राहतमा राजनीति : नामावलीमा नाम छुटाएको भन्दै वडा सदस्यमाथि हातपात
राजविराज : कञ्चनरुप- ८ मा राहत नपाएको भन्दै सरदार दाजुभाइको समूहले वडा सदस्य सञ्जय पासवानमाथि आक्रमण गरेर घाइते बनाएका छन्। कोरोना र लकडाउनबाट प्रभावितलाई राहत वितरण गरेर आइतबार साँझ घर फर्किने क्रममा वडा सदस्य पासवान र उनका भाइ अजयलाई सोही ठाउँका बिरेन्द्र र उनका भाइ सुरेश सरदारलगायतले कुटपिट गरेका हुन्।
आक्रमणकारी सरदार दाजुभाइलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरूप सप्तरीका डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । टाउकोमा चारवटा टाँका लागेका वडा सदस्य संजय र अजयको कञ्चनरूपमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नगर प्रमुख वसन्तकुमार मिश्रले जानकारी दिए ।
राहत पाउनेहरूको नामावलीमा आफ्नो परिवारका सदस्यको नाम छुटाएको भन्दै आरोपित सरदारले राहत वितरण भइरहेको वडा कार्यालयमै झगडा गरेका थिए । सर्वदलीय समितिबाट छनौट भएकालाई मात्र राहत वितरण गरिएको भन्दै वडाअध्यक्ष राजकुमार साहले छुटेका गरिब, विपन्नलाई पुनः कार्यालयमा सम्पर्क राख्न गत बिहीबार नै सूचना सार्वजनिक गरेकाले विवाद नियोजित भएको बताए ।
लकडाउनका कारण ज्यालादारी मजदुर विपन्न भोको बस्नु नपरोस् भनेर राहत वितरणको योजना ल्याए पनि जनप्रतिनिधि र सर्वदलीय समितिमा रहेका राजनीतिक दलका प्रतिनिधिले आ-आफ्नो पक्षका मतदातालाई खुशी पार्न ठूलो सङ्ख्यामा राहत पाउनेको सूचि तयार गरेर विवाद बढाएको सन्तोष शर्मा बडहीको आरोप छ ।
लकडाउनको अवधि एक महिना पुग्न लागे पनि सप्तरीमा कतिपय स्थानीय तहले राहत वितरण गर्न सकेको छैन भने राहत वितरण भएका स्थानीय तहमा तीव्र विवाद देखिएको छ ।
लम्बिएको लकडाउनले गरिब, विपन्नको जीवन जोखिममा परेको छ । महामारीका बेलामा बाँडन लागिएको राहतमा सम्पन्न धनीहरुले समेत लोभ गर्दा गरिब, विपन्नको भाग खोसिएको छ । राहत वितरणमा राजनीति र भ्रष्टाचार भएको गुनासो बढेको छ ।
राहतका विषयमा कतै घेराउ त कतै जनप्रतिनिधिमाथि हातापातका घटना हुन थालेको छ । बल्ल राहत वितरण सुरु भएको कञ्चनरुप नगरपालिका ४ मा सबैलाई राहत दिनुपर्ने भन्दै महिलाले आइतबार वडा कार्यालय घेराऊ गरेपछि राहत वितरण स्थगित भएको छ।
सरकारले ज्यालादारी श्रमिक, गरिब, विपन्नलाई राहत दिने भएपछि कञ्चनरुप नगरपालिकाको १२ वटा वडाबाट सुरुमा सात हजार दुई सय २४ घरधुरी विपन्नहरूको नामावली संकलन भएको थियो । नगर प्रमुख मिश्रले सबै वडाका समितिलाई धनीहरुको नाम हटाएर वास्तविक गरिब छनौट गर्न आग्रह गरेपछि राहत पाउनेको सङ्ख्या ६ हजार तीन सय ७९ कायम भयो । करिब साढे आठ सय सङ्ख्या घटे पछि प्रदेश २ सरकारले पठाएको १५ लाखमा नगरपालिकाले थप ४३ लाख एक हजार विनियोजन गरी कोरोना भाइरस (कोभिड–१९) राहत कोष स्थापना गर्यो।
सर्वदलीय समितिबाट सम्पन्न व्यक्तिको नाम हटाइएपछि असन्तुष्ट केही व्यक्तिलाई समितिकै मानिसले नियोजित रुपमा प्रयोग गरी विवाद गराएको घाइतेको आरोप छ । छनौट भएका चार सय ६८ मध्ये चार सय ६२ जनाले राहत बुझेका छन् ।