वडाअध्यक्षले राखे बुलेट उपहार दिने स्टाटस, घर खानतलासी गर्दा गोली बरामद
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले आइतबार बुलेट (गोली) बरामद गरेको छ । पाखापानीको कोटगाउँ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरिएको डिएसपी किरनजंग कुँवरले जानकारी दिए ।
‘शनिबार उहाँ (शेरपुजा)ले सामाजिक सञ्जाल फेसबुकमा आफूसँग बुलेट भएको स्टाटस राखेपछि अनुसन्धान गर्न गएको प्रहरीले छापा मार्दा गोली भेटिएको हो,’ उनले भने, ‘कुन प्रकृतिको गोली, कुन स्रोतबाट आएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेका छौँ ।’
डिएपी कुँवरका अनुसार फरार भएका शेरपुजाको खोजी जारी छ । अदालतबाट आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ । स्थानीय जनप्रतिनिधि र उनी आवद्ध नेपाली काँग्रेसका स्थानीय प्रतिनिधि तथा अगुवाहरुको रोहबरमा बिहान घरमा खानतलासी गरिएको थियो ।
अध्यक्ष शेरपुजाले , 'नेकपा गापा अध्यक्ष दिपक कार्की बिखर्ची मित्रले झै सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउँछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउँछु' भनेर फेसबुकमा लेखेका थिए ।
शेरपुजाले सामाजिक सञ्जालमा अभिव्यक्त गरेपछि प्रहरी टोली अनुसन्धानका लागि कोटगाउ गएको थियो । शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार भएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
उनी नेपाली काँग्रेस रघुगंगा गाउँपालिका समितिका सचिव हुन् । उनी स्थानीय चुनाव ताका नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । त्यसअघि उनी मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आवद्ध थिए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार उनीसँग हतियार राख्ने अनुमति भए नभएको विषयमा अनुसन्धान जारी छ । गोली कुन प्रकृतिको हो भन्ने विषयमा परीक्षणका लागि प्रयोगशालामा पठाउने डिएसपी कुँवरले बताए । अवैध हात हतियार वा गोलगठ्ठा राखेको कसुर पुष्टि भएमा हात हतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइनेछ । उनको वडा अध्यक्षको पद पनि गुम्नेछ ।
वडा अध्यक्ष शेरपुञ्जाले सामाजिक सञ्जालमा राखेको स्टाटस ।