लकडाउनमा महिला व्यस्त, पुरुष मस्त

लकडाउनमा महिला व्यस्त, पुरुष मस्त

अब त ओछ्यानले पनि भन्न थाल्यो–‘एकछिन उठ्नुस् त, महाशय, सास फेर्नुपर्‍यो।’’

‘फुर्सदको सदुपयोग गर्दै जीवनमा पहिलो पटक टिकटक बनाइयो। लौ है गाइजइन्जोय !’

‘घर बस्दाबस्दा दिक्क लाग्न पनि दिक्क लाग्न थालिसक्यो।’

‘समय कटाउनै गाह्रो पर्‍यो। आउनुस् साथी, अनलाइनमा लुडो खेलौँ।’

आजभोलि काठमाडौँ, सिफल बस्ने समिरा शिवाकोटीका पुरुष साथीहरूले फेसबुकमा हाल्ने स्ट्याटस यस्तै र यस्तै प्रकृतिका हुन्छन्। पुरुष साथीले यस्ता फुर्सदिला स्ट्याटस हाल्दै गर्दा उनलाई भने घरको कामले एकछिन फुर्सद हुँदैन। ‘सास फेर्ने फुर्सद पनि छैन,’ उनले भनिन्, ‘घरको कुनाकाप्चा सफा गर्नेदेखि जाडोमा ओढेका बाक्ला–बाक्ला ब्ल्यांकेट धुने काम भइरहेको छ।’ लकडाउनमा एउटै परिवारमा गृहिणी कामले थिचिएको बेलामा पुरुष सदस्य फेसबुकमा काम भएन भनेर रोइलो गरिरहेको उनले बताइन्। ‘आफूलाई यहाँ भ्याइ–नभ्याइ छ, केटाहरूचाहिँ कोही ‘स्पेनिस लिट्रेचरका राम्रा–राम्रा किताब सुझाउनुपर्‍यो साथी हो’ भनेर फेसबुकमा लेख्छन्, कोही ‘यो फिल्म हेर्नुस्, गज्जब राम्रो छ’ भनेर पोस्ट्याइरहेका हुन्छन्।’

समिराको बिहे भएको नौ वर्ष भयो। अहिलेसम्म उनलाईससुरा, श्रीमान् र देवरले घरको काम गरेको थाहा छैन। न त उनले माइतीमा हुँदा बुबा, काका र दाजुभाइले घरको काम गरेको देख्न पाइन्। ‘खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, बाथरुम सफा गर्ने सबैकाम हामी महिलाले नै गर्छौं,’ उनले भनिन्, ‘घरका केटाहरूले एक कप चिया मात्रै पकाए भने पनि ‘ओहो’ हुन्छ। हामीले गर्दा चाहिँ घरको भातमा यतिकै सिटी लाग्छ, भाडा आफैँ माझिएर टलक्क परेर टल्किन्छ, लुगा आफैँ सफा हुन्छ, घरका कोठा–कोठा यत्तिकै छुमन्तर गरेर चिटिक्क हुन्छन्जस्तो गर्छन्।’लकडाउनले आफूलाई साबिकभन्दा कामको दोब्बर ‘लोड’परेको उनले सुनाइन्। ‘घर बसेपछि सबैका आ–आफ्नै डिमान्ड हुन्छन्,’ उनले भनिन्, ‘कसैलाई के खानुपर्छ, कसैलाई के। कसैलाई काउली मन पर्दैन, कसैलाई साग। कोही दाल हेर्दै हेर्दैनन्, कोही मासु मुखैमा हाल्दैनन्। सबैको इच्छा पूरा गर्दैमा लकडाउनका दिनहरू बितिरहेका छन्।’

