सुत्केरीको हेलिकप्टरबाट उद्धार
डोल्पा : डोल्पाबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। गर्भवतीका आफन्तले डाक्टरलाई विश्वास नगरेपछि हेलिकप्टरबाट सुर्खेत लगिएको हो।
रोकायाको पेटमा बच्चा उल्टो रहेको थियो। शल्यक्रिया गर्नुपर्ने भएपछि आफन्तले गर्भवतीको जिम्मा लिएर मात्रै शल्यक्रिया गर्न दिने भनेपछि जिल्ला अस्पताल डोल्पामा शल्यक्रिया गर्न नसकिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सजिन रावलले जानकारी दिए।
जिल्ला अस्पतालले रेफरको लागि कुनैपनि आधिकारिक पत्र दिएको छैन। 'बिरामीका आफन्तले नै उद्धारको लागि पहल गरेका होलान् तर शल्यक्रिया डोल्पामा नै हुन्थ्यो' डाक्टर रावलले भने।
उनले भने, 'अहिलेसम्म दर्जनौ शल्यक्रिया भएका छन्। एनेस्थेसिया र गाइनेक्लोजिष्ट छन् जनशक्ति छ तर विश्वास गर्ने/नगर्ने भन्ने नागरिकमा भर पर्छ।'
गर्भवतीका आफन्त र स्वास्थ्यचौकी त्रिपूराकोटको अनुरोधमा एक आमा र बच्चाको ज्यान जोगाउन उद्धारको पहल गरिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारे जानकारी दिए। उनले भने, 'अकालमा ज्यान जान दिनुभएन त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।'
हालसम्म डोल्पाबाट मात्रै यस वर्ष सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत १५ जनाको उद्धार भइसकेको छ। त्यसमध्ये दुईजनाको भने मृत्यु भएको हो। उकरण अभावकै कारण पनि आपतमा हेलिकप्टरबाट शहरमै लैजानुपर्ने बाध्यता रहेको छ।