कोरोना जाँच्न नयाँभन्दा पुरानै मेसिन भरपर्दाे

कोरोना जाँच्न नयाँभन्दा पुरानै मेसिन भरपर्दाे

पोखरा : कोरोना भाइरसको त्रास फैलिएपछि काठमाडौंको टेकुमा कोभिड १९ जाँच्न थालिसकिएको थियो। अरु प्रदेशबाट पनि परीक्षण गर्ने भनेर सरकारले चीनबाट स्वास्थ्य सामग्री झिकायो। 

कोभिड १९ जाँच्ने मेसिन अरु प्रदेशमा बाँडिसक्दा गण्डकीमा भने एक दिन ढिला पीसीआर मेसिन आइपुग्यो। घरासयी र साना कार्यालयको प्रयोजनमा चलाइने कम्प्युटर प्रिन्टर जत्रैजत्रै आकारको पीसीआर मेसिन बोकेर टोली काठमाडौंबाट हेलिकप्टरमा पोखरा झर्‍यो। धमाधम पोखरामै कोभिड-१९ जाँच्न सुरु हुने विश्वास पलायो। त्यसअघि भने कोरोना जाँच्ने उपायसमेत पोखरामा नभएको भनेर एककिसिमको निराशा थियो। 

जसै पोर्टेबल पीसीआर मेसिन हेलिकप्टरबाट झारियो चैतको १८ गतेदेखि पोखरामा कोरोना भाइरस जाँच भइरहेको छ। तर चीनबाट सरकारले मगाएर पठाएको त्यो पीसीआर मेसिनभन्दा यहीं भइरहेको पुरानै मेसिन बढी काम लाग्दो र भरपर्दा देखिएको छ। 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालभित्रैको क्षेत्रीय प्रयोगशालामा नयाँ र पुरानो दुवै मेसिन छ। उक्त प्रयोगशालाका प्राविधिक शंकर भण्डारी भन्छन्, ‘पुरानो मेसिनमा २÷३ महिनादेखि एचआइभीको भाइरल लोड पनि हुन सकेको थिएन, माथिबाटै इन्जिनियर आएर हेर्नुपर्ने थियो, इन्जिनियर आएका थिएनन्।’ 

राष्ट्रिय एड्स रोग नियन्त्रण केन्द्रले २ वर्षअघि नै क्षेत्रीय अस्पतालको प्रयोगशालालाई उक्त मेसिन दिएको थियो। मेसिन आएको १ वर्षपछि मात्रै त्यो सञ्चालनमा आयो। एड्स रोग लाग्ने एचआइभी भाइरस र हेपाटाइटिस संक्रमणको जाँच उक्त मेसिनबाट हुँदै आएको थियो। ‘यस्तो मेसिन छ भनेर राष्ट्रिय प्रयोगशालालाई भनिरहेकै थियौं’, क्षेत्रीय प्रयोगशालाका प्राविधिक भण्डारीले भने, ‘काठमाडौंको विज्ञ टोलीले री—एजेन्ट (रसायन)लिएर आएपछि त्यो रसायन काम लाग्यो, मेसिनले रिपोर्ट दियो।’  

प्रयोगशालाकी अर्की प्राविधिक सिर्जना देवकोटाका अनुसार पुरानो पीसीआर मेसिनसँगै एक्ट्र्याक्सन मेसिनचाहिँ बिग्रिएको थियो। त्यो बनाउन इन्जिनियर आइपुगेका थिएनन्। अहिले पनि एक्ट्र्याक्सनको काम म्यानुअल्ली नै गरी रोटरजिन पीसीआर मेसिनबाट रिपोर्ट निकालिएको उनले सुनाइन्। 

पोखरामा कोरोना जाँच्ने भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पठाइएका वीर अस्पतालको प्रयोगशालामा कार्यरत अनुवांशिक विज्ञ (जेनेटिक एक्पर्ट) श्रीराम बास्तोला पुरानो मेसिन रोटरजिन पीसीआरबाट धेरै जाँच भइरहेको बताउँछन्। उनको टोलीले काठमाडौंबाट ल्याएको री—एजेन्ट (रसायन) प्रयोग गर्दा पुरानो मेसिनले नतिजा दिएको थियो। उनी भन्छन्, ‘नयाँ पीसीआर मेसिनले एक घन्टामा एउटा नजिता दिन सक्छ, दिनमा बढीमा १२ वटा रिपोर्ट दिन सकिन्छ।’ उनकै भनाइमा पुरानोबाट भने सयवटाभन्दा धेरै परीक्षण गर्न सक्छ। ‘तर मेसिनमा नमुना राख्नुभन्दा अघि धेरै प्रक्रिया पूरा गर्नुपर्छ।’ त्यस्तो प्रक्रिया पूरा गरेर नमुना मेसिनमा राखेको ९० मिनेटमै नतिजा आउँछ। त्यसपछि नतिजा विश्लेषण गर्नुपर्छ। 

पुरानो मेसिनमा एकैपटक ७२ वटा नमुना राख्ने क्षमता भएको जानकारी बास्तोलाले दिए। अहिलेसम्म ४२१ वटा पीसीआर परीक्षण भइसकेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। बढी क्षमताको पुरानो मेसिनकै कारण यतिका परीक्षण सम्भव भएको बास्तोला बताउँछन्। भन्छन्, ‘क्षमताका हिसाबले पनि पुरानै मेसिन भरपर्दाे छ, अरु कुराले पनि।’ उनले नयाँ मेसिन खासविशेष रसायन राख्नुपर्ने खाले हो। उनकै भाषामा त्यस्तो मेसिनलाई क्लोजप्लेटफर्म भनिन्छ। पुरानो भने ओपन प्लेटफर्म हो। जसमा खास विशेष कम्पनीकै रसायन राख्नुपर्छ भन्ने हुँदैन।

काठमाडौंको वीर अस्पतालमा जागिरे भए पनि विज्ञ बास्तोला पोखरा फूलबारीका रैथाने हुन्। १८ गते हेलिकप्टरमा पीसीआर मेसिन र रसायन लिएर आएदेखि उनको बसाइ भने घरमा छैन। होटलमा बस्ने बन्दोबस्ती सरकारले नै मिलाएको छ। उनी होटलबाटै प्रयोगशाला आउजाउ गरिरहेका छन्। भन्छन्, ‘परिवारबाट कुनै अब्जेक्सन छैन।’ 

वीर अस्पतालको छात्रवृत्तिमा कोलम्बो विश्वविद्यालयबाट जेनेटिक डाइग्लोस्टिक विषयमा स्नातकोत्तर गरेका उनी क्षेत्रीय प्रयोगशालामा कति दिन खटिनुपर्ने हो उनैलाई थाहा छैन किन भने कोरोना भाइरसको संत्रास कहिलेसम्म रहन्छ कसैलाई पत्तो छैन। 

अनुवांशिक वैज्ञानिक बास्तोला अहिले क्षेत्रीय अस्पतालका प्राविधिकलाई काम सिकाउने, नतिजा विश्लेषण गर्ने काममा खटिन्छन्। ‘प्रयोगशाला प्रवेश गर्दा सधैं यहाँ संक्रमण छ भन्ने मनमा भइहाल्छ, तर पहिलादेखि नै हेपाटाइटिस जस्ता संक्रमित रोगको परीक्षण गर्दै आएको हुँदा कोरोनासँग त्यस्तो डर त लागेको छैन’, उनले आत्मविश्वास जताए। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.