लकडाउनको पहिलो साता भक्तपुर, दुवाकोटकी दीपशिखा बम र उनकी आमाले लामो समयदेखि उस्तै रहेको घरको साजसज्जा परिवर्तन गरे।उनका भाइ र बुबा कहिले मोबाइलमा झुण्डिए त कहिले क्यारमबोर्डमा जमे। ‘हप्ताभरि काम गर्दागर्दा थकाइ लागेपछि एकदिन ममीले भाइ र बुबालाई‘भोलि हामी आमाछोरी अलि ढिलासम्म सुत्छौँ है, भोलि बाउछोरा भएर खाना पकाउने’’ भन्नुभयो,’ दीपशिखाले सुनाइन्, ‘आमाको कुरा भुइँमा खस्न नपाउँदै बुबाले भन्नुभयो, ‘लौ है केटा !आजै कोचेर, खाँदेर जे गरेर हुन्छ, पेटमा टन्न चारो हाल्, भोलि दिनभरिलाई पुग्नेगरी।’यति भनेपछि भोलिपल्टको खाना हामीले नै नपकाई सुख पाएनौँ।’

दीपशिखाकी आमाले सानैदेखि उनलाई घरको काम सिकाइन्। भाइ सधैँ त्यसबाट पन्छिए। ‘हामी घरमा हुँदा कहिल्यै बुबा र भाइ कहिले घरमा आउलान् र खाना पकाउलान् भनेर कुर्दैनाँै,’ उनले भनिन्, ‘उनीहरू सधैँ खाना पकाउन हाम्रो बाटो हेरेर बसिरहेका हुन्छन्। हामी व्यस्त हुँदा त घरको काम नछुनेले अहिले हामी फुर्सदिला भएको बेलामा झन् के छुन्थे !’

पुरुषहरू महिलालाई फकाएर ‘किचेन पोलिटिक्स’ गरिरहेका हुन्छन्। ‘मैले पकाएको मीठो हुँदैन, तिमीले पकाएको असाध्यै मीठो हुन्छ’ भनेर महिलालाई उनीहरूले फकाउने गरेका छन्। ‘एक कप मीठो चिया बनाएर लेऊ न, माई डियर’ भन्नेले श्रीमतीलाई होइन, चियालाई ‘माई डियर’ भनिरहेका हुन्छन्।

समाजशास्त्री मीना उप्रेतीका अनुसार गृहिणी दिनभरि घरमा बस्दा उनको श्रीमान्ले दिने प्रतिक्रिया हो, ‘दिनभरि घरमा बस्न पाएकी छौ, तिमीलाई आनन्द छ।’ अहिले त्यस्तो सोच राख्ने अधिकांश पुरुषले घर बस्नु पनि कति पट्यारलाग्दो काम हो भनेर महसुस गरेको उनले बताइन्। घर बस्न गाह्रो हुने रहेछ भनेर धेरै पुरुषले अनुभव गरेको उनले सुनाइन्। ‘अफिसमा काम गर्दा जस्तै घरमा बस्दा पनि तनाव हुने कुरा धेरैले भोगिरहेका छन्,’ उनले भनिन्, ‘महिला घरमा बस्दैमा खुशी हुँदैनन्। घरको काम पनि काम हो। महिलालाई गृहिणीमा मात्रै सीमित नराखी बाहिर काममा पठाउनुपर्ने रहेछ भन्ने बुद्धि केही पुरुषमा यो लकडाउनले भरिदिएको छ।’

यस्तो समयलाई सबैले एकअर्र्काको काममा सहयोग गरेर पारिवारिक मिलनको अद्भुत क्षण बनाउनुपर्ने उनले बताइन्। तर, यसो हुन नसकेकोमा उनले गुनासोसमेत गरिन्।  ‘दिनभरि बाहिर काम गरेर आएकी श्रीमतीलाई घरमा बसिरहेको श्रीमान्ले भन्छ– ‘तिमी भर्खर आयौ, मैले त केही खाएको छैन’,’ समाजशास्त्री उप्रेतीले भनिन्, ‘यसमा श्रीमती ‘तिमी पनि बनाएर खान सक्छौ’ भन्नुको सट्टा हतार–हतार भान्छामा छिर्छिन्। महिला आफैँले पुरुषलाई विवेकहीन बनाइरहेका छन्। घरको काम पुरुषले गरेनन् भनेर छाड्ने होइन, महिलाले काम लगाउने हो।’

