशस्त्र एसपी न्यौपानेले भने,‘थप १६ स्थानमा अस्थायी पोस्ट खडा गरी ५५ स्थानमा केन्द्रित गरी परिचालन गरिएपछि सीमामा आवतजावत पूर्ण रूपमा ठप्प हुनेछ ।’
सशस्त्र प्रहरीले ६ विद्यालय, टहराहरू र १० वटा पालमा क्याम्प खडा गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी, डाकनेश्वरी र बोदे बर्साइन नगरपालिकामा क्रमशः ५,९ र १२ तथा तिलाठी कोइलाडी, छिन्नमस्ता, बलान बिहुल र राजगढ गाउँपालिकामा क्रमशः ४, ७, ८ र १० स्थानमा सशस्त्र प्रहरी परिचालित भएका छन् ।
जिल्लाको भारतीय सीमामा ५५ वटा केन्द्र राखी २४ घण्टा निगरानी सुरु गरिएको र मातहतका सबै पोस्टले आ–आफ्नो क्षेत्र निगरानी गर्ने गरी गस्ती गरिरहेको जानकारी दिँदै सशस्त्र एसपी न्यौपानेले भने,‘भारतसँग जोडिएको खेत, खोलादेखि गल्लीसम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी गरिरहेका छौँ ।’
पछिल्लोपटक भारतमा कोरोना संक्रमण बढदै गएको छ भने भारत दिल्लीस्थित निजामुद्दीनमा तब्लिगी जमातद्वारा आयोजित जमात र मरकसमा सहभागी इस्लाम धर्मावलम्बी नेपाली फर्किरहेका छन् । दिल्लीको जिमामुद्दीनको मरकस जमातमा सहभागीमा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ ।
विशेषगरी भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि तराईसँग जोडिएका सबै साना–ठूला सीमानाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । लकडाउन र सीमानाका बन्दलाई पूर्णरुपमा कार्यान्वयन गर्न कडाई गरिएको बताउँदै सप्तरीका सिडिओ सुनिल खनालले सीमानाकाबाट कसैलाई पनि छिर्न नदिन कडा निर्देशन दिइएको बताए ।
सीमासुरक्षामा सशस्त्र प्रहरीको संख्या थपेसँगै एक/डेढ किलोमिटरको दूरीमा रहेर निगरानी गरिने हुँदा लुकीछिपी नेपाल प्रवेश गर्नेलाई भारतमै फर्काइनेछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी निर्देशन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएरै भए पनि कोरोना रोकथामको पहल गर्ने निर्णय भएको सिडिओ खनालले बताए ।