लकडाउनमा तस्करी खुलेआम

लकडाउनमा तस्करी खुलेआम

राजविराज : नेपाल र भारत दुवै देशमा लकडाउन छ । सीमानाका बन्द छ । यस्तो बेला मानिसहरू हिँड्डुल गर्न समेत बन्देज छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले गरेको लक डाउनको बेलामा समेत तराईका जिल्लामा लागु औषध तस्करी भने भइरहेको छ ।

    
भारतीय सीमानाका सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ हाटीमा भारतबाट ल्याउँदै गरेको लागु औषधसहित सप्तरीको विष्णुपुर गाउँपालिका ५ परसाहीका ४५ वर्षीय जोगिन्द्र यादब शुक्रबार पक्राउ परे । यादबले चलाएको को.४ प ४३६८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागु औषधसहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । उनको साथबाट एक सय मिलिलिटरको २२ बोतल डाइलेक्स, १५ वटा नाइट्राभेट ट्याब्लेट, १०/१० वटा स्पास्मो प्रोक्सिभन र नाइट्रोसन ट्याब्लेट फेला परेको थियो ।
    
दुई दिनअघि प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज नजिकबाट लागु औषधसहित चार जनालाई पक्राउ गर्‍यो । प्रहरीको गस्ती टोलीले तीन वटा मोटरसाइकलाई रोकी चेकजाँच गर्दा १९ थान नाईट्राभेट ट्याब्लेट, ६ वटा डाईलेक्स सिरफसहित सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियाका २९ वर्षीय सुरज साह, वडा नम्बर ५ का २१ वर्षीय संजय साह, वडा नम्बर ८ रुपनगरका ३२ वर्षीय दिपेन्द्र श्रेष्ठ र हनुमाननगर कंकालिनी नगरपालिका १ का १९ वर्षीय कालु साहलाई पक्राउ गरेको थियो । उनीहरू लागु औषध सेवन गरी केही लागु औषध बोकी स.३प ३०१०, को.७ प ९३२ र बा.४३ प ४६१४ नम्बरको मोटरसाइलमा आएका थिए ।
    
यसैबीच सिरहा नगरपालिका–२ हनुमान चोकबाट ९० वटा नाईट्राभेट ट्याब्लेट, ७२ वटा स्पास्मो प्रोक्सीभन ट्याब्लेट र एक सय मिलिलिटरको ६९ बोतल रेफलिनसहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स.८ प ५६८७ नम्बरको मोटरसाइकलमा सवार सिरहाको बिष्णुपुर गाउँपालिका–२ का २५ वर्षीय रबिन्द्रकुमार यादव र नराहा गाउँपालिका–५ का २४ वर्षीय रमेशकुमार यादव रहेका छन् । 
    
परासीको सरावल गाउँपालिका ४ ललितपुरको भित्री सडकखण्डबाट बुधबार भारी मात्रामा लागु औषध ओसारीरहेको अवस्थामा प्रहरीले युपी १६ एच ७५७१ नम्बर प्लटेको भारतीय मोटरसाइकलसहित एक कारोबारीलाई पक्राउ गर्‍यो । तरकारी किन्ने बहानामा भारतको लक्ष्मीपुरबाट मोटरसाइकलमा लुकाएर लागु औषध नेपाल छिराउँदै गरेका बर्दघाट नगरपालिका १३ भटौलियाका ५९ बर्षीय सुरेन्द्र चमारलाई प्रहरीले पक्राउ गरेको हो । 

चमारको साथबाट ५७६ ट्याब्लेट स्पास्मो प्रोक्सिभन, ६ सय ट्याब्लेट नाइट्रोभेट, ७० बोतल ओनरेक्स फेला परेको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालय बाँकेले चैत २१ गते भारतबाट नेपाल आउँदै गरेका बाँकेको नेपालगन्ज–२० राँझाका दिलिप बर्मालाई पनि एक सय मिलिलिटरको ९६ थान कोरेक्ससहित पक्राउ गर्‍यो । 
    
यसरी लकडाउनको समयमा सीमा क्षेत्रमा कडाइ गरिए पनि लागु औषध ओसार्ने कार्य भइरहेको छ । थप जनशक्ति परिचालित भइ सीमाका सबै खाले नाकाहरु बन्द भए पनि चोरबाटो प्रयोग गरेर तस्करको आवतजावत भइरहेको स्थानीयले बताएका छन् । दिनभर लकडाउनको राम्रै प्रभाव परे पनि रात परेसँगै र बिहान भारतसँग जोडिएका सीमा नाका आसपासमा र बजारमा चहलपहल बढ्ने गरेको छ । सप्तरीको बोदे बसाइनका उमेश साहका अनुसार लागु औषध सेवनकर्ता र तस्कर खुलेआम भारतीय सीमाका बजार पुगिरहेका छन् ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.