महिला अधिकारकर्मी अनु गुरुङले एक्काइसौँ शताब्दीको हरेक विपत्ति, चाहे प्राकृतिक प्रकोप होस् वा महामारी, सबैमा लैंगिक पाटो समावेश हुने बताइन्। ‘कहिले त्यो पाटो सबैले देख्ने गरी प्रष्ट हुन्छ, कहिले अध्येताले खोतल्नुपर्छ,’ उनले भनिन्, ‘यो महामारीको सन्दर्भमा पनि कतिपय पक्षमा प्रष्ट लैंगिक विभेद देखिन्छन, तर कतिपय स्थानमा त्यो सूक्ष्म देखिन्छ।’ बिदामा धेरै पकाउने र खानामा मस्त हुने परम्परा भएकाले लकडाउनले महिलामा बोझ थपिएको उनले बताइन्। ‘धेरै र मीठा खानेकुरा बनाउन महिलाले धेरै समय र मेहनत गर्नुपर्छ,’ उनले भनिन्, ‘लामो समयदेखि थन्किएका काम महिलाले नै गर्नुपरिरहेको छ। हुन त कतिपय पुरुष महिलावादी छन्। लैंगिक समानताका पक्षपाती छन्। तर, उनीहरूको घरको चुलोमा पनि महिला नै बढी सक्रिय छन्।’

भान्छामा छिर्दैनन् पुरुष

काठमाडौँ, गौशालाकी मनष्वी कार्की पनि यो लकडाउनमा पूरै व्यस्त छिन्। उनको तीन वर्षका छोरा छन्। ‘बूढाबूढी नै अफिस जाने भएकाले घरको काम यत्तिकै लथालिंग हुन्थ्यो,’ उनले भनिन्, ‘लकडाउनपछि घरको काममा यति धेरै व्यस्त भइयो कि अहिलेसम्म छोरालाई समेत समय दिन पाएको छैन। घरका पुरुष सदस्य केही गर्दा पनि समय बितेन भन्छन्। आफूलाई यो दुई हप्ता बितेको पत्तै भएन।’ घरको काम सबैजना मिलेर गर्नुपर्ने कुरा नौलो नभएपनि पुरुष भने त्यसबाट सकेसम्म पन्छिन खोज्ने उनले बताइन्। ‘एकदिन घरको काम गरेभने उनीहरूलाई एकवर्षसम्मलाई पुग्छ,’ उनले भनिन्, ‘केटा मान्छेलाई जतिसुकै कोसिस गर्दा पनि घरको काममा लगाउन सकिँदैन। हाम्रा आमाबुबाले दाजुभाइलाई नलगाएको काम हाम्रा छोराले पनि सिक्लान् जस्तो लाग्दैन। हामी आफैँ सानैबेलादेखि उनीहरूलाई यो खालको संस्कार दिनमा चुक्यौँ।’

भक्तपुर, सिपाडोलकी रजनी शर्मा बैंककी कर्मचारी हुन्। उनलाई अहिले अफिसबाट घरमै कसेर काम गर्न भनिएको छ। तर, उनी अफिसमा जस्तो शान्त र आनन्द वातावरणमा काम गर्न पाइरहेकी छैनन्। ‘एकछिन ल्यापटप खोलेर बस्दा कहिले छोराछोरीलाई भोक लाग्छ, कहिले श्रीमान् र सासूससुराको लुगा फोहोर हुन्छ,’ उनले भनिन्, ‘घरको सबै काम सकेर एकछिन अफिसको ल्यापटपमा बस्न खोज्दा घरको काम ठग्न ल्यापटप खोलेजस्तो हुन्छ। एकगिलास पानी सारेर खान पनि मेरै भर पर्छन्।’ रजनीका श्रीमान् अहिले फुर्सदिला छन्। तर, घर र अफिस दुवैको काम रजनी एक्लैले भ्याउँछिन्। ‘मबाहेक भान्छामा कोही छिर्दैन,’ रजनीले भनिन्, ‘छिरिहाले भनेपनि उनीहरूलाई मन पर्ने पर्ने चिज आफ्नै स्वादअनुसार बनाउन मात्र छिर्छन्। म भेज भएकाले घरमा मासु मात्रै अरूको हातले पाक्छ, बाँकी सबैमा आफैँ घोटिनुपर्छ।’

