जसको सारा जीवन नै ‘लकडाउन’

जसको सारा जीवन नै ‘लकडाउन’

जनकपुरधाम : कोरोना भाइरसको नाम अहिले विश्वमा सबैभन्दा चर्चित छ। यस नामको चर्चासँगै सबैभन्दा चर्चित अर्को शब्द हो ‘लकडाउन’।

हामीमध्ये अधिकांशले यस महामारीको त्रासभन्दा अघि यो लकडाउन शब्द सुनेका थिएनौं होला। सामान्य अर्थमा बुझ्ने हो भने बन्दाबन्दीको अवस्था नै लकडाउन हो। यस अवधिमा महिला, पुरुष, वृद्ध, बच्चाबच्ची सबै घरमा स्वतः थुनिन बाध्य भएका छन्। सदैव स्वतन्त्र भई बाँच्नेका लागि यो लकडाउन साह्रै दिक्क लाग्दो छ। तर, वर्षौंदेखि घरमै अघोषित लकडाउन भोग्दै आएका एक वर्गलाई भने यस बन्दाबन्दीले खासै प्रभावित गर्न सकेको छैन।

घरबाट कथंकदाचित मात्र निस्कन पाउने हजारौं महिलाका लागि यो लकडाउनले परिवारसँग बस्ने अवसरै जुराएको छ। विशेषगरी मधेसका गाउँहरुमा घुम्टोले घेरेको र सामाजिक प्रथाले जकडिएको समाजमा घरभित्रै थुनिएकी महिलाको सम्पूर्ण जीवन नै लकडाउन झैं रहेको छ। घरबाहिर निस्कन महिलाका लागि विशेष अवसर वा अत्यावश्यक काम नै हुनुपर्छ तर पुरुषका लागि भने त्यो बाध्यता छैन। काम होस् वा नहोस् पुरुषले निर्धक्क भई हाटबजार, छरछिमेक र गाउँघर घुम्न पाउँछन्।

धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ टोकाकी रमदैयाबालीको बिहे सानैमा भयो। बिहेको बेला कति वर्षकी थिइन्, उनलाई थाहा छैन। उनलाई अहिले पनि आफ्नो उमेर कति भयो भन्ने थाहा छैन। तर, दुईटा छोरीको बिहे भइसकेको छ भने एउटा नाति पनि खेलाउने धोको पूरा भएको छ। कान्छो छोरा जागिरका लागि भारतको गुजरातमा छन्। माइत रमदैया गाउँमा भएकाले उनी बिहे भएर घर आउँदा उनको नामै रमदैयाबाली पर्यो। तर, उनको नाम भने यो होइन। बुबाआमाले उनको नाम सुनिता राखेका थिए।

बिहे भएर माइत आएदेखि गाउँबाहिर घुम्न निस्केको रमदैयाबालीलार्ई खासै स्मरण छैन। ‘अब नातिनातिनी भएपछि बजार जान थालेको छु’, टाउको सारीले छोप्दै मैथिलीमा अन्नपूर्णकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘मेरी सासु जिउँदो हुँदा त घरबाट बाहिर निस्कँदा पनि गाली गर्थिन्। छरछिमेकमा जान थालेको पनि छोरीको बिहेपछि मात्रै हो।’

दलित समुदायकी रमदैयावाली र ‘उच्चवर्ग’ भनाउनेका घरमा महिलाको अवस्था खासै फरक भने छैन। मधेसका अधिकांश गाउँघरमा बुहारीहरु घरबाट निस्कन साँझ नै कुर्नुपर्ने हुन्छ। त्यसमा पनि काम विशेष वा पूजापाठ भयो भने मात्रै बुहारीलाई छरछिमेक लग्ने चलन छ। कतिपयले त बुहारीलाई घरको छतमा वा घर बाहिरको परिसरमा समेत निस्कन बन्देज लगाउँछन्। त्यसमा पनि घरमा यदि कोही पाहुना आयो भने महिलाले अगाडि पर्नु नहुने मान्यताका कारण आफ्नै घरमा पनि लुकेर बस्नु पर्ने बाध्यता हुन्छ।

‘जो कामकाजी छन् बढी समय घर बाहिर बस्छन् उनीहरुलाई घरमा बस्न अहिले दिक्क लागेको छ’, जनकपुरधाम ४ कि शिला ठाकुर भन्छिन्, ‘हामी त पहिला पनि घरमै बस्थ्यो अहिले पनि त्यस्तै छ।’

वर्षौंदेखि अघोषित बन्दीको जीवन बिताइरहेका महिलाका लागि यो लकडाउनको अवधिले घरपरिवारसँग बस्न पाउने अवसर जुटाएको सञ्चारकर्मी रिंकु मि श्र गायत्रीको ठम्याइ छ। ‘अहिले श्रीमान् र बच्चा पनि घरमै छन् चाहेर वा नचाहेर भए पनि घरको काममा महिलाले सहयोग पाइरहेका छन्’, मि श्रले भनिन्, ‘घरमा एक्लै दिनभर दिक्क भएर बस्ने दिनचर्याले थोरै दिनका लागि भए पनि महिलाले राहत पाएका छन्।’

‘व्यक्तिगत स्वतन्त्रता समेत नपाएका हाम्रो समाजका महिलाले वर्षौंदेखि चुपचाप लकडाउन कसरी सहेका छन् त्यसमाथि सबैले विचार गर्नुपर्ने दिन आएको छ’, महिला अधिकारकर्मी सम्झना बर्मा भन्छिन्, ‘केही साताको लकडाउनमै दिक्क मान्ने पुरुषवर्गले महिलामाथिको वर्षौंदेखिको लकडाउन खोल्नु पर्नेतर्फ विचार गर्नुपर्छ। ’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.