ढकमक्क फुले पनि एक्लै भयो गुराँस

ढकमक्क फुले पनि एक्लै भयो गुराँस

बेनी : वसन्त ऋतुको सुरुआतसँगै म्याग्दीको उच्च पहाडी क्षेत्रका वनपाखा रंगीविरंगी लालीगुराँसले रंगिएका छन्। पाखाभरि ढकमक्क फुलेका लालीगुराँस यसपालि विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ (कोरोना) भाइरसको त्रास र लकडाउनका कारण पर्यटन नआउँदा 'अभागी' भएको छ।

अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिको सोले, बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गा श्रम, धवलागिरि गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा गुराँसको ठूला जंगल छन्।

नेपालमा पाइने ३२ प्रजातिकामध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलावी, चिमालीलगायत आठ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ। पृष्ठभूमिका हिमाल र लालीगुराँसको जंगलको प्राकृतिक सौन्दर्यलाई कोरोनाका कारण पर्यटकले अवलोकन गर्न नपाउने भएका छन्।

'कोरोना नफैलिएको भए यतिबेला स्वदेशी र विदेशी पर्यटकको ओइरो लाग्थ्यो', घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजाले भने, 'कोरोनाको त्रासले हामीले गाउँमा पनि पर्यटक आउन रोक लगाएका छौ। सुनसान छ। यसपालिको गुराँस अभागी भए।'

घोडेपानीका अर्का होटल व्यवसायी सुशील पुनका अनुसार गुराँसको सौन्दर्यमा रमाउन चैत, वैशाख महिनामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्थ्यो। दैनिक पाँच सयजनाको हाराहारीमा पर्यटक आउँथे।

स्थानीयलाई पर्यटक नआएकाले चिन्ताभन्दा पनि पर्यटकसँगै कोरोना भित्रिने त्रास छ। गाउँबाट बाहिर नजाने र बाहिरबाट आउनेलाई रोक लगाइएको घोडेपानी टोल सुधार समितिका वीरेन गर्बुजाले बताए।

'कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउन घोषणालाई प्रभावकारी बनाउन स्थानीय स्तरमा पनि कडाइ गरेका हौं', उनले भने। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी कास्कीको घान्द्रुक र वीरेठाँटी भएर म्याग्दी भित्रिने नाकासमेत हो।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ। अधिकांश घर पर्यटक स्तरका होटल हुन्। पर्यटक नआउँदा होटल रित्तै छन्।

घोडेपानी नजिकको पर्यटकीय स्थल पुनहिल भ्रमणमा अन्नपूर्ण गाउँपालिकाले चैत पहिलो हप्तादेखि नै रोक लगाएको छ। यो वर्ष चैतको पहिलो सातासम्म हिमपात भएकाले गुराँस फुल्न केही ढिलो भएको छ।

घोडेपानीको लालीगुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि हिमालको साथै सूर्योदय अवलोकन गर्न सकिन्छ। अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जंगललाई समेटेर समुदाय स्तरमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ।

घोडेपानीका बासिन्दाले गुराँस बचाउन गुराँसका रूख नकाट्ने नियम बनाएका छन्। जथाभावी रूपमा काठ, दाउराका लागि रूख काट्दा गुराँसको जंगल मासिएपछि यस्तो नियम बनाएका हुन्। एक्यापको सहयोगमा तारबार लगाएर जंगलको घेराउ गरिएको घोडेपानीका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.