कहिलेकाहीँ रजनीको घरमा खाना र खाजाको टाइम–टेबल बिग्रिन्छ। ‘छोराछोरीलाई स्कुल पठाउनु छैन, बूढाबूढी अफिस जानु छैन भन्दै कहिलेकाहीँ अफिसको काममा व्यस्त भएर खाना, खाजाको टाइम–टेबल बिग्रिन्छ,’ उनले भनिन्, ‘यस्तो बेलामा मलाई सघाउनुको सट्टा घरका मान्छे उसैहुप्प फुलेर बस्छन्। हामी महिलालाई जति नै पढेलेखे पनि घरको काम नगरी सुखै छेन।’एकदिन महिला किचेनमा नगए घरको स्वरूप नै बदलिने उनले बताइन्। यो मामलामा धेरै पुरुष महिलामा निर्भर रहेको उनले सुनाइन्। ‘धेरै श्रीमान्लाई लाग्न सक्छ,श्रीमतीहरू उनीहरूमा निर्भर छन्,’ उनले भनिन्, ‘तर, श्रीमतीले एकदिन किचेन र घरको काम सम्हाल्न छाडिदिने हो भने को चाहिँ कोसँग निर्भर हो, प्रष्ट हुन्छ।’

काठमाडौँ, जोरपाटीकी बिनी रोक्का र उनकी सासू मिलेर यो लकडाउनको भरपूर सदुपयोग गरे। लुगा धुनेदेखि घर सफा गर्नेसम्मका सबै काम उनीहरूले गरे। उनको परिवारका पुरुष सदस्यले पहिला–पहिला घरको काम गर्थे। तर, अहिले उनीहरूले घरको काम गर्न छाडिसके। ‘म सुरुमा बिहे गरेर आउँदा मेरा ससुरा र श्रीमान् घरको जे काम पनि गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘ट्युबवेलबाट पानी तानेर लुगा धुनेदेखि खाना बनाउने सबै काम गर्नुहुन्थ्यो। ‘बुहारी हुँदाहुँदै पनि यी बाउछोरा घरको काम गर्छन्’ भन्दै छिमेकीहरूले छतछतबाट हेरेर कुरा काट्न थालेपछि गर्न छाड्नुभयो।’ अहिले बिनी आफैँलाई श्रीमान् र ससुराले घरको काम गरेको हेर्न अप्ठ्यारो लाग्छ। उनीहरूलाई सकेसम्म घरको काम गर्न दिन्नन्। ‘अहिले श्रीमान्ले के गरौँ भनेर चाहिँ सोध्नुहुन्छ,’ उनले भनिन्, ‘तर, सहयोग गर्नुहुन्न। माइतीको आमाबुबाले पनि ‘ज्वाइँ र ससुरालाई घरको काम लगाउनुहुन्न, है छोरी, सकेसम्म आफैँ गर्नुपर्छ’ भन्नुहुन्छ।’

महिला अधिकारकर्मी गुरुङले श्रीमान् हात बाँधेर बस्दा महिलाले तयार पार्ने हरेक परिकारमा शोषण मिसिएको हुने बताइन्। ‘घरमा कुनै काममा महिला र पुरुषको असमान मेहनत मिसिएको हुन्छ, त्यहाँ पक्कै पनि शोषण हुन्छ,’ उनले भनिन्, ‘तर, हाम्रो समाजमा महिलालाई ‘केयर गिभर’ का रूपमा हेरिन्छ। उनीहरूले घरको मात्र होइन, घरका सदस्यको पनि स्याहार गर्नुपर्ने हुन्छ।’

हरेक विपत्ति, प्राकृतिक प्रकोप वा महामारी, सबैमा लैंगिक पाटो समावेश हुन्छ। बिदामा धेरै पकाउने र खानामा मस्त हुने परम्परा भएकाले लकडाउनले महिलामा बोझ थपिएको छ।

