धनुषाका १७ पालिकाले बनायो क्वारेन्टाइन
जनकपुरधाम : विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण रोक्न संघीय सरकारले प्रत्येक स्थानीय तहलाई क्वारेन्टाइन बनाउन दिएको निर्देशन जनकपुरधाम उप-महानगरपालिकाले अटेर गरेको छ । कोरोना शंकास्पद व्यक्तिलाई राख्न प्रत्येक स्थानीय तहलाई संघीय सरकारले दुई हप्ताअघि अनिवार्य क्वारेन्टाइन बनाउन दिएको निर्देशन जनकपुरधाम उप-महानगरपालिकाले अटेर गरेको पाइएको छ ।
धनुषाको १८ स्थानीय तहमध्ये १७ स्थानीय तहले क्वारेन्टाइन बनाएपनि जनकपुरधाम उप-महानगरपालिका अल्लमलमै छ । नगरप्रमुख लालकिशोर साह, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासहितको टोली जनकपुरधाम १४ स्थित बन्द अवस्थामा रहेको मणिपाल शिक्षण अस्पताललाई क्वारेन्टाइन बनाउन अनुगमन निरिक्षण गरेपनि लगानीको विषयमा कुरा नमिल्दा काम अगाडी बढ्न सकेन् ।
भूगोल, जनसंख्या, बजेट तथा क्षेत्रफलको हिसाबमा सबैभन्दा ठूलो प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाम उप-महानगरपालिकाले क्वारेन्टाइन बनाउन नसक्नु कोरोनासँगको खेलवाड भएको प्राध्यापक राधाप्रसाद यादवले बताए । उनले भने, 'जनताको स्वास्थ्यप्रति उप-महानगरपालिका समयमै सचेत नभएको भान हुन्छ, कोरोना संक्रमण रोक्न सम्भावितलाई क्वारेन्टाइनमा राखेर व्यवस्थित गर्नुपर्ने जिम्मेवारीबाट पन्छिनु गैरजिम्मेवार नगरको उदाहरण हो।'
'प्रदेशको राजधानीको स्थानीय मुकाम जनकपुरधामबाट हरेकले सिको गर्छ, तर यहाँ उपमहानगरपालिका नै सिक्नुपर्ने अवस्थामा छ, हाम्रो स्वास्थ्यमा मेयरसाहव संवेदनशिल हुनुभएन, विश्वमा त्राहिमाम छ,उनले भने,' भोली यहाँ पनि भयाभह परिपस्थिति नआउँला भन्न सकिन्न, आयो भने हामी के गर्ने ?'
सम्भावित कोरोना संक्रमित बिरामी छिमेकी मुलुक भारत तथा तेश्रो मुलुकबाट जनकपुर छिरेपनि क्वारेन्टाइन तथा तजविजको अभावमा उनीहरु खतरा उत्पन्न गराउने प्रादेशिक अस्पतालका मेसु नागेन्द्र यादवले बताए ।
उनले भने, 'सकभर सबैले अनिवार्य क्वारेन्टाइन बनाउनुपर्ने तर छैन, बिरामी बढे कहाँ गएर राख्ने, कसलाई भन्ने, कसैलाई चेत छैन, अहिले मेयर साहब कानमा तेल हालेर सुत्नु भाछ, पछि माहामारीले बिकराल रुप लिएपछि गरेर पनि साध्य हुदैन ।'
जनकपुरधाम उप-महानगरपालिकाका उपमेयर रिता झाले स्थानीयको विरोधका कारण मणिपाल शिक्षण अस्पतालमा क्वारेन्टाइन बन्न नसकेको भनेपनि मेयर लालकिशोर साह लगानीको विषयमा कुरा नमिल्दा बनाउन नसकेको स्वीकारे । उनले भने, 'हामीले नगराईन नगरपालिका स्थित गंगुलीमा आयुर्वेद औषधालयको ठाउँ देखाइ दिएका छौं, त्यहाँ प्रदेश सरकारले बनाइसकेको छ, यस्तो विपद्को घडी जसले पनि क्वारेन्टाइन आइसोलेसन बनाउँदा सबैले उपयोग गर्छ, हामीले नै बनाउनुपर्छ भन्ने छैन् ।'
धनुषामा १८ वटा स्थानीय तहमध्ये जनकपुरधाम उप-महानगरपालिका बाहेक १७ वटा स्थानीय तहले कूल ३ सय ७० बेडको क्वारेन्टाइन बनाएको छ । जसमध्ये जनकपुर वडा ७ का वडाअध्यक्ष जानकीराम साहले आफ्नै वडामा १० बेडको क्वारेन्टाइन बनाएका छन् । तर उपमहानगरले ठाउँ अभाव देखाउँदै पन्छिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजय झाले सम्भावित संक्रमित थाहा पाउने सरल माध्यम स्थानीय निकाय र समुदाय नै उपयुक्त विकल्प भएपनि स्थानीय निकायले खोजपडताल र पहिचानमा सक्रिय नभएको प्रतिक्रिया जनाए । उनले भने, 'हामी मेसिनरी र उपकरणमा मात्रै अल्झिएका छौं, प्रिभेन्समा ध्यान दिएनौं भने जतिसुकै उपचारको संयन्त्र विकास गरेपनि हामी थेग्न सक्दैनौं, इटालीको हालत हुन्छ ।'