सैनिक स्कुलले थाल्यो अनलाइन कक्षा
पोखरा : कोरोना भाइरस फैलन नदिन 'लकडाउन' भएपछि विद्यार्थी पनि घरघरमै छन् । घरघरमै भएका तिनै विद्यार्थीलाई पोखराको सैनिक आवासीय विद्यालयले भने अनलाइनबाटै पढाउन थालेको छ ।
सैनिक कल्याणकारी कोषबाट सञ्चालित पोखरा फूलबारीस्थित सैनिक विद्यालयले मूल परीक्षा पर्खिरहेका कक्षा १०, ११ र १२ का विद्यार्थीलाई अनलाइनबाटै पढाउन थालेको हो । 'अरु कक्षाको नयाँ शैक्षिक सत्र सुरु भएको छैन,' विद्यालयका शिक्षक उपेन्द्र पौडेलले भने, 'जजसको वार्षिक परीक्षा आउँदै छ, तिनै कक्षाका विद्यार्थीलाई अनलाइन कक्षा लक्षित छ ।'
फेसबुक ग्रुपबाट सूचना दिएर विद्यार्थीलाई जुम सफ्टवेयरमार्फत कक्षा दिइएको उनले बताए । मंगलबार पौडेल आफैंले कक्षा १२ का विद्यार्थीलाई अंग्रेजी पढाउँदा ४० विद्यार्थी सहभागी भएका थिए । बुधबार भने गणितको पढाइ हुँदैछ । दिउँसोको समय निश्चित गरी विद्यार्थीलाई अनलाइनमा उपस्थित हुन सूचित गरिएको जानकारी पौडेलले दिए ।
'हामीले पनि घरै बसीबसी तलब खान पनि भएन, उनले भने, 'विद्यार्थीको भविष्य पनि हेर्नुपर्यो।'
पौडेलका अनुसार सैनिक आवासीय माविमा देशभरका ५९ जिल्लाका विद्यार्थी पढ्छन् । आवासीय सुविधासहित पढिरहेका विद्यार्थी शैक्षिकसत्र सकिएपछि घरघरै पुगिसकेका छन् । १० कक्षाका विद्यार्थी एसईईको तयारीमा छन् भने ११ र १२ कक्षाको वार्षिक परीक्षा हुन बाँकी छ । तिनै विद्यार्थीलाई लकडाउनका बेला पनि पढाइमा विद्यालयले सघाएको हो
। अनलाइनमा उपस्थित हुन नसक्ने कतिपय विद्यार्थीलाई अभिभावकसँग समन्वय गरी फोनबाट समेत सघाइएको शिक्षक पौडेलले जानकारी दिए । यता जुम सफ्टवेयर खोलेर कम्प्युटरअघि शिक्षकले बोल्दा र सिकाउँदा उता विद्यार्थीले मोबाइल वा ल्यापटप÷डेस्कटपमा त्यही सफ्टवेयरमार्फत सुन्ने, हेर्ने र पढ्ने गरेका छन्।
परीक्षा आउनुअघिसम्म अनलाइनबाटै विद्यार्थीलाई पठनपाठनमा सघाउन सकिने विश्वास रहेको उनले सुनाए । सैनिक आवासीय विद्यालयका थुप्रै शिक्षक विद्यालयकै आवासमै बस्छन् । विद्यालय र आवास सँगसँगै भएको हुँदा शिक्षकले विद्यालयबाट अनलाइन सुविधा प्रयोग गरी विद्यार्थीलाई पढाउन सहज भएको छ ।
पोखरामा अरु विद्यालयले कोर्स पूरा गरिसकेको हुँदा अनलाइन कक्षा सुरु नगरेको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ ९हिसान० कास्कीका अध्यक्ष रामजी शर्माले बताए । उनले भने, 'कोर्स सकिएको छ, केही गाह्रोसाह्रो पर्दा सरहरुले फोनबाटै पनि सघाउनु भएको होला ।'
अमेरिकामा लकडाउन घोषणा नभए पनि विद्यालय बन्द रहेका बेला अनलाइन कक्षा सुरु गरिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । कोरोना भाइरसको इपिसेन्टरै बनेको न्युयोर्क राज्यमा अनलाइन कक्षाका लागि सरकारले कतिपय विद्यार्थीलाई ट्याब्लेटसमेत उपलब्ध गराएको छ ।