कोभिड–१९ जस्तो महामारीले लैंगिक असमानतालाई छताछुल्ल पोखिदिनेगुरुङले  बताइन्। ‘अब सचेत हुने समय आएको छ,’ उनले भनिन्, ‘आफूले गरेको काम, लागेको मेहनत र लागेको समयको टिपोट र विश्लेषण गर्नुपर्ने समय आएको छ। यो लामो लकडाउनमा पुरुषलाई घरको काम सिक्न दबाब दिनुपर्छ, सिकाउनुपर्छ।’  महिलालाई नसघाई पुरुषले आनन्दले पढेको पुस्तक र हेरेको फिल्मको कुनै अर्थ नहुने उनले बताइन्। ‘यो महामारीले पुरुषले पनि घरको काम गर्नुपर्छ, महिलाको सम्मान गर्नुपर्छ भन्ने सिकाएन भने लैंगिक दृष्टिकोणबाट यो लकडाउन असफल हुन्छ,’ उनले भनिन्, ‘यस्तो संकटको बेलामा धेरै योगदान महिलाकै हुन्छ। धेरै नर्स र एयर होस्टेस फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन्। घरमा बसेका महिलाको पनि उत्तिकै योगदान छ। पुरुषले घरको काम सिके, गरे लकडाउन सफल हुन्छ।’

लेखक अर्चना थापाले नेपाली समाज पाखण्डमा बाँचिरहेको बताइन्। ‘यहाँ बाहिर सबैले लंैगिक समानताका कुरा गर्छन्,’ उनले भनिन्, ‘तर, घरभित्र लैंगिक समानताको अभ्यासमा सबैजना चुकेका छन्। पुरानो पुस्तालाई परिवर्तन गर्न नसके पनि हामीले आउने पुरुष पुस्तालाई घरको काम गर्दा लाज हुँदैन भन्न सक्छौँ। घरको काममा उनीहरूलाई संवेदनशील बनायौँ भने परिवर्तन सम्भव छ।’

काम बाँडे, माया बढ्छ

काठमाडौँ, मध्यबानेश्वरकी सविता केसीलाई घरको काम जति बाँड्यो,घरका सदस्यबीच माया पनि उति नै बढ्छ भन्ने लाग्छ। उनकी छोरी अस्टे«लियामा छिन्। हाल उनी आफ्ना श्रीमान् र छोरासँग बस्दै आइरहेकी छिन्। श्रीमान् र छोराले उनलाई घरको काममा सघाउँछन्। ‘मेरा श्रीमान् र छोरा मैले खाना बनाउँदा भाँडा माझ्छन्,’ उनले भनिन्, ‘मैले लुगा धुँदा उनीहरूले पखालिदिन्छन्। हामी घरको काम बाँडफाँड गर्छौं। उनीहरूले किचेनको काम गर्दा मैले साइडमा बसेर गफ मात्रै गरेँ भने पनि मख्ख पर्छन्।’

छोरा हिमांशुसँग सविता अहिले गिटार सिकिरहेकी छिन्। ‘मलाई सानैदेखि गिटार सिक्ने रहर थियो,’ उनले भनिन्, ‘अहिले त्यो रहर छोराले पूरा गरिदिँदैछ। बिहान र बेलुकाको केही समय छोरासँग गिटार सिक्छु। त्यो बेलामा श्रीमान्ले घरको काम गर्नुहुन्छ।’ हिमांशु पनि भान्छामा विभिन्न परिकार बनाउँछन्। ‘युट्युबमा हेरेर नयाँ–नयाँ खालका परिकार बनाउन खोज्छ,’ सविताले भनिन्, ‘यो लकडाउनभरि उसले हरेक दिन हामीलाई एउटा नयाँ खानेकुरा चखाइरहेको छ।’ यसरी सबै मिलेर घरको काम गरे महिलालाई मात्र कामको भार नपर्ने उनले बताइन्। ‘खानु उनीहरूलाई पनि पर्छ, घर सफा उनीहरूलाई नि चाहिन्छ भन्नेकुरा हरेक पुरुषले बुझ्नुपर्छ,’ उनले भनिन्, ‘घरको काममा सहयोग भन्ने शब्द नै गलत छ। उनीहरूले हामीलाई सहयोग गर्ने होइन, त्यो काम उनीहरूको पनि जिम्मेवारी हो।’

सञ्चारकर्मी रूपा खड्का भट्टराई आठ महिनाको छोरालाई छाडेर अफिस धाइरहेकी छिन्। उनका श्रीमान् अफिसको काम घरमै गरेर बसिरहेका छन्। मेटलाइफ इन्स्युरेन्समा पूर्वाञ्चलका लागि रिजनल म्यानेजरका रूपमा कार्यरत उनका श्रीमान् दिनको दईघण्टा भिडियो कन्फरेन्स र अफिसियल काममा व्यस्त हुन्छन्। त्यसबाहेक आजभोलि उनी बच्चालाई नुहाइदिने, कपडा धोइदिने गर्छन्। ‘घरको काम सबै उहाँले सम्हाल्ने हुँदा म ढुक्कले अफिसमा काम गर्न सकिरहेकी छु,’ रूपाले भनिन्, ‘हामीले घरमा महिला र पुरुषले गर्ने काम भनेर छुट्याएका छैनौँ। बिहानको चिया र नास्तादेखि बेलुकाका खानासम्म पालैपालो पकाउँछौँ। तरकारी काट्ने, केलाउने काममा हाम्रा घरमा पुरुष अग्रसर छन्। घरको सरसफाइमा पनि उनीहरूलाई कसैले भ्याउँदैन।’

समाजशास्त्री मीना उप्रेतीका अनुसार जुन जोडीले भान्छामा सँगसँगै समय बिताउने गरेका छन्, उनीहरूको सम्बन्ध राम्रो भएको पाइएको छ। ‘सँगै काम गर्दा उनीहरूबीच दोहोरो सञ्चार हुन्छ,’ उनले भनिन्, ‘मोबाइल र इन्टरनेटबाट उनीहरू टाढा हुन्छन्। एकअर्कालाई मीठो लाग्ने खानेकुराबारे चासो राख्छन्। यसरी उनीहरूको सम्बन्ध बलियो हुन्छ। विडम्बना, भान्छामा समय बिताउने पुरुष धेरै कम छन्।’


‘समानता केबल गफ भएको छ’

अर्चना थापा, लेखक

धेरै अफिसले अहिले ‘वर्क फ्रम होम’ भनेर अनलाइनबाट घरमै बसेर काम गर्न लगाएका छन्। थुप्रै महिला हाल अफिसको काम अनलाइनबाट गरिरहेका छन्। तर, उनीहरूले अफिसको जसरी घरमा बसेर अफिसको काम गर्न सकिरहेका छैनन्। महिला एकछिन ल्यापटपअगाडि बस्दा घरका अन्य सदस्यलाई टाउको दुख्न थाल्छ। बुहारी, आमा,श्रीमती भएर अफिसको काम गर्न एकदमै गाह्रो छ। बिहानको चियादेखि बेलुकाको खानासम्मका लागि बच्चाले आमा,श्रीमान्ले श्रीमतीर सासूससुराले बुहारी खोजिरहेका हुन्छन्।

हामी एकदमै पाखण्डी समाजमा बाँचिरहेका छाँै। बाहिर लैंगिक समानताका कुरा सबैले गर्छन्। तर, घरभित्र लैंगिक समानताको अभ्यासमा सबैजना चुकेका छन्। समानता केबल गफ भएको छ।

सासूससुरालाई परिवर्तन गर्न गाह्रो छ। श्रीमान्हरू पनि भान्छाको काम महिलाको हो भन्छन्। तर, परिवर्तन नै चाहने हो भने प्रत्येक आमाले छोरालाई घरको काम सिकाउनुपर्छ। आज किचेन आमाको, भोलि छोरीको भन्ने मात्र हुनुहुँदैन। छोरा र छोरीलाई आमाबुबाले बराबर काम लगाउनुपर्छ। चाहे, त्यो घरको होस् वा बाहिरको।

खाने पेट छोरा मान्छेको पनि हुन्छ भने उनीहरूले पनि घरको काम सिक्नुपर्छ। आमाहरूले श्रीमान् र छोरा यो खाँदैनन्, त्यो खाँदैनन् भनेर स्वाद चखाएका हुन्छन्। त्यसरी खानेकुराको स्वाद चखाउनेले हातखुट्टा पनि चलाउन सिकाउनुपर्छ। हामीले छोरीहरूलाई घर र बाहिर जताततै फिट बनायौँ। तर, छोरालाई घरको काम गर्दा लाज हुँदैन भनेर सिकाएनौँ। कुनैपनि आमाले छोरालाई घरको काममा संवेदनशील बनाउने कोसिस गरेनन्।

लकडाउनको समयमा सामाजिक सञ्जालमा बढी समय पुरुषले नै बिताइरहेका छन्। देश बनाउन के गर्नुपर्छ ?उनीहरू कमेन्ट गरेको गर्‍यै छन्। तर, पहिला घर बनेपछि मात्र देश बन्छ भनेर बुझेका छैनन्। त्यस्तै,अहिले समाजिक सञ्जालमा धेरैजसो महिलाले यो पकाइयो, त्यो पकाइयो भनेर फोटो खिचेर हालेका हुन्छन्। ‘आज मलाई मेरो श्रीमान्ले यो खानेकुरा पकाएर खुवाए’ भनेर पोस्ट गरेको हामीले अहिलेसम्म हेर्न पाएका छैनौँ। परिवारभित्र नै यस्तो कुरामा समझदारी नहुनु भनेको यो संस्था निकै कमजोर हुनु हो।


‘पुरुषको किचेन पोलिटिक्स चलिरहेको छ’ 

मीना उप्रेती, समाजशास्त्री

लकडाउनले पारिवारिक सम्बन्ध राम्रो बनाइदिएको छ भन्ने मान्यता धेरैमा छ। तर, थोरै प्रतिशतमा मात्र यो कुरा लागू हुन्छ। कारण, लकडाउनले पुरुष फुर्सदिला भए पनि महिलामा कामको चाप थपिएको छ। उनीहरू हिजोभन्दा आज कम फुर्सदिला भएका छन्। किनभने, घरमा श्रीमान्देखि छोराछोरीसम्म एक कप चियाका लागि उनैलाई कुरेर बसिरहेका हुन्छन्। अहिले घरको कामबाट वाक्क भएर कतिपय महिलालाई कहिले अफिस लागे हुन्थ्यो भन्ने भइसक्यो।

अहिले महिलाले पहिलाभन्दा धेरै समय किचेनमाबिताउनुपरेको छ। पकाउनेदेखि सरसामान जुटाउनेसम्मको जिम्मेवारी उनीहरूको काँधमा छ। तर, पुरुषलाई एक कप चिया बनाएर श्रीमतीलाई खुवाउँदा पीडा हुन्छ। आफू बिग्रिएँ, सक्किएँ भन्ने ठान्छन्। जबकि तास खेल्दा, साथीभाइ जमघटमा पिउँदा उसलाई बिग्रिएँ,सक्किएँ भन्ने लाग्दैन। शिक्षित र अशिक्षित जस्तोसुकै पुरुषलाई पनि घरको काम आमा, श्रीमती, दिदीबहिनी, छोरीले गर्ने हो भन्ने खालको मानसिकताले जकडेको छ। पितृसत्ताले बनाएको सामाजिक संरचना नभत्केसम्म महिलाको दिन फिर्दैनन्।

लकडाउन होस् वा अरू समय, महिलाको काँधमा खातमाथि खात घरायसी काम चाङ लागेर बस्छ। जबसम्म पुरुषले काम भनेको महिला र पुरुषले गर्ने हुँदैन भनेर बुझ्दैनन्, तबसम्म उनीहरू घरको काम गर्नेवाला छैनन्। महिला–पुरुष बराबरीको भाषण चाहिँ गर्लान्।

घरको काम गर्दा श्रीमतीले टाउकोमा टेक्ने तर्क धेरै पुरुषको हुन्छ। त्यसैले उनीहरू महिलालाई फकाएर ‘किचेन पोलिटिक्स’ गरिरहेका हुन्छन्। ‘मैले पकाएको मीठो हुँदैन, तिमीले पकाएको असाध्यै मीठो हुन्छ’ भनेर महिलालाई उनीहरूले फकाउने गरेका छन्। ‘एक कप मीठो चिया बनाएर लेऊ न, माई डियर’ भन्नेले श्रीमतीलाई होइन, चियालाई ‘माई डियर’भनिरहेका हुन्छन्। ‘तिमी गएर फिल्म हेर, म खाना बनाउँछु’ भन्ने वा ‘तिमी र म मिलेर घरको काम गरौँ’ भन्ने पुरुष एकदमै कम छन्। तर, जुन जोडीले भान्छामा सँगसँगै समय बिताउने गरेका छन्, उनीहरूको सम्बन्ध राम्रो भएको पाइएको छ। उनीहरूबीच दोहोरो सञ्चार हुन्छ। मोबाइल र इन्टरनेटबाट टाढा हुन्छन्। एकअर्कालाई मीठो लाग्ने खानेकुराबारे चासो राख्छन्। यसरी सम्बन्ध बलियो हुन्छ। विडम्बना, भान्छामा छिर्ने पुरुष असाध्यै कम छन्।


लकडाउनमा बढ्यो महिलाविरुद्ध हिंसा

महिला आयोगकी मुद्दा व्यवस्थापक अधिवक्ता विमला खड्काले लकडाउनमा महिलाविरुद्ध हिंसाका मामला बढेको बताइन्। ‘लकडाउनपछि कुटपिट, घरबाट निकाला र यौन हिंसाका केस धेरै बढेका छन्,’ उनले भनिन्, ‘यस्तो बेला घरबाट बाहिर निस्किन नपाइने भएकाले उनीहरूको समस्या सामाधानमा काम गर्न निकै गाह्रो भइरहेको छ। हामीसँग अवस्था राम्रो भएपछि हेराँैला भन्नेबाहेक अर्को उपाय छैन।’ उजुरी लिएर फोन गर्नेलाई तत्काल प्रतिक्रिया दिन गाह्रो भएको उनले बताइन्। ‘अहिले उहाँहरूलाई रेस्क्यू गरेर सेल्टरसम्म लैजान सक्ने अवस्था पनि छैन,’ उनले भनिन्, ‘पीडितलाई ज्वरो छ कि छैन भनेर पूरै चेकजाँच नगरी कुनै पनि सेल्टरले पीडितलाई लिन मान्दैनन्।’

लकडाउनको केही समयअघि महिला आयोगमा एउटा केस आयो। एकजनागर्भवती महिलाश्रीमान् र घरपरिवारले बेवास्ता गरेको भन्दै आइन्। उनको केस प्रक्रियामा थियो। यत्तिकैमा लकडाउन भयो। ‘अहिले उनका श्रीमान् कहाँ छन्,अत्तोपत्तो छैन,’ अधिवक्ता खड्काले भनिन्, ‘माइती सिन्धुपाल्चोक रहेछ। यस्तो अवस्थामा न उनको माइती उताबाट उनलाई लिन आउन सक्छ, न उनी नै यताबाट माइती जान सक्छिन्। उनी अहिले अलपत्र छिन्।’

हालै मात्र महिला आयोगमा अर्को केस पनि आएको छ। एउटी युवतीले लकडाउनमा नाइट गाडी मिलाएर घर पुर्‍याइदिन्छु भन्दै आफूमाथि यौन हिंसा गरेको बताएकी छिन्। ‘उनी आफ्नो गाउँ जान चाहेकी रहिछिन्,’ अधिवक्ता खड्काले भनिन्, ‘एकजना युवाले घर जाने गाडी मिलाउने भन्दै उनीमाथि यौन हिंसा गरेका रहेछन्।’ यस्तो बेला महिला बढी जोखिममा रहेको उनले बताइन्। ‘धेरैलाई यो समयमा मनोसामाजिक र कानुनी परामर्शको आवश्यकता पर्छ,’ खड्काले भनिन्, ‘तर, हाल उनीहरूसम्म यस्ता कुरा पुर्‍याउनै हामीलाई ठूलो चुनौती छ।’

अन्नपूर्ण सम्पूर्णबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.